ब्लग


विद्यालाई सिध्याउन ‘द प्रिन्स’ पछ्याउँदै ओलीले चालेका चार चाल

विद्यालाई सिध्याउन ‘द प्रिन्स’ पछ्याउँदै ओलीले चालेका चार चाल

दिलिप भट्टराई
भदौ १८, २०८२ बुधबार ८:११, काठमाडौँ

२०८२ साउन २३ गते नेकपा एमालेका महासचिव शंकर पोखरेलको दिउँसो ११:२२ बजेतिरको फेसबुक स्टाटसमा आँखा पर्‍यो, 'मदन आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष बन्नु भएकोमा कमरेड प्रदीप ज्ञवालीलाई हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना।'

बिहानदेखि नै विभिन्न साथीहरूले पार्टी उपमहासचिव, बौद्धिकता र सरलताका लागि परिचित नेता प्रदीप ज्ञवालीलाई बधाई दिइरहेका थिए। यो बधाईको पछाडि लुकेको राजनीतिको गन्धलाई मेसो पाउने प्रयास गर्दा मलाई केही दिनअघि मात्र मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहने गरी तयारी हुँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी र मिसन ८४ मा व्यस्त हुनुपर्ने भएकाले नेतृत्व नगर्नुस् भनेको खबर पढेको थिएँ। म सोच्न बाध्य भएँ, के वरिष्ठ उपाध्यक्षको भन्दा उपमहासचिवको पार्टी र मिसन ८४ मा कम जिम्मेवारी होला र? यो कस्तो राजनीतिक अंकगणित हो?

यो कुरा सेलाउन नपाउँदै सोमबार साउन २५ गते एउटा अनलाइनको लाइभमा केपी शर्मा ओली बोलिरहेको देखेँ। कार्यक्रम रहेछ मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा भर्खरै नियुक्त प्रदीप ज्ञवालीको शपथ ग्रहण समारोह। पछाडि सारेर हेर्दा प्रदीप ज्ञवालीले आफ्नो शालीन र सन्तुलित अभिव्यक्तिसँगै देशको गम्भीर समस्यालाई दुरुस्तै भनेका रहेछन्, 'कतिपय स्कुल, टेक्निकल स्कुलमा विद्यार्थी अभाव हुन थाले।'

सायद उनले आजको विश्वमा आवश्यक पर्ने सीप र शिक्षा प्रणालीको खाका कोरेको वर्ल्ड इकोनोमिक फोरमको फ्युचर अफ जब्स भन्ने रिपोर्ट पढ्ने मौका पाएका छैनन्। अन्यथा, देशको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न उनी जस्तो बौद्धिक नेताले पक्कै कदम चाल्ने थिए।

त्यसपछि ओली बोल्न थाले। उनको भाषण सुन्दै गर्दा मलाई के प्रस्ट भयो भने यो प्रतिष्ठानको पुनर्जीवन कुनै वैचारिक पुनर्जागरणका लागि नभई एउटा डरको उपज र असुरक्षाको अभिव्यक्ति मात्र हो। मदन भण्डारी फाउन्डेसन र त्यसको संरक्षक रहेकी विद्यादेवी भण्डारीलाई टक्कर दिन खडा गरिएको राजनीतिक हतियार हो। ३१ वर्षदेखि निष्क्रिय रहेको संस्थालाई अचानक ब्यूँताएर आफ्ना विश्वासपात्रलाई कमान्ड दिनुले ओलीको त्यो डरलाई उदाङ्गो पार्छ, जुन उनले आफ्नो सबैभन्दा ठूलो वैचारिक प्रतिद्वन्द्वी विद्या भण्डारीबाट महसुस गरिरहेका छन्। यो घटनाले मलाई शासकले 'आफ्नो शक्ति जोगाउन कुनै पनि हतियार प्रयोग गर्न हिचकिचाउनु हुँदैन, चाहे त्यो संस्था नै किन नहोस्' भनेर सिकाएका निकोलो म्याकियाभेलीको याद दिलायो ।

आज त्यही शैतानको ह्यान्डबुक सिंहदरबार र च्यासलको गोप्य म्यानुअल बनेको छ।

सत्ताको अँध्यारो कोठा र म्याकियाभेलीको छाया
चीनमा सी चिनफिङ भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै त्यही अभियानको तरबारले आफ्ना राजनीतिक शत्रुहरूलाई सिध्याउँछन्। यसलाई म्याकियाभेलीको भाषामा आवश्यक क्रूरता भन्न सकिन्छ। रुसमा भ्लादिमिर पुटिनका आलोचकहरू या त जेलमा सड्छन् या रहस्यमय ढंगले हराउँछन्, जसले जनताको मनमा माया नभई डरको साम्राज्य स्थापित गर्छ। इजरायलमा बेन्जामिन नेतान्याहु भ्रष्टाचारको आरोपबाट बच्न देशलाई अनन्त युद्धको भुमरीमा धकेल्छन्, किनकि उनी जान्दछन् कि साध्यले साधनलाई पवित्र बनाउँछ। टर्कीमा रेसेप तैयप अर्दोआन असफल विद्रोहलाई बहाना बनाएर हजारौँलाई जेल कोच्छन् र आफ्नो सिंहासन सदाका लागि सुरक्षित गर्छन्। यो संकटलाई अवसरमा बदल्ने उत्कृष्ट म्याकियाभेलियन चाल हो।

विश्वका यी फरक-फरक कुनामा घटिरहेका घटनाहरूलाई एउटा अदृश्य धागोले जोड्छ। सत्ताका लागि शक्तिको निर्मम प्रयोग। राजनीतिको यही निर्मम र यथार्थवादी दर्शनलाई संसारले एउटा कुख्यात नामले चिन्छ- म्याकियाभेलियन राजनीति। यो नाम ५०० वर्षअघि इटालीको एउटा सानो सहर फ्लोरेन्सको सामान्य क्लर्क, निकोलो म्याकियाभेलीबाट आएको हो। उनले लेखेको सानो किताब द प्रिन्स (राजकुमार) लाई चर्चले शैतानको ह्यान्डबुक भन्दै प्रतिबन्ध लगायो तर सत्ताको अँध्यारो कोठामा यो सधैँ गोप्य बाइबल बनिरह्यो। आज एक्काइसौँ शताब्दीका तानाशाह र स्ट्रङम्यान नेताहरूको हरेक चालमा यसैको प्रतिध्वनि सुनिन्छ।

यो कथा बुझ्न हामीले बेइजिङ, मस्को वा अंकाराको यात्रा गरिरहनु पर्दैन। म्याकियाभेलीको सिद्धान्त आज बालुवाटार र सिंहदरबारको सत्ता खेलको अघोषित म्यानुअल बनेको छ। ओलीका हरेक भाषण, हरेक निर्णय र हरेक राजनीतिक चालमा म्याकियाभेलीकै प्रतिध्वनि सुनिनेछ। उनको उदय, शासन र संकटको कथा द प्रिन्सको आधुनिक नेपाली संस्करण हो, जसले हामीलाई सत्ताको मनोविज्ञान र त्यसले निम्त्याउने त्रासदीको गहिरो पाठ पढाउँछ।

म्याकियाभेलीले शासकलाई आदर्शवादी सपना देख्न नभई शक्तिको क्रूर यथार्थलाई बुझ्न र त्यसलाई आफ्नो हितमा प्रयोग गर्न सिकाए। केपी ओलीले आफ्नो राजनीतिक जीवनको लामो अनुभवबाट यही कलामा निपुणता हासिल गरेका छन्। उनी म्याकियाभेलीका ती सिद्धान्तहरूलाई व्यवहारमा उतार्छन्, जसलाई सार्वजनिक रूपमा स्वीकार गर्न कोही तयार हुँदैन।

मायाभन्दा डर उत्तम
म्याकियाभेलीको सबैभन्दा प्रसिद्ध उपदेश थियो, यदि दुईमध्ये एक रोज्नुपर्दा, जनताको माया पाउनुभन्दा उनीहरूको मनमा डर पैदा गर्नु उत्तम हो। किनकि माया कृतज्ञताको कमजोर बन्धन हो, मानिसले आफ्नो स्वार्थका लागि जुनसुकै बेला तोड्न सक्छ। तर सजायको डर यस्तो शक्तिशाली बन्धन हो, जो कहिल्यै टुट्दैन।

ओलीको शासनकाल यही सिद्धान्तको प्रयोगशाला बनेको छ। दुई तिहाइको अपार माया र जनमत पाएर सत्तामा पुगेका उनले त्यो मायालाई जोगाइराख्न नभई आफ्नो शक्तिलाई चुनौती दिने हरेक शक्तिलाई तर्साउन आफ्नो ऊर्जा खर्च गरे। सडकमा उठेका आवाजहरूलाई दमन गरियो। नागरिक समाजका अगुवाहरूलाई अराजक र देशद्रोहीको बिल्ला भिराइयो। आलोचनात्मक समाचार लेख्ने मिडियालाई विज्ञापन रोकेर वा धम्की दिएर तर्साइयो। अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने प्रयास गरियो।

उनको बोली र व्यवहार दुवैमा यो डरको मनोविज्ञान स्पष्ट देखिन्छ। उनी आफ्ना विरोधीहरूलाई राजनीतिक रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि होच्याउँछन्। उनीहरूलाई खुइलिएका मान्छे, छटपटाएका आत्मा जस्ता शब्दले व्यङ्ग्य गर्छन्। यो राजनीतिक वाक्‍युद्ध मात्र नभई आफ्ना विरोधीहरूको मनोबल तोड्ने र उनीहरूका समर्थकहरूलाई निरुत्साहित गर्ने एउटा रणनीति हो। यसले गर्दा मानिसहरू बोल्नुअघि दस पटक सोच्न बाध्य हुन्छन्। यो राजनेताको शैली नभई डरको साम्राज्य खडा गर्न खोज्ने एक चतुर शासकको चाल हो, जसलाई थाहा छ- प्रशंसाभन्दा शक्तिशाली हतियार भय हो।

सिंह र फ्याउरो : राष्ट्रवाद र धूर्तताको दोहोरो खेल
म्याकियाभेलीले शासकलाई सल्लाह दिएका थिए, एक राजकुमारले सिंह र फ्याउरो दुवैको स्वभाव अपनाउनुपर्छ। सिंहले आफूलाई पासोबाट बचाउन सक्दैन, त्यसैले ऊ फ्याउरोजस्तो धूर्त हुनुपर्छ। तर फ्याउरोले ब्वाँसाहरूलाई तर्साउन सक्दैन, त्यसैले ऊ सिंहजस्तो शक्तिशाली पनि देखिनुपर्छ।

केपी ओली यो दोहोरो भूमिका निभाउन माहिर छन्। अन्तर्राष्ट्रिय र राष्ट्रिय मञ्चमा उनी आफूलाई राष्ट्रियताको रक्षा गर्ने, विदेशी शक्तिलाई घुँडा टेकाउने, चुच्चे नक्सा जारी गरेर नेपालको स्वाभिमान उँचो बनाउने एक राष्ट्रवादी नेताका रूपमा सिंहको रूपमा प्रस्तुत गर्छन्। जबजब उनी पार्टीभित्र वा बाहिर संकटमा पर्छन्, उनी तुरुन्तै राष्ट्रवादको हतियार प्रयोग गर्छन्। २०७२ मा पार्टीभित्र उनको कुर्सी हल्लिरहेको बेला उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा जारी गरे। यो कदम आफैंमा स्वागतयोग्य थियो तर यसको समय र प्रस्तुतिले यो राष्ट्रिय हितभन्दा बढी उनको व्यक्तिगत सत्ता रक्षाको हतियार थियो भन्ने स्पष्ट पार्छ।

पार्टीभित्र वैचारिक बहस र नेतृत्वको टकराव चर्कन्छ, त्यही बेला ओली सांघाई सहयोग संगठनको शिखर सम्मेलनका लागि चीन उड्छन् र राष्ट्रपति सी चिनफिङ र भ्लादिमिर पुटिनजस्ता नेताहरूसँग हात मिलाएका तस्बिरहरू सार्वजनिक हुन्छन्। यी तस्बिरहरू उनका समर्थकहरूका लागि उनको विश्वव्यापी कदको प्रमाण हुन्, तर एक चतुर राजनीतिक खेलाडीका लागि घरेलु राजनीतिको फोहोर खेललाई अन्तर्राष्ट्रिय कूटनीतिको भव्य मञ्चबाट ओझेलमा पार्ने प्रयास उत्कृष्ट म्याकियाभेलियन चाल हो।

