१८ पुस २०८०। ३७ वर्ष लामाे शिक्षण पेसाबाट बिदा भएकाे दिन।
विक्रम सम्वत् २०४३ सालमा विज्ञान विषय शिक्षकको रुपमा शिक्षण पेसा सुरु गर्दा मनमा युवा जाेस र जाँगर थियाे। त्यतिबेला जुन उत्साह थियाे, याे पेसाबाट विदाई हुँदै गर्दा त्यस्ताे उत्साह नहुँदाे रहेछ। याे मानवीय स्वभाव हाेला। तर पनि नियमानुसार अनिवार्य अवकासमा त जानु नै थियाे। यतिबेला अवकासपछिकाे डेढ वर्ष चल्दै छ।
श्री डिम जनता मावि, परवानीपुर (हाल लालबन्दी नगरपालिका-१६) सर्लाही। २०४३ सालमा मैले विद्यार्थीसँग साक्षात्कार गर्न सुरु गरेकाे सरकारी विद्यालय।
मेरो स्थायी घर सरुअठा रौतहट भएता पनि विद्यालय (परवानीपुर)आउँदा-जाँदा बाटोमा पर्ने हरिवन कृष्णचाेकको कृष्ण मन्दिरमा रहेको हनुमानजीको (मूर्ति) बसबाटै दर्शन गर्ने बानीले नै हरिवनप्रति म आकृष्ट हुन पुगेछु।
जसले मेरो मानसपटलले हरिवनमै एउटा सानो कोठा खोज्यो। त्यहाँ मलाई नेपाली बोल्न सिकाउने मित्र चित्र प्रसाद भट्टराई जस्ता सहकर्मी, विशेषगरी आदरणीय गुरु ङमेन्द्र घिमिरेज्यूसँग एउटै विद्यालयमा काम गर्दैगर्दा हरिवन प्रतिको भावनात्मक लगाव अझ बढ्यो।
८ वर्ष डिम जनता मावि परवानीपुरमा बिताएपछि २०५१ सालमा मेरो सरुवा गोरैता माविमा भयाे।
सरुवाको पत्र बुझ्न जिल्ला शिक्षा कार्यालय जाँदा संयोगबस गुरु ङमेन्द्र सरसँग शिक्षा शाखामै भेट भयो। उहाँले अभिभावकीय स्नेह भावसहित भन्नुभयाे, ‘जयशंकर तिमी गोरैता नजाउ। म तिमीलाई हरिवन (मजमावि)मा लैजान्छु।’
उहाँको आश्वासनले मनमा आशा पलायो। उहाँकै आग्रहअनुसार तुरन्तै शिक्षा शाखाले अर्को सरुवा पत्र तयार गर्याे। म हरिवनकाे मजमाविमा सरुवा भएँ।
त्यसको भोलिपल्ट हनुमाजीलाई नजिकबाट दर्शन गर्दै मैले मजमाविमा पठनपाठन सुरु गरेँ। गुरु ङमेन्द्र सरको अभिभावकीय स्नेह छँदैथियाे हरिवनमा बस्ने सुरुवाती दिन शिक्षक रामनरेश चौधरी सरको घरमा बित्यो। सूर्यदेव ओझा सरको संगत बढ्दै गयाे।
मजमाविमा सरुवा भएकाे केही समयपछि पत्नी र दुई वर्षीय छोरालाई पनि साथमै ल्याएँ। विद्यालय नजिकै रहेको शिक्षक महेन्द्र नेपाल सरको घरमा एउटा सानो कोठा भाडामा लिएर बस्न थालेँ।
त्यतिबेलासम्म मजमाविमा प्रधानाध्यापक ङमेन्द्र सरपछि म मात्र मावि दरबन्दीका स्थायी शिक्षक थियाैँ। अरु सबै शिक्षक प्रावि र निमावि दरबन्दीका हुनुहुन्थ्याे। आफूले चाहेअनुसार पढाउन नपाउँदा र नयाँ ठाउँ एवम् वातावरणमा समायोजन हुन मैले सुरुमा धेरै समस्याको सामना गर्नुपर्याे।
सुरुका केही वर्ष यिनै समस्याको व्यवस्थापनमै बित्यो भन्दा पनि हुन्छ। यहीबीचमा कान्छो छोराको जन्म भयो। पारिवारिक दायित्व थपियाे।
