आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन्। आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बा को चाहना हुन्छ।
कसको बुवा कस्तो हरेछन्? देख्ने मौका आज मिलिरहेको छ। अझ अघिल्लो वर्षमा पोष्ट्याएको फोटो बिर्सिएकाहरुलाई ताजगी जगाइरहेको छ भन्नुपर्ला। हुन त बा लाई सम्झिएर आफ्ना बाको फोटो आफ्नै फेसबुक मार्फत राख्न पनि नपाउनु? तपाईंको मनमा पक्कै पनि यो प्रश्न उठिसक्यो होला। फोटो पोष्ट्याइयो भन्ने विषय ठुलो होइन। तर के तपाईंले आज आफ्ना बुवाका लागि केही समय छुट्याउनु भयो? फेसबुकको वालमा फोटो प्रर्दशन गर्नुअघि बासँग एक वचन कुरा गर्नुभयो? यदी बा टाढा हुनुहुन्छ भने एक कल फोन गर्नुभयो?
जिउँदो भगवान्को रुपमा रहेका आफ्ना बा आमा बाँचुञ्जेल उहाँहरुको आर्शिवादले नै सन्ततीको भविष्य उज्यालो हुन्छ, भन्ने धार्मिक मान्यता छ। हु न पनि हो, आफ्नो दुख भुलेर पाउमा घाउ हुँदा पनि सन्तानको मायाले दश नङ्ग्रा खियाउने बा भन्दा माथि को नै हुन सक्ला र! यति भन्दै गर्दा आमाको महत्वलाई त झन् कहाँ नजर अन्दाज गर्न सकिन्छ। आमा संसार देखाउने देवी हुन् भने बा संसारमा स्वाभिमान भएर बाँच्न सिकाउने बलियो, निडर सिपाही। जसले सयौं दुख कष्ट भुलेर सन्तानको खुसीमा आफ्ना गोजी रित्याउँदै सन्तानको प्रगतिको खोजीमा हुन्छन्।
पछिल्ला पुस्ताका सन्तानसँग स्मार्ट फोन नहुने कुरै भएन। ती सन्तानका बा पनि स्मार्ट भैसकेका छन् नि। म्यासेन्जर र भाइबरमा गफिन लत बाहरुलाई पनि बसिसकेको छ। सायद, आजका दिन ती बाहरुको फोन हातमै होला। कुनबेला छोराले एक कल फोन गर्ला? अरु दिन फोन नगरे पनि आजको दिन त पक्कै फोन गर्ला। यही आशामा बा कुरिबसेका पनि हुन सक्छन्। धेरैजसो बाहरुको आजको दिन घर अगाडिको बाटो कुरेरै पनि बिते होला। छोरा पक्कै घर आउला भन्ने आशमा। त्यसैले फेरि एकपटक प्रश्न गरेँ-बा को मुख हेर्नुभयो त? बा को घर जान नभ्याउनु भएको भए एक कल फोन गर्नुभयो?
हुन त, सबैको भाग्यमा बा को माया चाख्ने सौभाग्य कहाँ जुरेको हुन्छ र! जन्म र मृत्यु निश्चित छ। बुवा नभएकाहरुले आजको दिन बुवालाई धेरै सम्झिरहनु भएको होला। बा भैदिएको भए भेट्न जान्थेँ, यस्तो खुवाउँथे भन्ने लागिरहेकै होला। यहाँहरुले बा लाई गर्नुभएको सम्झना बाले माथिबाटै हेरिरहनुहुन्छ। तँपाइको शिरमा आर्शिवाद दिनुहुन्छ। आमा-बा मात्रै यस्तो भगवान् हुन्, जसले हजारौँ गल्तीको बदला माया र आर्शिवाद मात्रै दिनुहुन्छ। त्यसैले बा यो संसारमा हुनुहुन्न भने मनले बालाई प्राथना गर्नोस्, मनमा शान्ति मिल्छ।
तपाईचाहिँ बा को विषयमा विषय विज्ञ? भन्ने प्रश्न यहाँहरुको मनमा पक्कै उठ्यो होला। भनिन्छ नि, पढेर भन्दा परेर जानिन्छ। पछिल्लो समय समाजमा देखिने दृष्यहरुले मलाई विज्ञ त होइन, तर चुप बस्न नसक्ने भने पक्कै बनाएको छ। बा को महत्व सस्तिएको घटना, पराईलाई पनि गर्न नसकिने व्यवहार बा–आमामाथि, जिउँदो हुँदा के खान मन छ? भनेर सोध्न नसक्ने छोराले बा-आमाको मृत्युपछि पुरोहितको परिवारलाई दिइने दान यस्ता घटनाहरुले बा प्रतिको सम्मान मुर्झाउँदै गएको भान हुन्छ।