पर्दा पछाडि उनी राजनीतिक दाउपेचको जाल बुनेर आफ्ना विरोधीहरूलाई पासोमा पार्ने फ्याउरोको रूप धारण गर्छन्। उनले प्रचण्डसँग पार्टी एकता गर्दै उनलाई भित्रभित्रै कमजोर बनाउने रणनीतिमा लाग्दा त्यो एकता टिकेन। अनि उनले प्रचण्डलाई धोका दिएर देउवासँग गठबन्धन गरे। सत्ताका लागि उनले कुनै पनि वैचारिक वा नैतिक सीमालाई वास्ता गरेनन्। गठबन्धन बनाउनु र भत्काउनु उनका लागि चिया पसलमा बसेर गफ गरेजस्तै हो। यो सिद्धान्त नभई शक्ति महत्त्वपूर्ण हुने म्याकियाभेलियन धूर्तता हो।

साध्यले साधनलाई पवित्र बनाउँछ
म्याकियाभेलीको सबैभन्दा कुख्यात र विवादास्पद सिद्धान्त हो, साध्यले साधनलाई पवित्र बनाउँछ। यदि तपाईंको लक्ष्य महान छ (देश बनाउनु वा राज्यलाई स्थिरता दिनु), तब त्यसलाई हासिल गर्न गरिएका क्रूर वा अनैतिक कामहरूलाई पनि माफी दिन सकिन्छ।

ओलीले आफूलाई समृद्ध नेपालको संस्थापकको रूपमा प्रस्तुत गर्छन्, जसले देशलाई स्थिरता दिन कठोर निर्णय लिनुपरेको छ। यही तर्कको आडमा उनले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरे। उनका लागि संविधान (साधन) भन्दा आफ्नो सत्ता (साध्य) महत्त्वपूर्ण थियो। उनले संवैधानिक निकायहरूमा बलमिच्याइँ गरेर आफ्ना मान्छे नियुक्त गर्नु सोझो अर्थ उनको शक्तिमाथि कुनै अंकुश नलागोस् भन्ने नै हो। विवादास्पद अध्यादेशहरू ल्याएर उनले राज्यका शक्तिहरूलाई आफ्नो मुठ्ठीमा केन्द्रित गर्ने प्रयास गरे।

यी सबै कदमलाई उनले राजनीतिक स्थिरता र राष्ट्रिय हितको नाममा जायज ठहराउने प्रयास गरे। तर गहिरिएर हेर्दा उनको साध्य देशको भलो गर्नुभन्दा बढी आफ्नो व्यक्तिगत सत्ता र विरासत जोगाउनु थियो। देश कोभिड महामारीले थलिएको बेला उनको प्राथमिकता स्वास्थ्य सामग्रीको व्यवस्थापन नभई राजनीतिक नियुक्ति र अध्यादेशमार्फत शक्ति कब्जा गर्नु थियो। यसले उनको साध्यमाथि नै गम्भीर नैतिक प्रश्न खडा गर्छ र उनको म्याकियाभेलियन खेल राष्ट्रका लागि नभई आफ्ना लागि थियो भन्ने देखाउँछ।

म्याकियाभेलीले शासकलाई क्रूर र धूर्त बन्न सिकाए तर उनले एउटा गम्भीर चेतावनी पनि दिएका थिए। त्यो चेतावनीलाई नजरअन्दाज गर्नु कुनै पनि शासकको पतनको कारण बन्न सक्छ। केपी ओलीले द प्रिन्स पढे तर सायद उनले यो सबैभन्दा महत्त्वपूर्ण अध्याय पढ्न बिर्सिए।

शासक घृणित हुनुहुँदैन
म्याकियाभेलीले स्पष्ट शब्दमा भनेका थिए, एक राजकुमारले डर पैदा गर्नुपर्छ, तर घृणाबाट बच्नुपर्छ। डरले मानिसलाई नियन्त्रणमा राख्छ, तर घृणाले विद्रोहलाई जन्म दिन्छ। घृणाबाट बच्ने सबैभन्दा उत्तम उपाय हो, जनताको सम्पत्ति र उनीहरूका महिलाबाट टाढा बस्नु।