अङ्ग्रेजी विषयका शिक्षक रजनी कान्त झा र नेपाली विषयका शिक्षक कृष्ण प्रसाद भट्टराई जस्ता समर्पित शिक्षक सरुवा भएर मजमाविमै आउनु भयाे। अब भने विद्यालय निश्चित नियम र योजनाका आधारमा संचालन हुन थाल्याे।
वि.सं. २०६४ सालमा प्रअ ङमेन्द्र सरको अनिवार्य अवकाशपछि कृष्ण प्रसाद भट्टराई (दाजु) प्रअमा नियुक्त हुनुभयो। उहाँको कार्यकालमा निमित्त प्रअको रुपमा कामगर्दा धेरै कुरा सिक्ने अवसर मिल्याे। जसलाई मैले पछ्याउँदै गएँ।
विद्यालयको भौतिक विकास, कक्षा ११ र १२ को सुरुवात र स्वर्ण जयन्ती (स्मारीका प्रकाशनसहित) को ऐतिहासिक कार्यहरू उहाँकै नेतृत्वमा सम्पन्न भए। कृष्ण दाजुको नेतृत्वले ममा पनि सामूहिक योजना, शैक्षिक विकास कार्यलाई उदत्त गराउने सिपमा निपूर्णता बढ्दै गयाे।
मजमाविमा प्लस टु संचालनकाे तयारी सुरु भयाे। यसकाे प्रचार प्रसारमा खुबै खटियो। तर प्लस टुको कुनै पनि बैठकमा म सहभागी हुन पाइँन। कक्षा ११ र १२ मा अध्यापनको जिम्मेवारी पनि नपाउँदा मन खिन्न भयाे।
प्लस टुमा अध्यापन गराउन नपाएकोमा मनमा कसैप्रति प्रतिशोध त थिएन, तर कताकता अपुराे शैक्षिक याेग्यताले आफ्नै मन भने अमिलो हुन थाल्याे। ‘योग्यता नपुगेरै मैले ११ र १२ मा अध्यापन गर्न नपाएको होला’ भनेर मन बुझाएँ।
आफ्नाे शैक्षिक योग्यता बढाउनु पर्ने जिजीविषा भइरहेको बेला नजिकै रहेकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल मित्र मनोज थापा मेरो घर नजिकै डेरा गरेर बस्न थाल्नुभयाे।
‘कतिपय व्यक्तिसँगकाे भेटले जीवनकाे मोड नै परिवर्तन हुन्छ’ भन्ने मैले सुन्दै आएकाे थिएँ। त्याे मेरो जीवनमा पनि लागु हुन पुग्यो। निरन्तर क्याम्पससँग जोडिन नसक्नु चाहिँ मेरो जीवनको अधुरो अध्याय थियो। जसलाई मित्र मनोज जीकाे साथले पूर्णता दियाे।
शिक्षण पेसामा रहेकाे मान्छे, पढाई अपूराे! याे अवस्था जीवन भरीको लागि पश्चाताप बन्न सक्ने कुरा हृदयङ्गम गरी हामी (मनाेज जीसमेत)ले आफ्नाे अध्ययन अघि बढाउने निर्णय गर्याैँ।
हामी दुवै वीरगन्जस्थित ठाकुरराम क्याम्पसमा बीएड (एक वर्षे) मा भर्ना भयाैँ। यसमा सफलता मिलेपछि लगत्तै माथिल्लाे कक्षामा नाम लेखायौँ। एमएड (गणित) मा प्रथम श्रेणीमा दुवै उतीर्ण भयाैँ।
त्याे सफलता मिल्दा हामीले एकअर्काको आँखामा आँसु देखेका थियाैँ। यो आँसु थियो- आफ्नो अस्तित्वलाई पहिचfन गराउने आत्मविश्वासको!मनोज थापा मेरो शैक्षिक पुनर्जन्मकाे देवदुत बनेर आए।
