ब्लग


मान्छे आधुनिक, पारा सय वर्ष पुरानो

मान्छे आधुनिक, पारा सय वर्ष पुरानो

पुजन बराल
साउन १४, २०८२ बुधबार १५:२६, काठमाडौँ

केही वर्षअघिको कुरा हो। काठमाडौँ उपत्यकाको एउटा नाम चलेको विद्यालयमा एकजना शिक्षकले कक्षा ९ का विद्यार्थीहरूलाई पढाइरहेका थिए। पाठ सकिएपछि उनी कक्षाकोठा वरिपरि घुमी निरीक्षण गर्न थाले। 

कक्षाकोठाको कुनातिर पुग्ने क्रममा त्यहाँ बसिरहेका एकजना छात्रले उनले अनुरोध गरे, ‘सर, यो कसरी गर्ने भनेर एकपटक फेरि बुझाइदिनुस् न।’

शिक्षक एक्कासि आवेगमा आएर भएजत्तिको बल प्रयोग गरी विद्यार्थीको कपाल समाई लुछ्न थाले- ‘अघि पढाउँदा चाहिँ तेरो ध्यान कहाँ थियो, हँ?’ 

त्यसपछि शिक्षक फनक्क फर्किएर हिँड्न थाले। ती विद्यार्थी आफ्नो मेचबाट उठी प्रतिवादमा उत्रिए - ‘यो कुरा राम्ररी बताउन सक्नुहुन्न थियो? हात हाल्ने अधिकार तपाईंलाई कसले दियो?’ 

शिक्षक एकछिन जिल्ल परे- ‘ल, अझै? केटो घमण्डी रहेछ?’

विद्यार्थीलाई उनले जानाजान दुर्व्यवहार गरेका थिए। तर शिक्षकलाई लागिरहेको थियो- उनले आफ्नो अधिकार प्रयोग गरेका थिए।

के विद्यार्थीले शिक्षकको व्यवहार ‘पचाउनुपर्थ्यो’? के ती शिक्षक अनैतिक थिए?

होइन, ती शिक्षक समयानुसार ‘अशिक्षित’ र ‘अव्यावसायिक’ थिए।

प्रसंग २
उपत्यकाको अर्को नाम चलेको विद्यालयमा एकजना कर्मचारी थिए। ती अशिक्षित कर्मचारी त्यहाँ ‘बहुअधिकारसम्पन्न’ थिए। शौचालय सरसफाइदेखि विद्यार्थीले नियमविपरीत काम गरेमा परिचयपत्र खोसी प्रशासनलाई बुझाउनेसम्मको जिम्मा उनैलाई थियो। यसरी उनी केयरटेकर र डिसीप्लिनरी इन्चार्ज उनै थिए।

विद्यालयको नियमानुसार ब्रेकको समयावधि सकिएर घण्टी बजेपछि विद्यार्थीलाई शौचालय जान निषेध थियो। 

एकदिन ब्रेककै क्रममा एकजना छात्र शौचालयतर्फ जाँदै थिए। जो ठूलै नेताका छोरा थिए। ती छात्र शौचालयको ढोकामा पुग्नु र घण्टी बज्नु एकसाथ भयो। त्यहीँ उभिइरहेका ती कर्मचारीले छात्रको पाखुरामा हल्का समाए।

विद्यार्थी एक्कासि आवेगमा आएर थर्काउन थाले।

कर्मचारी सुरुमा मौन रहे। त्यसपछि औँला देखाउँदै कड्किए- ‘समयमै शौचालय जानुपर्छ। अनि यही हो बोल्ने तरिका? राम्ररी बोल्न सिक है बाबु!’

के ती विद्यार्थी अनुशासनहीन थिए?

होइन, तिनी समयानुसार ‘असभ्य’ थिए। 

प्रसंग ३
एउटा घरमा पालेको कुकुर हरेक रात मूलढोकामा गई निरन्तर रूपमा भुक्थ्यो। यसबाट स्वाभाविकै रूपमा छरछिमेकलाई अप्ठ्यारो हुन्थ्यो।

पछि थाहा भयो, कुकुर रहेको घरलाई घरबेटीले डेरामा एउटा कार्यालय खोल्न दिएका रहेछन्। डेरा लिने कर्मचारीले कार्यालयको सुरक्षाको लागि कुकुर पालेकी रहिछन्। 

एकदिन एकजना छिमेकीले डेरावालालाई भेटेछन्। वैशाख-जेठको चर्को घाम थियो। छिमेकी झोँक्किए - ‘यो कुकुर रातभर भुक्छ! तपाईंहरूले किन बाँधेर नराख्नुभएको?’

छिमेकीको आवेगको लवज सुनेर डेरावाला अंग्रेजीमा कड्किइन्- ‘तपाईंको समस्या के हो? यो तपाईंको जग्गा हो? तपाईंका आफ्नै कुकुर छैनन्?’

छिमेकी अलिक शालीन हुँदै अंग्रेजीमै जवाफ फर्काए - ‘होइन, कुरा त्यस्तो होइन, तपाईंको कुकुर रातभर भुकेर हामी सुत्न सक्दैनौँ।’

डेरावालाले भनिन् - ‘त्यो तपाईंको समस्या हो। हाम्रो होइन।’

संवाद लम्बिँदै जान्छ।

के ती कुकुर पाल्ने महिला असभ्य थिइन्? अथवा छिमेकी सुरुमै नकड्किएको भए कुराकानीले अर्कै मोड लिने थियो?

जे भए पनि आजको दिनमा पनि सय वर्ष पुरानो सोच राख्ने मान्छेहरूसँग दैनिक ठोक्किनुपर्दा निकै लाग्छ। तर यसमा अनौठो मान्नुपर्दैन। किनभने उनीहरूको हुर्काइ नै त्यस्तै भयो। उनीहरूले आफूभन्दा बलियोसामु निहुरमुन्टी लगाएर झुक्न र आफूभन्दा कमजोरमाथि क्रोध वर्षाउन सिके। यसैको नतिजा मानिसहरूको दैनिक बोलीचाली र व्यवहारमा देखिन्छ।

मान्छेहरूले आफूलाई समयसापेक्ष परिवर्तन गर्न नसक्नु ठूलो कमजोरी हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad