अमेरिकाको टेक्ससमा बसेर तपाईं सन्जय घिमिरेले टाढाबाट गर्नुभएको आग्रह लुम्बिनी बौद्ध विश्वविद्यालयको दुई दिने सेमिनार हलमा बस्दै गर्दा पढेपछि मैले यो धर्तीको जवाफ लेख्ने जमर्को गर्दै छु, काठमाडौँको बानेश्वरमा रहेको क्याफेमा बसेर। त्यही बीचमा तपाईंका पुराना थप दुई लेख पनि पढ्ने मौका मिल्यो- राजा डुबे, नेताहरू डुब्दैछन् र ओली-देउवाले हात उठाएर भनून्...। यी तीनवटा लेख पढिसक्दा मलाई लाग्यो, तपाईं एउटै रोगको तीन फरक-फरक कोणबाट निदान गर्दै हुनुहुन्छ। तर हरेकपटक गलत औषधि सिफारिस गर्दै हुनुहुन्छ।
तपाईंले ठीकै भन्नुभयो– आज देशमा राजा होइन, अराजकता आउँदैछ। तपाईंले राम्रोसँग चिन्नुभयो, नेपाली राजनीतिको जंगलमा नेकपा (एमाले) र नेपाली कांग्रेसबाहेक अरू जिउँदो बाघ छैनन् र यी बाघहरूले बाटो बिराएकै कारण स्यालहरूको हुइयाँ बढेको छ। हाम्रा नेताहरू आलोचना सुन्न नसकेर, भजन-मण्डलीमा रमाएर, ज्ञानेन्द्र शाहकै बाटोमा डुब्दैछन्। तपाईंको आग्रह पनि जायज छ, अब ओली-देउवा पुस्ताले तत्वबोध गरेर हात उठाउनुपर्छ।
तपाईंले यो संकटको समाधान खोज्नुभयो। तपाईंले डुब्दै गरेको लोकतन्त्र बचाउन गगन थापाजस्ता पात्रलाई नयाँ खेलाडीको रूपमा अघि सार्नुभयो। तपाईंले रोग त चिन्नुभयो, तर औषधिलाई नै विष देख्नुभयो र विषजस्तो देखिने अर्को एक झोललाई अमृत ठान्नुभयो।
विडम्बना हेर्नुस्! यही डुब्दै गरेको जहाजलाई बचाउन यही भजन-मण्डलीको कर्कश ध्वनिभित्र सत्यको सानो स्वर सुनाउन र यही आत्मरतिमा रमाएको नेतृत्वलाई झक्झक्याउन कोही अगाडि बढ्न खोज्दा तपाईं त्यसलाई मुरारीको महत्वाकांक्षा देख्नुहुन्छ। विद्या भण्डारीको पुनरागमनको चर्चा कुनै व्यक्तिगत पदको जिद्दी मात्र हैन सन्जय दाजु। यो त तपाईंले नै भन्नुभएको डुब्ने नियतिबाट पार्टीलाई र अन्ततः देशलाई बचाउने एउटा वैचारिक हस्तक्षेपको प्रयास हो। यो मुरारीको हिरो बन्ने दौड नभई डुब्दै गरेको जहाजमा मदनको विचारको लाइफबोट लिएर हामफाल्ने साहस हो। तपाईंको टाढाको आग्रहले यो गहिराइलाई छुन नसकेको कारणले आज म यो धर्तीको जवाफ लेख्न बाध्य भएको छु।
टाढाको दृष्टि, धमिलो चित्र
तपाईंको लेखको सबैभन्दा ठूलो समस्या यसको दृष्टिकोण हो। तपाईं अमेरिकाको टेक्ससबाट नेपाललाई हेर्दै हुनुहुन्छ। दूरीले कहिलेकाहीँ वस्तुलाई समग्रतामा हेर्न मद्दत त गर्ला, तर राजनीतिजस्तो जीवन्त र गतिशील विषयमा दूरीले भ्रम मात्र सिर्जना गर्छ। नेपाली समाजलाई कुनै कुरा मन पराउन वा मन नपराउन कुनै खास कारण चाहिँदैन। जुन समाजले १०४ वर्षे जहानियाँ राणाशासन फाल्यो, जसले ३० वर्षे पञ्चायती निरंकुशतालाई घुँडा टेकायो र जसले राजतन्त्रलाई इतिहास बनाइदियो, त्यो समाजको चिन्तन सतही कसरी हुन्छ? होइन, सन्जय दाजु, नेताहरू जब जनताको आवाज सुन्न छोड्छन् र आत्मरतिमा डुब्छन्, जनताले उनीहरूलाई किनारा लगाइदिन्छन्। यो त लोकतन्त्रको सबैभन्दा सुन्दर र शक्तिशाली पक्ष हो।