हातमा एमएडकाे प्रमाणपत्र पाएपछि मजमाविमै प्लसटुका कक्षामा पढाउने अवसर मिल्याे। दुवै छोराको पढाई, आफनो अध्ययन र परिवारको जिम्वारीलाई निरन्तरता दिन धेरै कठिन थियाे। बिहान र बेलुका ट्युसन पढाएर जीवन निर्वाह गर्नुपर्ने अवस्था थियाे।
खुसीकाे कुराे, २०७० सालमा कृष्ण दाजुको अनिवार्य अवकाशपछि मजमाविमा मलाई प्रधानाध्यापक बन्ने अवसर प्राप्त भयाे। साथीहरूले म मा के देखनुभयो थाहा छैन। आफ्नालाई छोडेर उहाँहरूले प्रअमा मलाई सहयोग गर्नुभयाे।
याे गुनप्रति हरिवनका सबै समाजसेवी र विद्यालय व्यवस्थापन समितिप्रति आज पनि आभारी छु।
प्रधानाध्यापकमा नियुक्त भएपछि विद्यालयकाे हितमा धेरैथोक गरौँला भने चाहना लिएकाे थिएँ। तर एक महिनामै थाहा भयो- सामुदायिक विद्यालयमा पठनपाठन सुधार गर्नु सजिलो काम होइन रहेछ।
त्यसपछि भने मैले आफनो दृष्टिकोण परिवर्तन गरें। शिक्षक, विद्यार्थी र विद्यालयलाई सुधार्नुअघि मैले आफैँलाई सुधार्नु पर्छ भन्ने बुझेँ।
आफूले अपेक्षा गरे अनुसार विद्यालयमा काम नहुँदा उठ्ने रिसलाई शान्त गर्न याेग-ध्यान सिकेँ। आफनो योजना कार्यान्वयन गर्नकाे लागि दुई कदम अगाडि बढ्नकाे लागि म धरैपटक एक कदम पछाडि सरेँ।
विस्तारै विद्यालयमा सबै मिलेर काम गर्ने संस्कृतिको विकास हुन थाल्याे। शिक्षक साथीहरूले मलाई अगाडि राखेर कुदाउँन र आफू पनि मसँगै कुद्न थाल्नुभयो। अभिभावकको चाहनाअनुसार अंग्रेजी माध्यममा पढाइ सुरु भयो। विद्यालमा विद्यार्थीकाे चाँप बढ्दै गयाे। नजिकैका नीजि विद्यालय छाडेर मजमाविमा विद्यार्थी भर्ना हुने क्रम बढ्न थाल्याे।
हाम्राे मेहनतकाे प्रतिफल स्वरूप मजमाविलाई सरकारले नमूनाकाे रुपमा छनोट गर्याे। मजमाविलाई नमूनाकाे रूपमा छनोटका लागि मेहनत गर्ने र याे विद्यालयकाे उन्नयनमा याेगदान पुर्याउनु हुने सबै समाजसेवीहरूप्रति म आज पनि उत्तिकै आभारी छु।
२०८१ सालमा म शिक्षण पेसाबाट अनिवार्य अवकाशमा गएँ। अवकाशको अन्तिम दुईवर्ष आफूले सोचेका केही महत्वाकांक्षी योजनाहरू पूरा गर्न नसक्दा केही सपनाहरू अहिले पनि अधुरै छन्। त्यो अधुरोपनाको एउटा पीडा आज पनि मनमा उठिरहन्छ।
२०५१ सालदेखि आजसम्मको हरिवनको बसाइँले मलाई धेरैथाेक दियाे। जेठो छोराको सडक हादसालाई विर्सने हो भने दुवै छोरा आफ्नै प्रयास, योग्यता र इमन्दारीबाट जीवनमा स्थापित भएका छन्। छाेराहरूको स्वावलम्बन नै मेरो जीवनको सबै भन्दा ठूलो सन्तोष र गर्वको विषय हो। यसलाई मैले हरिवनले दिएको ठुलो उपहार सम्झेको छु।
कुनै किसिमको दाग नलागि ३७ वर्ष लामाे शैक्षिक सेवाबाट अवकाश पाएको छु। शारीरिक रूपमा स्वस्थ छु। जीवनकाे उत्तरार्द्धतर्फ लम्किँदै गर्दा लाग्छ, हरिवनले मलाई धेरै दियाे, अब यसको ऋण चुक्ता गर्ने बेला आएको छ।