सायद यहीँनेर ओलीको म्याकियाभेलियन रणनीति चिप्लियो। उनका भाषणहरूमा राष्ट्रवादको चर्को नारा र समृद्ध नेपाल, सुखी नेपालीको गुलियो सपना त हुन्छ, तर उनको शासनकाल ओम्नी, यती, वाइडबडीदेखि अनेकौँ भ्रष्टाचार काण्डहरूको दुर्गन्धले भरिएको छ। यी काण्डहरूले उनको संरक्षणमा राज्यको सम्पत्तिलाई आफ्नो निजी स्वार्थका लागि दुरुपयोग गर्ने गिरोह मौलायो।

यसले जनतामा निराशा सहितको गहिरो घृणा पैदा गर्‍यो। उनीहरूको गरिबी र अभावमाथि टेकेर एउटा सानो समूहले राज्यलाई लुटिरहेको छ भन्ने महसुस उनीहरूमा गरायो। यस्तो घृणा कुनै पनि शासकका लागि सबैभन्दा खतरनाक विष हो। जनताले शासकलाई आफ्नो सम्पत्तिको लुटेराको रूपमा हेर्न थाल्छन्, तब उनीहरूले विद्रोह गर्न कुनै कसर बाँकी राख्दैनन् भनेर म्याकियाभेलीले बुझेका थिए। ओलीले डरको साम्राज्य त बनाए होलान् तर जनताको घृणाको पात्र बन्नबाट जोगिन सकेनन्।

उत्तम किल्ला जनताको माया हो
म्याकियाभेलीले लेखेका थिए, शासकका लागि सबैभन्दा उत्तम किल्ला भनेको जनताको माया हो। यदि जनताले तिमीलाई घृणा गर्छन् भने कुनै पनि किल्लाले तिमीलाई बचाउन सक्दैन। बालुवाटार एउटा बलियो किल्ला होला, जसको जग जनताको विश्वासमा टिकेको हुन्छ।

ओलीको शासनकालमा त्यो विश्वासको जग निरन्तर भत्किँदै गयो। उनको अहंकार, भ्रष्टाचारप्रतिको मौनता र जनसरोकारका विषयमाथिको उदासीनताले गर्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढ्यो। सडकमा राजतन्त्रको पक्षमा नारा लाग्नु वा नयाँ, वैकल्पिक शक्तिहरूको उदय हुनु यही वितृष्णाको परिणाम हो।

यी घटनाहरूले जनता ओलीको शासनबाट मात्र होइन, समग्र राजनीतिक प्रणालीबाटै विकल्प खोजिरहेका छन् भन्ने देखाउँछ। यो कुनै पनि शासकका लागि सबैभन्दा ठूलो खतराको घण्टी हो। उनले बनाएको शक्तिको किल्ला बाहिरबाट जतिसुकै बलियो देखिए पनि भित्रभित्रै जनताको अविश्वास र घृणाले त्यसलाई खोक्रो बनाइसकेको छ।

विद्याको उदय र विरासतको डर
म्याकियाभेलीको संसारमा प्रिन्सका लागि सबैभन्दा ठूलो चुनौती बाहिरी शत्रु नभई ऊभन्दा बढी वैधानिकता र नैतिक बल भएको भित्री प्रतिस्पर्धी हो। केपी ओलीका लागि त्यो अन्तिम र सबैभन्दा खतरनाक चुनौती बनेर उभिएकी छिन् पूर्वराष्ट्रपति एवं पूर्व वरिष्ठ उपाध्यक्ष विद्यादेवी भण्डारी।

विद्या भण्डारी राजनीतिक प्रतिस्पर्धी मात्र नभई जननेता मदन भण्डारीको विरासत र जनताको बहुदलीय जनवाद (जबज) को वैचारिक प्रतीक हुन्। नेकपा (एमाले) को सम्पूर्ण राजनीतिक र वैचारिक जग यही जबजमा टिकेको छ। ओली एक शक्तिशाली र चतुर नेता भएपनि उनीसँग मदन भण्डारीको प्रत्यक्ष वैचारिक उत्तराधिकार छैन। विद्याले आफूलाई जबजको सच्चा रक्षकको रूपमा प्रस्तुत गरेर ओलीको वैधानिकतामाथि नै प्रश्न उठाएकी छिन्।