तपाईं भन्नुहुन्छ, नेताहरू आलोचना नसुनीकन डुब्दैछन्।
त्यही आलोचनात्मक चेत बोकेर, पार्टीभित्रको वैचारिक खडेरी र व्यक्तिवादी प्रवृत्तिको विरुद्धमा कोही उभिन खोज्छ, तपाईं त्यसलाई व्यक्तिगत महत्वाकांक्षा देख्नुहुन्छ। के विद्या भण्डारीको पुनरागमनको चर्चाले आज एमालेभित्रको भजन-मण्डलीलाई सबैभन्दा बढी बिझाएको छैन? उहाँको पुनरागमनको प्रयास नै आजको मितिमा पार्टीभित्रको सबैभन्दा ठूलो र जीवन्त आलोचनात्मक चेत हो।
मदनको विरासत, विद्याको उदय
विद्या भण्डारीलाई बुझ्नको लागि सबैभन्दा पहिले मदन भण्डारीलाई बुझ्न जरुरी छ। मदन भण्डारी केबल एक नेता मात्र नभई विचार पुरुष हुनुहुन्थ्यो। जबजको मूल मर्म भनेको निरन्तर वैचारिक बहस, आलोचना-आत्मालोचना र जनताको सर्वोच्चता थियो। २०५० साल जेठ ३ गते दासढुङ्गाको त्यो कालो दिनले सबै सपना चकनाचुर पारिदियो।
यहाँबाट विद्या भण्डारीको वास्तविक राजनीतिक यात्राको दोस्रो अध्याय सुरु हुन्छ। उहाँले कठिन बाटो रोज्नुभयो- आफ्नो व्यक्तिगत पीडालाई शक्तिमा बदलेर मदनको अधुरो सपना पूरा गर्ने अभियानमा होमिने। त्यसपछिका दिनहरूमा उहाँले आफूलाई मदनको नीतिको संरक्षकको रूपमा स्थापित गर्नुभयो। तपाईंले राजा महेन्द्रले राजेश्वर देवकोटालाई कसरी आलोचना सुन्नको लागि राख्थे भन्ने प्रसंग उठाउनुभएको छ। पछिल्लो समयमा एमाले पार्टीभित्र विद्या भण्डारीको भूमिका त्यही आलोचनात्मक चेतको हो। जब-जब पार्टी विचारबाट विचलित हुन खोज्यो, व्यक्ति नीतिभन्दा माथि हुन खोज्यो, उहाँले मौन तर दृढ रूपमा त्यसको प्रतिवाद गर्नुभयो।
विद्याले जोगाएको शीतल निवास
तपाईंले विद्या भण्डारीको राष्ट्रपतिको कार्यकाललाई हल्का र उहाँलाई होचो मान्छेको संज्ञा दिनुभयो। तपाईंले शीतल निवासको अग्लो पर्खालभित्रबाट बाहिर देखिएको मौनतालाई उहाँको असक्षमता ठान्नुभयो। नागरिकता विधेयकको सन्दर्भलाई हेर्दा उहाँले दुई पटकसम्म त्यसलाई रोक्नुभयो। के यो रबर स्ट्याम्पको चरित्र थियो त? थिएन। यो त राष्ट्रिय हितको सवालमा उहाँले देखाउनुभएको आलोचनात्मक चेतको सबैभन्दा ठूलो उदाहरण थियो र रहिरहनेछ।
नेताहरू आफ्ना वरिपरि भजन-मण्डली खडा गरेर डुब्छन्।
राष्ट्रपति संस्थालाई पनि त्यही भजन-मण्डलीको हिस्सा बनाउने अनेकौँ प्रयास भए। विद्या भण्डारीले आफ्नो संयम र दृढताले त्यो संस्थालाई राजनीतिक दलदलमा डुब्नबाट जोगाउनुभयो। उहाँको कार्यकालमा भएका राम्रा कामहरूलाई मिडिया र तपाईंजस्ता विश्लेषकहरूले सधैँ नजरअन्दाज गर्नुभयो। राष्ट्रपति महिला उत्थान कार्यक्रम होस् वा चुरे संरक्षणको पहल जस्ता कुराहरूले उहाँको सामाजिक र वातावरणीय संवेदनशीलतालाई देखाउँछ।
गलत औषधि सिफारिस
तपाईंले ठीकै भन्नुभयो, आजको जंगलमा कांग्रेस र एमाले नै जिउँदो बाघ हुन्, र बाँकी स्यालहरू हुन्। बाघहरूले बाटो बिराएकै कारण स्यालहरूको हुइयाँ बढेको हो। तपाईंले बाघका नेताहरू, ओली र देउवालाई तत्वबोध गरेर हात उठाउन जुन आग्रह गर्नुभयो त्यो समयको माग हो।
तपाईंले त्यो तत्वबोधपछिको बाटो के हो भन्नेमा गम्भीर समीक्षा गर्न भुल गर्नुभयो। तपाईंले एउटा बाघ (देउवा) को ठाउँमा त्यही बाघले हुर्काएको अर्को पात्र (गगन) लाई अघि सार्नुभयो। के एउटा पुस्ताको असफलताको समाधान त्यही पुस्ताको असफलताको साक्षी बसेको, त्यही प्रणालीको उत्पादन भएको अर्को व्यक्ति हुन सक्छ? के गगन थापा देउवा-ओलीले बनाएको यो राजनीतिको दलदलभन्दा बाहिरको पात्र हुन्? होइनन्। उनी यही व्यवस्थाका एक सफल खेलाडी हुन्। व्यवस्था नै रोगी भएपछि खेलाडी बदलेर मात्र खेल जितिँदैन, सन्जय दाजु। खेलको नियम नै बदल्नुपर्छ।
तपाईंले बिर्सनुभयो, लोकतन्त्रको खेल व्यक्तिले होइन, विचार र संगठनले जित्ने हो। आज एमाले र कांग्रेसरूपी बाघहरू किन कमजोर भए? किनभने उनीहरूले आफ्नो वैचारिक धार बिराए। कांग्रेसले बीपीको समाजवाद छोड्यो, एमालेले मदनको जबजलाई दराजमा थन्क्यायो। यसको समाधान कांग्रेसभित्र अर्को देउवा वा एमालेभित्र अर्को ओली खोज्नु होइन। यसको समाधान त ती पार्टीहरूलाई उनीहरूको मूल विचारमा फर्काउनु हो।
विद्या भण्डारीको पुनरागमनको सान्दर्भिकता यहीँनेर छ। उहाँ कुनै गुटको उत्पादन नभई मदन भण्डारीको विचारको विरासत हो। उहाँको आगमनले एमालेभित्र व्यक्तिको नभई विधिको शासन स्थापित गर्न, गुट होइन, नीतिको बहस सुरु गर्न एउटा शक्तिशाली दबाब सिर्जना गर्छ। एमाले जस्तो जिउँदो बाघ आफ्नो वैचारिक बाटोमा फर्कन्छ, तब स्यालहरू आफैँ दुलामा पस्छन्। तपाईंले भनेको अराजकताको खतरा आफैँ टर्छ। गगन थापालाई अघि सार्दा कांग्रेसभित्रको एउटा गुटले अर्कोलाई विस्थापित गर्ला, तर देशले वैचारिक दिशा पाउँदैन। विद्या भण्डारीको आगमनले एमालेलाई वैचारिक रूपमा पुनर्जीवित गर्दै त्यसको प्रभाव सिंगो देशको राजनीतिमा पर्छ।
तपाईंले सोध्नुभएका ती पाँच प्रश्नहरू आजको राष्ट्रिय संकटको घडीमा अझ बढी सान्दर्भिक भएका छन्। ती प्रश्नहरूको संक्षिप्त होइन, विस्तृत जवाफ दिनु आज आवश्यक छ।
१. के आजको नेपाल अब विद्या भण्डारीलाई पर्खेर बसिरहेको छ?