एकदिन आउने औँशीमा किन सम्झिन पर्यो बालाई? पक्कै यहाँहरुलाई यस्तो पनि प्रश्न उठिरहेको होला। हिन्दु परम्परामा हरेक पर्व वर्षको एकदिनमात्रै आउँछ। तीज आएपछि दिदीबहिनीले माइती सम्झन्छन्। तीजका बेला माइती भेट्न नपाउँदा मन पोलेको जलनको ताप अझै ताजा छ। लाग्छ सायद, आजका दिन सन्तानले नसम्झिएका बा हरुको मन पनि त्यसैगरी पोलिरहेको होला।
तपाईंको मनमा प्रश्न उठिसक्यो होला, अनि तिम्रा बा नि? हो मेरा पनि बा छन्। एउटा जन्म दिएर पढ्न, लेख्न र सीप सिकाउन आधा जिन्दगी खर्चिएका बा। अर्का सिकेको सीपलाई उचित प्रयोग गर्न सधैँ साथ दिने बा। एउटा माइतीका बा, अनि अर्का घरका बा। दुवै बा मेरा लागि संसारकै सबैभन्दा बहुमुल्य उपहार हुन् झैँ लाग्छ। आर्शिवाद, मार्गदर्शक, दुखमा ढाडस अनि सुखको साथी।
बाहरुप्रति गर्नुपर्ने कर्तव्य पूरा गरेँ। आजको दिन दुवै बाको हातबाट आर्शिवाद थापियो। तर फेसबुकमा पोष्ट्याउन मन लागेन। कारण म मेरा बा हरुलाई सधैँ सम्मान गर्छु। माया गर्छु। उहाँहरुको ओठमा मेरा कारण हाँसो नगुमोस् भन्ने ठान्छु। यति गरिरहँदा मेरा बा यसै खुसी छन्, यो सामाजिक सञ्जाल त प्रर्दशनका लागि न हो। फोटो पोस्ट्याउँदै क्याप्सन लेखुञ्जेल बालाई एक कल फोन गरे बा कति खुसी खुसी।
यति पढिरहँदा यहाँहरुको मनमा फेरि अर्को प्रश्न उठ्यो होला, छोराले मात्रै बालाई सम्झिदैनन्? अनि सबै छोराहरु उस्तै निष्ठुरी हुन्छन्? पक्कै पनि सबै छोराहरु निष्ठुरी र स्वार्थी भने हुँदै हुँदैनन्। तर केही छोराहरु यस्ता हुन्छन्, जसलाई आफ्ना बा को भन्दा बढी अरुसँग दया लाग्छ। स्वार्थमा जोडिएका सम्बन्धमा मात्रै रमाउन खोज्दा आफ्ना बाको आँखा रसाएको पत्तो पाउँदैनन्।
छोरीहरुले त आफ्ना बा-आमालाई सधैँ सम्झिरहेकै हुन्छन्। पछिल्ला समय छोरीले मात्रै होइन, प्रायः बुहारीहरुले पनि कर्मदिने बा-आमालाई छोरीले जस्तै माया गर्नेगरेको उदाहरण त तपाईं हाम्रै गाउँ/टोलमा पनि होनाल्। यति भनिरहँदा सबै बुहारीले माया गर्छन् भन्ने पनि हुँदै होइन। वृद्धाश्रममा र गाउँका घरमा एक्लै भेटिएका बा-आमाको दुखान्त सुन्ने हो भने प्रायः बुहारीकै कारण छोरासँग टाढिनुपरेका घटनाहरु पनि थुप्रै छन्।
खैर, यसो भनिरहँदा आज दिनभर पनि बालाई फोन गर्न बिर्सनुभएको छ भने सम्झनोस् भनेर सम्झाइदिएको मात्रै। कर्तव्य पूरा गर्नुपर्ने आफ्ना बालाई भेटौं। बा हुञ्जेल बालाई सम्मान गरौं। बितेपछि दिएको दान, पिण्ड जस्ता वस्तु बाले पाउँछन् कि पाउँदैनन् के थाहा? मृत्युवरण गरेर गएका कसैका बाले पनि गुनासो गर्न फर्किएको रेकर्ड छैन। ह्याप्पी कुशे औंशी।
Shares

प्रतिक्रिया