मैले हरिवनकै काखमा बसेर सिकेका अनुभवहरू, विशेष गरि शैक्षिक क्षेत्रमा गर्न सकिने सुधारका केही व्यावहारिक योजनाहरू म अब समाजसँग बाँड्न चाहन्छु।
निवृत्त शिक्षक समाजको सहयोगी पनि हाे। यही मान्यताकाे आधारमा नगरपालिकासँग जोडिएर काम गर्न सकियो भने, शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास मनमा छ। यो मेरो अपूर्ण सपनाको पूर्तिको लागि नभएर हरिवनप्रतिको एउटा कतर्व्यवाेधसहित म फेरि पनि हरिवनकाे शैक्षिक विकासकाे सहयाेगी बन्न चाहन्छु।
‘हरिवनको मायाले मेरो जीवन फलामको तराजुमा तौलिएको सुन भएकाे छ,’ आजभाेलि मलाई यस्तै लाग्छ।
व्यक्तिहरू आजभोलि ज्यादै स्वतन्त्र भएका छन्। मनमा लागेको कुरा व्यक्त गर्न सबै स्वतन्त्र छन्। नत मलाई सम्मानले मख्ख पार्छ, नत गालीले दु:खी तुल्याउँछ।
फेरि पनि म निरन्तर हरिवनका विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन प्रयत्नशील रहने प्रण मैले गरेकाे छु। मेराे यही इच्छाअनुसार २०८१ सालमा हरिवन नगरपालिकाले मलाई यस क्षेत्रका विद्यालयकाे अनुगमनको जिम्मेवारी दिएकाे थियाे। छ महिना ढिलो गरि मैले त्यस्ताे जिम्मेवारी पाए पनि यस अवधिमा मैले गरेका शैक्षिक क्रियाकलापबाट म सन्तुष्ट छु। मेराे कामकाे बाँकीको मूल्याङ्कन सम्बन्धित विद्यालय, विद्यालय व्यवस्थापन समिति र नगरपालिकाले गर्ने नै छ।
अनुगमन कर्ताको रुपमा मैले गरेका कार्यहरू
• २० वटा विद्यालयको स्वःमूल्याङ्कन (विद्यालय कार्यसम्पादन परीक्षण साधन बाट)प्रतिवेदन सहित तयार।
• नगरका सवै सामुदायिक विद्यालयको कक्षा ३ मा गणितको नमूना कक्षा संचालन।
• नेपाल निवृत्त शिक्षक समाज हरिवनको आयोजना र हरिवन नगरपालिकाको व्यवस्थापनमा कक्षा १, २ र ३ मा गणित अध्यापन गराउने शिक्षकहरूका लागि दुईदिने कार्यशाला संचालन।
• पाँचवटा विद्यालयमा अभिभावक शिक्षा संचालनमा सहजिकरण।
• १० भन्दा बढी विद्यालयमा निरन्तर मूल्याङ्कनमा सहजिकरण।
• आर्थिक वर्ष २०८१\०८२मा नगरपालिबाट प्राप्त रकम शैक्षिक सुधारमा खर्च गर्न विद्यलय व्यवस्थापन समितिलाई हस्तान्तरण।
• दुई भन्दा बढी पटक हरिवन क्षेत्रका सबै विद्यालयको अनुगमन।
• तीन वटा संस्थागत विद्यालयमा गणितको नमूना कक्षा संचालन।
• हरिवनका केही संस्थागत विद्यालयकाे पनि अनुगमन।
यहाँ म मजमाविमा १० वर्ष प्रअ हुँदा अपनाएका सफल सुधारका चरणहरू पनि तपाईंहरु सँग साझा गर्न चाहन्छु।