हो, पर्खिरहेको छ। नेताहरूको देवत्वकरण, स्यालहरूको हुइयाँ र बढ्दो अराजकताबाट मुक्ति चाहन्छ नेपाल। तपाईंले नै स्वीकार्नुभयो कि राजनीतिको जंगलमा जिउँदो बाघहरू (एमाले र कांग्रेस) ले बाटो बिराएका छन्। जंगलको बाघ जब रोगी हुन्छ, आफ्नो सिकार गर्ने क्षमता बिर्सन्छ र आफ्नै देवत्वकरणको नसामा लठ्ठ पर्छ, तब जंगलमा स्यालहरूको राज चल्छ। आज देशमा त्यही भएको छ।
यो अवस्थामा त्यो बाघलाई निको पार्ने उपचार चाहिन्छ। त्यो उपचार भनेको बाघलाई उसको मौलिक शक्ति, उसको वैचारिक धार सम्झाउनु हो। नेकपा (एमाले) को त्यो मौलिक शक्ति भनेको मदन भण्डारीको जबज हो। त्यो विचारको सबैभन्दा निष्ठावान संरक्षक विद्या भण्डारी हुनुहुन्छ। त्यसैले उहाँलाई पर्खने भनेको कुनै व्यक्तिलाई पर्खनु होइन, रोगी भएको बाघलाई निको पार्ने औषधि पर्खनु हो।
भजन-मण्डलीको सदस्य नभएको पार्टीको त्यो आम कार्यकर्ता जो विचारको लागि लडेको थियो, उसले आज विद्या भण्डारीलाई पर्खिरहेको छ, ताकि पार्टी फेरि व्यक्ति-केन्द्रित झुण्ड नभई विचार-केन्द्रित आन्दोलन बनोस्। एमालेभित्र अहिलेको नेतृत्वसँग सन्तुष्ट नभएको ठूलै तप्काले यो वैचारिक विचलनलाई बुझेको छ र विकल्प खोजिरहेको छ। त्यो विकल्पको वैचारिक केन्द्रबिन्दु विद्या भण्डारी नै हो।
२. के आजको नेपाली समाज र राजनीतिले विद्या आऊ, देश बचाऊ भनिरहेको छ?
हो, भनिरहेको छ। तर त्यो आवाज तीनकुनेमा ढुङ्गा हान्ने भीडको जस्तो चर्को छैन। त्यो आवाज तपाईंले भनेको अनिल कपुर खोज्ने सिनेमाको दर्शकको जस्तो सतही छैन। त्यो आवाज मौन छ, तर गहिरो छ। त्यो आवाज देशको भूगर्भमा थेग्रिएर बसेको भूकम्पजस्तै छ, जसलाई तपाईंले थेग्रिएको जनआक्रोश भन्नुभयो। त्यो आक्रोशले कुनै जादुगर होइन स्थायित्व र विचार खोजेको छ। समाजले देश बचाउन सिनेमाका अनिल कपुर आउँदैनन् भन्ने बुझेको छ। देश बचाउन अनुभव, संयम र राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिको जटिलता बुझेको नेतृत्व चाहिन्छ। विद्या भण्डारीले सात वर्ष शीतल निवासमा बसेर देशको नाडी छाम्नुभएको छ। उहाँले त्यो डुब्दै गरेका नेताहरूको आत्मरति र असफलतालाई सबैभन्दा नजिकबाट देख्नुभएको छ।
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नागरिकता विधेयकमा उहाँले लिनुभएको अडान होस् वा कोभिड महामारीका बेला विश्व मञ्चमा देशका लागि खोप सुनिश्चित गर्न गरेको पहल होस्, यी सबै उहाँको देश बचाउने क्षमताका ठोस प्रमाण हुन्। त्यसैले, देश बचाऊ भन्ने मौन आग्रह उहाँप्रति नै हो, किनकि उहाँसँग समस्याको निदान मात्र होइन, भोगेको अनुभव पनि छ।
३. के विद्या त्यस्तो बोल्ड र समाजलाई हल्लाउने ताकत राख्ने लेडी हुन्?