यो लडाइँ पदको नभई विरासतको हो। यदि विद्याले पार्टीमा आफ्नो प्रभाव स्थापित गर्न सफल भइन् भने उनले ओलीको शक्ति मात्र खोस्ने छैनन् पार्टीको इतिहास नै पुनर्लेखन गर्नेछिन्। त्यस इतिहासमा ओलीलाई जबजको मूल मर्मलाई त्यागेर सत्ताको व्यावहारिकता अँगालेका एक शक्तिशाली तर पथभ्रष्ट नेताको रूपमा चित्रण गरिनेछ। आफ्नो विरासतप्रति यति धेरै सचेत र चिन्तित नेताका लागि यो शक्ति गुमाउनुभन्दा पनि ठूलो हार हो। यो ऐतिहासिक रूपमा आफ्नो अस्तित्व नै मेटिने डर हो।

कुनामा परेका द प्रिन्स
यही अस्तित्वको डरले ओलीलाई त्यस्ता कदम चाल्न बाध्य बनायो, जुन कुनै पनि आत्मविश्वासी नेताले चाल्दैन। विद्याको राजनीतिक पुनरागमनलाई रोक्न उनले सम्पूर्ण पार्टी संयन्त्रको दुरुपयोग गरे। यो हताशा र असुरक्षाले भरिएका आत्मघाती चालहरूको एउटा शृङ्खला थियो।

पहिलो चाल : संस्थागत नाकाबन्दी। ओलीको पहिलो र सबैभन्दा निर्मम प्रहार पार्टीको संस्थागत संरचनामाथि भयो। उनको सदस्यता नवीकरणको निवेदनलाई केन्द्रीय कमिटीबाट अस्वीकार गर्नु एउटा राजनीतिक सन्देश थियो- पार्टीको किल्लामा अब उनका लागि कुनै ठाउँ छैन। यो कदमलाई वैधानिकता दिन, पार्टीको प्रचार विभागलाई परिचालन गरियो। उनीहरूले एउटा भाष्य निर्माण गरे- पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्तिले गुटबन्दीको फोहोरी खेलमा लाग्नुहुँदैन। यो तर्क सुन्दा जति सम्मानजनक लाग्थ्यो, भित्रभित्रै त्यति नै कपटी थियो। यसको वास्तविक उद्देश्य विद्यालाई नैतिक बन्धनमा बाँधेर उनको राजनीतिक सक्रियतालाई निस्तेज पार्नु थियो।

दोस्रो चाल : वैचारिक विरासतमाथि आक्रमण। संस्थागत नाकाबन्दीले काम नगरेपछि ओलीले अझ गहिरो र व्यक्तिगत आक्रमण सुरु गरे। उनले सार्वजनिक रूपमै मदन भण्डारी फाउन्डेसनलाई पार्टीको अंग नभएको घोषणा गरे। विद्याको सबैभन्दा ठूलो वैचारिक हतियार मदन भण्डारीको विरासतलाई उनीबाट खोस्ने एउटा हताश प्रयास थियो यो। यो कदमले ओली कतिसम्म डराएका छन् भन्ने कुरा उदाङ्गो बनायो। उनी विद्याको शक्तिलाई मात्र नभई वैचारिक स्रोतलाई नै सुकाइदिन चाहन्थे।

तेस्रो चाल : भ्रातृ संगठनहरूको दुरुपयोग र मनोवैज्ञानिक त्रास। ओलीले पार्टीका भ्रातृ संगठनहरू युवा संघ, अनेरास्ववियु र महिला संघलाई विद्याविरुद्ध मनोवैज्ञानिक युद्ध छेढ्न प्रयोग गरे। यी संगठनहरूबाट उनको कदमको आलोचना गर्दै र पार्टी एकतामा खलल पुर्‍याएको आरोप लगाउँदै वक्तव्यहरू जारी गर्न लगाइयो। जिल्ला र स्थानीय तहका कमिटीहरूलाई अनौपचारिक निर्देशन दिइयो विद्याका समर्थकहरूलाई कुनै पनि कार्यक्रम गर्न नदिनू र उनीहरूलाई निगरानीमा राख्नू। पार्टीभित्र जो नेताले विद्याप्रति सहानुभूति देखाउँथ्यो, उसलाई सार्वजनिक रूपमै गुटपरस्तको आरोप लगाइन्थ्यो वा महत्त्वपूर्ण जिम्मेवारीबाट वञ्चित गरिन्थ्यो। विद्या भण्डारीको पक्षमा बोल्नु भनेको आफ्नो राजनीतिक भविष्य नै दाउमा लगाउनु हो भन्ने मनोवैज्ञानिक त्रासको वातावरण सिर्जना गर्ने प्रयास गरियो ।