नेपालमा सामुदायिक विद्यालय तीन किसिमका छन्। पहिलो, शिक्षक मात्रले संचालन गर्ने विद्यालय। दोस्रो, शिक्षक र विद्यालय व्यवस्थापन समितिको सहकार्यमा संचालित विद्यालय र तेस्रो, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको सामूहिक प्रयासमा चल्ने विद्यालय।मेराे बुझाइमा मजमावि दोस्रो किसिम विद्यालय हाे।
मजमाविमा पठनपाठन सुधार गर्न हामीले पहिलाे चरणमा यसाे गर्याैँ
• विद्यालयको पठनपाठन सुधार र भविष्यको बारेमा छलफलका लागि वृहत् अभिभावक भेलाको आयोजना।
• हामी कस्तो विद्यालय चाहन्छौँ? भन्ने प्रश्नमा लिखित र मौखिक सुझाव संकलन।
• सुझावहरूको विश्लेषन र प्राथमिकीकरण।
दोस्रो चरण-शिक्षक सशक्तिकरण
• प्रत्येक विद्यालयमा एक-दुई शिक्षक नेता हुन्छन्। ती शैक्षिक सुधारका बाधक हुन्। तीनकाे पहिचान।
• शैक्षिक सुधारका लागि खुला छलफल गर्ने संस्कृतिको विकास।
• शैक्षिक सुधारमा अवरोधक शिक्षकलाई महत्वपूर्ण जिम्मेवारी दिँदै सकारात्मक रूपमा परिवर्तनकाे प्रयास।
• ‘प्रत्येक शिक्षकमा यो विद्यालय मेरो हो र मेरै निर्देशनमा चलेको छ’ भन्ने अनुभूतिको विकास।
तेस्रो चरण-अङ्ग्रेजी माध्यमको थप कार्यान्वयन
• व्यक्तिगत रूपमा भन्ने हाे भने म अनिवार्य अङ्ग्रेजी माध्यमकाे पक्षधर हाेइन। तर पनि अभिभावकको चाहना अनुसार विद्यालयलाई क्रमशः तल्लो कक्षाबाट अङ्ग्रेजी माध्यममा लाने योजना बनायाैँ।
• योजना अनुसाको कार्यान्वयनमा सबै शिक्षकको सहमति।
चौथो चरण-सामुदायिक सहकार्य
• वार्षिकोत्सव भव्य रूपमा मनाउँन थाल्याैँ।
• अभिभावक मन्त्रमुग्ध भएर मजमाविलाई नजिकैका संस्थागत विद्यालयसँग तुलना गर्न थाले।
• गाउँ, चाेक, चिया पसलमा मजमाविकाे सकारात्मक चर्चा सुरु भयो।
पाँचौँ चरण-शिक्षक कल्याण नीति
• शिक्षकलाई परेको व्यक्तिगत अपठ्यारामा विद्यालयले खुलेर सहयोग गर्न थाल्यो। पेश्कीको रूपमा रकम पनि उपलब्ध गराउने नीति कार्यान्वयनमा आयाे।
• यसमा पहिलेदेखि सञ्चालनमा रहेका शिक्षक कल्याणकारी कोषको पनि अहम् भूमिका रह्यो।
छेटाैँ चरण-शैक्षिक गुणस्तर उकास्ने कदम
• विद्यार्थी केन्द्रित शिक्षण विधि (परियोजना कार्य, हस्त लेखन तालिम, शैक्षिक सामग्री सहितको अध्यापन)।
• उत्कृष्ट शिक्षक र विद्यार्थीलाई वार्षिकरूपमा पुरस्कृत गर्ने परिपाटीको सुरुवात।
सातौँ चरण-आर्थिक पारदर्शिता र राजनीतिक निरपेक्षता
• आर्थिक कारोवार अत्यन्त पारदर्शी।
• विकेन्द्रीत निर्णय प्रक्रिया।
• विद्यालयभित्र राजनीति प्रवेश लगभग निषेध।
• साथै राजनीतिक पार्टीहरूलाई सदैव विद्यालयले समदुरीमा राख्ने काम।
Shares

प्रतिक्रिया