हो, हुन्। तर तपाईंले बुझ्ने बोल्डनेस र हाम्रो परिभाषा फरक छ। सडकमा चिच्याउनु, मिडियामा छाउनु र विपक्षीलाई सत्तोसराप गर्नु बोल्डनेस होइन, त्यो त स्यालहरूको हुइयाँ हो। तपाईंले भनेजस्तै, आजका नेताहरू गाली सुन्ने नभई भजन सुन्ने चरित्रका छन्। यस्तो अवस्थामा, त्यो भजन-मण्डलीको बीचमा उभिएर यो गलत हो भन्न सक्ने आँट गर्नु नै वास्तविक बोल्डनेस हो।
आफ्नो पतिको हत्यापछिको पीडालाई शक्तिमा बदलेर राजनीतिमा उभिनु, २०६६ सालमा देशको पहिलो महिला रक्षामन्त्री बन्नु, नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा आफ्नै पार्टीको सरकारविरुद्ध अडान लिनु र आज पार्टीभित्रको वैचारिक स्खलनविरुद्ध बोल्न तयार हुनु- यो भन्दा ठूलो बोल्डनेस के हुन्छ? पेसेवर घृणा फैलाउने जमात र सम्भ्रान्त महिलावादीहरूको अनगिन्ती आक्रमण झेलेर पनि प्रतिक्रियात्मक नहुनु उहाँको अभिभावकीय गुण र साहस थियो। उहाँको पुनरागमनको चर्चाले मात्रै जसरी पार्टीभित्र र बाहिर तरंग ल्याएको छ, त्यसले नै उहाँको समाज हल्लाउने ताकतलाई पुष्टि गर्छ। हल्लाउनु भनेको भत्काउनु होइन, ब्युँझाउनु हो।
४. के विद्याका भिजन, बौद्धिकता र सक्रियता देखेर नेपाली समाज हुरुक्क छ?
उहाँको भिजन कुनै व्यक्तिगत महत्त्वाकांक्षाको दस्तावेज नभई जबजको राष्ट्रिय र वैज्ञानिक भिजन हो। आज देशलाई हरेक दिन नयाँ-नयाँ भिजनको होइन, एउटा स्थापित र समय-सान्दर्भिक भिजनमा अडिग रहने नेतृत्वको खाँचो छ। उहाँको बौद्धिकता कुनै विदेशी विश्वविद्यालयको डिग्रीमा होइन, मदन भण्डारीजस्तो युगद्रष्टाको संगत र नेपालको राजनीतिको गहिरो अनुभवमा निहित छ। उहाँको सक्रियताको मूल्यांकन शीतल निवासको पर्खालभित्रबाट नभई जनताको माझमा आएपछि हुनेछ।
तपाईंले भनेजस्तै बाघहरू नै स्यालको जस्तो व्यवहार गर्न थालेपछि समाजले वास्तविक बाघको गर्जन सुन्न चाहेको छ। २०५१ सालमा अनेमसंघको अध्यक्ष बनेपछि उहाँले चलाएको देशव्यापी अभियानले नै महिलालाई राजनीतिको मूलधारमा ल्यायो र ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित भयो। यो एउटा व्यक्तिले नीतिगत रूपमा कसरी परिवर्तन ल्याउन सक्छ भन्ने ठोस उदाहरण हो। उहाँको भिजन र सक्रियताले नै राज्यका निकायमा महिलाको सहभागिता बढाएको हो। यो देखेर समाजको त्यो ठूलो हिस्सा, जसले परिवर्तनको अनुभूति गरेको छ, अवश्य हुरुक्क छ।
५. के विद्यामा त्यस्तो विद्या वा पेसागत दक्षता छ?
हो, छ। त्यो दक्षता तपाईंले प्रस्ताव गर्नुभएको नयाँ खेलाडी वा कुनै अनिल कपुरसँग तुलना नै हुन सक्दैन। तपाईंले आफ्नो लेखमा भारतीय मिडियाको चुरीफुरी र अमेरिकामा ट्रम्पराजको खतराको जुन गम्भीर संकेत गर्नुभएको छ, त्यसलाई सामना गर्ने दक्षता के हो? के त्यो मिडियामा मीठो बोल्ने कला हो? होइन।
त्यो दक्षता भनेको राष्ट्रप्रमुखको रूपमा ती शक्तिहरूसँग प्रत्यक्ष संवाद गरेको, उनीहरूको दबाब झेलेको र राष्ट्रिय स्वाभिमानलाई कायम राखेको अनुभव हो। राजा वीरेन्द्रपछिको चीनको उच्चस्तरीय भ्रमण उहाँकै कारण सम्भव भयो र सी चिनफिङले भरोसा गर्ने नेताको भूमिका उहाँले निर्वाह गर्नुभयो। कोभिडका बेला चीन, भारत र रुसका समकक्षीसँग संवाद गरेर खोप पहल गर्नु उहाँको कूटनीतिक दक्षता हो। नागरिकता विधेयक रोकेर राष्ट्रिय हितको रक्षा गर्नु उहाँको संवैधानिक र राजनीतिक दक्षता हो। सात वर्षभन्दा बढी राष्ट्रको सर्वोच्च पदमा बसेर आर्जन गरेको यो अनुभव पार्टीका लागि महाभूल नभई अमूल्य सम्पत्ति हो।
यो अनुभवजन्य विद्या र दक्षता नै आजको सबैभन्दा ठूलो आवश्यकता हो, जुन कुनै पनि सक्रिय राजनीतिज्ञ वा तपाईंले अघि सारेको प्रतीकात्मक पात्रसँग छैन। देशलाई अहिले सिकारु होइन, अनुभवी पाइलट चाहिएको छ।
जिद्दी होइन, निष्ठाको आग्रह
सन्जय दाजु, तपाईंले नेताहरूलाई हात उठाउन आग्रह त गर्नुभयो तर हात उठाएर खाली भएको ठाउँमा कसलाई ल्याउने? अहिले नेपालमा आँधीबेहरीले जहाजलाई डुबाउनै लागेको छ, अनुभवी भनिएका क्याप्टेनहरू नै दिशाविहीन भएर भजन-मण्डलीमा रमाइरहेका छन्, तब तपाईं जहाजको कमान एउटा सिकारुको हातमा दिन प्रस्ताव गर्दै हुनुहुन्छ? यो त डुब्दै गरेको जहाजका यात्रुहरूको जीवनमाथि गरिएको भद्दा ठट्टा भएन र?
अहिलेको समयमा जहाज बचाउन यस्तो व्यक्ति चाहिएको छ, जसले आँधीको चरित्र बुझेको छ, जसले जहाजको नक्सा र कम्पास दुवैलाई आफ्नो रगतमा घोलेको छ। विद्या भण्डारीको पुनरागमनको प्रयास, उहाँको व्यक्तिगत पद वा प्रतिष्ठाको लागि नभई तपाईंले नै निदान गर्नुभएको डुब्ने रोगबाट पार्टी र देशलाई बचाउने एउटा निष्ठाको, एउटा आस्थाको र एउटा अन्तिम विश्वासको आग्रह हो। यो त्यो जिद्दी हो, जुन मदन भण्डारीले देखेको समृद्ध नेपाल सुखी नेपालीको सपनाको लागि आवश्यक छ।
तपाईंको टाढाको कलमले लेख्यो, उहाँ हार्दा मर्यादा, गरिमा र मूल्य-मान्यता हार्छ। तर हाम्रो धर्तीको मुटुले भन्छ उहाँ पछि हट्दा एउटा व्यक्ति होइन, एउटा सिङ्गो विचार हार्छ। तपाईंले भनेको जिउँदो बाघ (एमाले) ले आफ्नो आत्मा गुमाउँछ र देश अराजकताको अँध्यारो भुमरीमा डुब्ने निश्चित हुन्छ, जहाँबाट निकाल्न अर्को युग लाग्नेछ। मदनको सपना हार्छ। त्यो सपना, जसको लागि हामीले आफ्नो रगत-पसिना बगाएका छौँ।
त्यसैले, म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्छु- त्यो टाढाको, टेक्ससको सतही र भ्रमपूर्ण आग्रह नसुन्नुस्। यहाँ धर्तीको आवाज सुन्नुस्। हामीजस्ता हजारौँ कार्यकर्ताको मनको ढुकढुकी सुन्नुस्, जसले तपाईंमा मदन भण्डारीको प्रतिबिम्ब मात्र नभई पार्टीको भविष्य पनि देख्छ। तपाईंको जिद्दी हाम्रो लागि स्वार्थ होइन, यो त हाम्रो अन्तिम साहस हो। तपाईंको जिद्दी हाम्रो लागि अहंकार होइन, यो त हाम्रो अन्तिम आशाको दियो हो। कृपया, हाम्रो आशाको यो दियोलाई निभ्न नदिनुस्। कृपया, यो देश र यो विचारको लागि एकपटक फेरि जिद्दी गर्नुहोस्। इतिहासले तपाईंलाई पर्खिरहेको छ। तपाईंको यही जिद्दी हाम्रो अन्तिम भरोसा हो।
(दिलिप भट्टराई एमाले अर्घाखाँचीमा आवद्ध छन्)
Shares

प्रतिक्रिया