चौथो चाल : आत्म-महिमामण्डन र इतिहासको पुनर्लेखन। विद्याको प्रभावलाई निस्तेज पार्न ओलीले आफूलाई पार्टीको एक मात्र र निर्विकल्प नेताको रूपमा स्थापित गर्ने अभियान नै चलाए। पार्टीका कार्यक्रमहरूमा मदन आश्रितको तस्बिर त राखिन्थ्यो तर भाषण र चर्चाको केन्द्रमा केवल केपी बा हुन्थे। पार्टीको इतिहासलाई र हरेक सफलताको श्रेय ओलीलाई र हरेक असफलताको दोष विरोधीहरूलाई दिइन्थ्यो। यो आफ्नो विरासत सुरक्षित गर्न इतिहासलाई नै पुनर्लेखन गर्ने एउटा म्याकियाभेलियन प्रयास थियो।

म्याकियाभेलीले सिकाएका थिए, एक चतुर राजकुमारले आफ्नो प्रतिद्वन्द्वीलाई या त पूर्ण रूपमा सिध्याउनुपर्छ या उसलाई आफूमा समाहित गर्नुपर्छ। तर उसलाई अपमानित गरेर जिउँदो छोड्नु मूर्खता हो, किनकि उसले बदला लिने मौका कुरिरहेको हुन्छ। ओलीले विद्यालाई पूर्ण रूपमा सिध्याउन सकेनन्, न त उनलाई सम्मानजनक रूपमा समेट्न नै चाहे। उनका हरेक दमनकारी कदमले विद्याको ओली एक अलोकतान्त्रिक र निरंकुश शासक हुन् भन्ने दाबीलाई बलियो बनायो। यसरी आफ्नो प्रतिद्वन्द्वीको डरले उनी आफैँले खनेको खाडलमा पर्दै गए।

नेपाली प्रिन्सको त्रासदी
अन्त्यमा, केपी शर्मा ओलीको कथा द प्रिन्सको त्रासदी हो, जसले म्याकियाभेलीको किताब त पढ्यो तर त्यसको सार बुझ्न सकेन। उनले शक्ति कसरी कब्जा गर्ने र त्यसलाई कसरी जोगाइराख्ने भन्ने कला सिके पनि शक्ति केका लागि हो भन्ने प्रश्नलाई कहिल्यै गम्भीरतापूर्वक लिएनन्। उनले डरको हतियार चलाए, तर घृणाको विषबाट बच्न सकेनन्। उनले सिंहको गर्जन र फ्याउरोको धूर्तता दुवै देखाए, तर जनताको विश्वासको किल्ला बनाउन बिर्सिए।

विडम्बना, जुन म्याकियाभेलीले आफ्नो किताब द प्रिन्स शासकलाई खुसी पार्न र आफ्नो गुमेको जागिर फिर्ता पाउन लेखेका थिए, त्यही किताबले उनलाई जीवनभर बदनाम बनायो। ओली पनि आफ्नो विरासत बनाउने धुनमा छन्, तर इतिहासले उनलाई कसरी सम्झिएला? एक दूरदर्शी राजनेताको रूपमा वा एक असुरक्षित, सत्तालोलुप शासकको रूपमा, जसले आफ्नो डर लुकाउन म्याकियाभेलीको शैतानी ह्यान्डबुकको सहारा लियो?

५०० वर्षअघि फ्लोरेन्सको एक क्लर्कले सत्ताको जुन नग्न र क्रूर खेलको नियम लेखेका थिए, आज त्यही खेल बालुवाटारको बन्द कोठाहरूमा खेलिँदैछ। र सायद, पाताल लोकबाट म्याकियाभेली आफ्नो नेपाली चेलाको चतुऱ्याइँ हेरेर मुस्कुराइरहेको होला। किनकि उसको सिद्धान्त आज पनि उत्तिकै जीवन्त र सान्दर्भिक छ, जति पाँच शताब्दीअघि थियो, र उसले यो पनि देखिरहेको छ कि उसको सबैभन्दा चतुर चेला पनि अन्त्यमा आफ्नै अहंकार र डरको पासोमा परेर कसरी पतनको बाटोमा अग्रसर हुन्छ।

(दिलिप भट्टराई एमाले अर्घाखाँचीमा आबद्ध छन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad