ब्लग


सामुदायिक विद्यालय सुधार्न गर्नुपर्ने पहिलो काम

सामुदायिक विद्यालय सुधार्न गर्नुपर्ने पहिलो काम

लीलानाथ गौतम
पुस ४, २०८२ शुक्रबार ८:५०, काठमाडौँ

`फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार´ भनेजस्तै कुनै विषयलाई हामीले हेर्ने दृष्टिकोण र सोच्ने शैलीले धेरै फरक पार्दछ। विचार अर्थात् सोच त शक्तिशाली हतियार नै हो। हाम्रा सामु हुने घटना, जो राम्रो नराम्रो जे हो, त्यो दुईपटक घट्छ; पहिले त विचारको (सोचको) तहमा र अर्को यथार्थमा। त्यसैले महान दार्शनिकहरु असल विचार अर्थात् सकारात्मक सोचलाई धारण गर्न, मन, वचन र कर्मले सदा सकारात्मक अनि आशावादी हुन झक्झक्याउँछन्।

हाम्रो सन्दर्भमा हामी नकारात्मक सोचको जब्बर घेराभित्र नकारात्मकतालाई पालेर, पोसेर बसिरहेका छौँ। आजका दिनमा हामीमध्ये धेरै मानिस सरकारी सामुदायिक विद्यालयलाई राम्रो शिक्षा दिने थलो हो भनेर बुझ्दैनौँ वा बुझ्ने चाहना नै राख्दैनौँ। त्यस्तै सरकारी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने कुरालाई मान्न तयारै छैनौँ। राज्यप्रदत्त अनुदान र सहयोगले चलिरहेका स्कुल, कलेज हुन् वा अस्पताललाई हामी पत्याउँदैनौँ। अनि महँगो शुल्क तिरेर निजी विद्यालय, निजी कलेज र निजी अस्पताल धाइरहेका छौँ।

सरकारी शिक्षण संस्थामा पनि राम्रै पढाइ हुने रहेछ, सरकारी अस्पतालमा पनि राम्रै उपचार पाइने रहेछ भनेर हामीले कहिले बुझिदिने? त्यहाँको सेवा लिन हामी कहिले जाने? पहिले त्यहाँसम्म त पुगौँ अनि बल्ल ठिक बेठिक रहेको कुरा गरौँ। ठिक भए स्याबासी दिऊँ, बेठिक भए सुझाव दिएर, झक्झक्याएर ठिक पारौँ। एउटा व्यक्तिले चलाएको निजी संस्था राम्रो हुन सक्छ भने त्यत्रो राज्य संयन्त्र लागेर, राज्य र समुदायले त्यति धेरै लगानी गरेर बनाइएको सरकारी वा सामुदायिक संस्था चाहिँ किन गतिलो नहुनु?

अझ हाँसउठ्दो कुरा त के छ भने सरकारी, सामुदायिक विद्यालयको सबभन्दा बढी बद्ख्वाइँ ती मान्छेहरुले गरिरहेका छन्, जसले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई पढ्न कहिल्यै पठाएनन्। छोराछोरीलाई सामुदायिक विद्यालयमा पढ्न पठाएर अनि देखिएका समस्याका विरोध गरेको भए त्यो बद्ख्वाइँ वा विरोध हुँदैन थियो; त्यो सुझाव हुन्थ्यो।

के सामुदायिक विद्यालय एकथरी मानिसहरूले कुरा काटेजस्तै काम नलाग्ने नै छन् त? के त्यहाँ अध्ययनरत विद्यार्थी त्यति कमजोर हुन् र? के त्यहाँका शिक्षक त्यति गैरजिम्मेवार हुन् र? अवश्य नै होइनन्। न त स्कुल काम नलाग्ने भइसकेको छ! न त विद्यार्थी त्यति कमजोर छन्, जति भन्ने गरिएको छ! न त शिक्षक गैरजिम्मेवार छन्, जति टिप्पणी गरिएको छ। हामीले खोजी पस्ने हो भने त्यहाँ प्रतिस्पर्धामा खरो उत्रिएर आएका अब्बल शिक्षक छन्। त्यहाँ सुन्दर भविष्य कुरिरहेका आशलाग्दा विद्यार्थी छन्। त्यहाँ समुदाय जोडिएको छ। राज्यका तीन तहका सरकारहरु आआफ्ना ठाउँबाट जोडिएकै छन्।

अब यहाँ प्रश्न उठ्छ, राज्य र समुदायको यत्रो लगानी भएर पनि सामुदायिक स्कुल किन जिङ्ग्राएको? नतिजा किन आशातीत नभएको? किन स्कुलहरु मर्ज हुँदै गएको? किन कतिपय ठाउँका स्कुल सदाका लागि ताला लागेर बिना विद्यार्थी खण्डहर बनेको? आदि आदि। हुन त यसको एक मात्र जवाफ त छैन। यसभित्र थुप्रै पाटा र पक्षहरुले काम गरेका छन्; जसमध्ये केही पक्षमाथि चर्चा गरौँ।

अपनत्वको अभाव
सामुदायिक विद्यालयमा अपनत्वको अभाव नै यसको मुख्य समस्या हो। झट्ट हेर्दा सरकारले स्वीकृति वा अनुमति दिएकै हो, सकेजति शिक्षक व्यवस्था गरिदिएकै छ, प्रअ छन्, व्यवस्थापन समितिका माध्यमबाट समुदाय पनि जोडिएकै छ अनि कसरी हुन्छ त अपनत्वको अभाव जस्तो लाग्न सक्छ!

तर कुरा त्यतिमा सकिन्न। अधिकतर सामुदायिक विद्यालयमा योजना र लगावबिनाका, भिजनबिनाका प्रअहरु जबर्जस्ती ठुल्याइँ देखाएर ठाउँ ओगटेर बसेका छन्। स्थानीय शिक्षकहरु आफ्ना छोराछोरी सहर वा सदरमुकामका निजी विद्यालयमा भर्ना गरेर गाउँमा अरुका बच्चा चाहिँ स्कुलमा भर्ना गरिदिनुपर्‍यो, विद्यार्थी नपाएर स्कुल ताला लाग्ने भो भन्दै रोइलो गर्दै हिँडेका छन्। एक किसिमका विव्यस अध्यक्ष र पदाधिकारीहरु कताबाट स्कुलमा तर मार्न पाइएला भन्दै झिँगे दाउ लाएर बसेका छन्। स्कुलसँग जोडिएका प्रअ, विव्यस विद्यालयलाई योगदान दिनुभन्दा पनि दोहन गर्ने मार्गमा लाग्नु सबैभन्दा विडम्बनाको कुरा हो।

आफू दोहनबाहेक केही गर्न नसक्ने, योजना र भिजन दिएर स्कुललाई अग्रगति दिन नसक्ने उल्टै ठाउँ ओगटेर केही गर्छु भन्नेलाई स्थान नदिने हाँडिघोप्टे प्रवृत्तिले धेरै सामुदायिक विद्यालयलाई गाँजेकै छ। प्रअले जागिर पचाउने ठाउँको रुपमा मात्र बुझ्नु, शिक्षकले आफूले दिएको शिक्षा चित्त नबुझेर अन्यत्रका निजी विद्यालयमा सन्तति पढाउनु, अलिकति राम्रो गर्न खोज्ने शिक्षक पनि हतोत्साहित पारिनु, व्यवस्थापन समिति झिँगे दाउ हेरेर बस्नु यी समस्याहरुले स्कुलको अपनत्व लिइदिनेहरुको अभावलाई प्रस्ट पार्दैन र?

नेपालमा सामुदायिक विद्यालयहरुको उत्पत्ति र विकासको क्रम हेर्ने हो भने त्यतिबेला स्वामित्व लिने र अपनत्वको भावले हेर्नेको अभाव देखिन्न। राज्यबाट कुनै सुविधा नपाउँदा पनि स्कुलहरु चलेकै थिए। स्कुलका लागि समुदायकै मानिस जग्गा दिन तयार हुन्थे, सबै जुटेर घरटहरा बनाउँथे, विद्यार्थीहरु आफू बस्ने कक्षा कोठा गोबरमाटोले आफैँ लिपपोत गरेर पढ्न पाउँदा पनि रमाएकै थिए। पढेलेखेका मान्छेलाई खोजेर ल्याई चन्दा उठाएर तलब दिएर पनि छोराछोरी पढाएकै थिए। त्यसबेला के सम्पन्न, के विपन्न सबैका सन्तानले एकै छानोमुनि एकै प्रकारको शिक्षा पाएकै हुन्।

पछि त्यस्ता विशुद्ध समुदायले थेगिदिएको स्कुललाई विशेष गरी प्रजातान्त्रिक युग सुरुवात भएसँगै सरकारले मान्यता दिने, दरबन्दी उपलब्ध गराउने सकारात्मक कार्य गर्दै आयो।

हिजो समुदायले गर्ने गरेको लगानीका ठाउँमा आज राज्य पक्षबाट शिक्षामा ठूलो लगानी छ। धेरैजसो विद्यालयमा सुविधासम्पन्न भवन बनेका छन्। धेरथोर शिक्षक दरबन्दी पनि दिएकै छ। थोरै भए पनि छात्रवृत्ति, दिवाखाजा जस्ता सुविधा उपलब्ध गराएकै छ। फेरि पनि सामुदायिक विद्यालय किन उँभो नलाग्नु त? एउटा जवाफ त यही हो `स्कुल मेरो हो मैले स्कुल बनाउनु पर्छ´ भन्ने अपनत्वको अभाव।

गलत भाष्यको निर्माण
हुन त समयको माग र बढ्दो जानसाङ्ख्यिक चापलाई दिइने शिक्षा राज्य एक्लैले थेग्न गाह्रै पर्दो हो। फेरि खुला बजार र अर्थतन्त्रको कुरा गरिरहँदा निजी क्षेत्रलाई पनि स्थान दिनुपर्ने बाध्यता राज्यपक्षसँग हुँदो हो। राज्यको शिक्षा ऐन र विधि विधानलाई मानेर चलिआएका निजी विद्यालयलाई नकारात्मक ढङ्गले मात्र पनि बुझिहाल्नु हुन्न। शुल्क तिरेर निजी विद्यालयमै आफ्ना बच्चालाई पढाउँछु भन्ने अभिभावकलाई भन्नुपर्ने केही छैन। व्यक्ति स्वतन्त्र छ। आफ्ना सन्तानलाई कहाँ पढाउने? के र कसरी पढाउने त्यो सम्बन्धित व्यक्तिको वैयक्तिक स्वतन्त्रताको कुरा हो।

तर मुस्किलले गुजारा गरिरहेका आर्थिक रुपले कमजोर अवस्थामा रहेकाहरुले पनि सन्तानलाई निजी विद्यालयमै भर्ना गर्नु र आफ्नो कमाइको ठूलो हिस्सा महँगो शुल्कमा बुझाउनु पर्ने बाध्यता हामीले देखिआएका छौँ। अनि यता `जसका लागि गोठ बनायो उसैको पुच्छर बाहिर´ भनेझैँ शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न खोलिएको सामुदायिक स्कुल चाहिँ विद्यार्थी नपाएर रित्तिँदै जाने अवस्थाले हाम्रो सार्वजनिक शिक्षा कता जाँदैछ भन्ने ठाउँमा हामी पुगेका छौँ।

सर्वसाधारणका माझ `सरकारी, सामुदायिक विद्यालयमा त पढाइ नै हुँदैन; राम्रो पढ्न र गतिलो नतिजा ल्याउन त निजी विद्यालयमै छोराछोरी लैजानुपर्छ´ भन्ने अर्को गलत भाष्य जबर्जस्त घुसेको छ। विश्वविद्यालयका डिग्री लिएर आएका, बाल मनोविज्ञानको अध्ययन गरेका प्रतिस्पर्धामा खरो उत्रेर आएका शिक्षकले पढाउने विद्यालय कसरी नराम्रो हुन सक्छ? शिक्षकले आफूलाई समयानुकुल ढालेर अद्यावधिक गर्न सक्ने हो भने हाम्रा सामुदायिक विद्यालयको पठनपाठन कमजोर हुने कुरै हुँदैन।

अर्कोतर्फ के पनि देखिन्छ भने हिजो एउटा समय थियो। समाजका सबै खाले धनी, गरिब, टाठबाठा,निमुखा सबैका सन्तान सरकारी सामुदायिक विद्यालयमै पढ्थे। त्यस बखत विद्यालयमा समयनुसारका सचेत र जागरुक अभिभावकको कमी थिएन। ती अभिभावक शिक्षक, प्रअ, सञ्चालक समितिसँग आँखा जुधाएर कुरा गर्थे। सचेत अभिभावक हुनाका नाताले बालबालिकाको पढाइलेखाइबारे जानकारी राख्थे र पो स्कुल जागरुक थियो। थोरै भए पनि उपलब्ध साधनश्रोतले समयानुसारको राम्रै शिक्षा दिन सकेको थियो।

आज सामुदायिक स्कुलमा त पढाइ नै हुन्न भन्ने धारणाका सिकार भएकाले सचेत भनिने वर्ग नै आफ्ना बच्चालाई निजी विद्यालयतिर लगेर सामुदायिक विद्यालयको अभिभावक बन्नबाट चुकेका छन्। देशैभरिका केही सीमित अपवादलाई छोडेर भन्ने हो भने अधिक सामुदायिक विद्यालयका अभिभावकहरु कमजोर आर्थिक अवस्थाका, गुजाराका लागि रातदिन आफ्नै काममा मात्र व्यस्त रहनुपर्ने, विद्यालयसम्म गएर शिक्षक, प्रअसँग आँखा जुधाएर कुरा राख्न नसक्ने, सुशासनको खोजी नगर्ने अवस्थाकै छन्।

अनि सबैबाट बेवास्तामा परेको, सचेत अभिभावकबाट परीक्षित हुन नपाएपछि सामुदायिक स्कुल जिङ्ग्राउँने दिशातिर लागेकै हुन् जस्तो देखिन्छ।

खुट्टा तान्ने प्रवृत्ति
रातमा चमकचमक चम्किएर हिँड्ने जुनकीरीलाई एक दिन सर्पले लखेटेछ। अरु जन्तुहरुले `होइन, तिमी सर्पले किन जुनकिरी लखेट्नु परेको? त्यो तिम्रो शत्रु पनि होइन, तिम्रो केही बिगार गरेको पनि छैन´ भन्दा रहेछन्। जवाफमा सर्पले भनेछ, `होइन त्यसलाई किन चमकचमक चम्किएर हिँड्नु परेको, म नचम्कीकन चुप लागेर बस्दा पनि भएकै छ त! त्यसलाई चैँ चम्किनै पर्ने?´

ठिक यस्तै अवस्था हाम्रो परिवेशमा मेल खान आउँछ। सामुदायिक स्कुल बनाउन त भनेर एकथरी असल प्रअ, शिक्षकहरु, विव्यस लागि परेकै छन्। स्कुलमा केही नवीनतम अभ्यास गर्न, कतिपय स्कुलमा अङ्ग्रेजी माध्यम चलाएर विद्यार्थी आकर्षित गर्न, शिक्षक कम भएका स्कुलहरुले निजी श्रोतबाट शिक्षक नियुक्ति गर्न अभिभावककै भेलाबाट सहमति लिएर सक्नेले सहयोग गर्ने नीतिअनुरूप अभिभावक सहयोगका रुपमा केही शुल्क (दान/चन्दा) का रुपमा उठाएर राम्रै ढङ्गले स्कुल चलाएको पनि देखिन्छ। त्यस्ता विद्यालयहरुले अन्य सामुदायिक विद्यालयको तुलनामा अपेक्षाकृत राम्रै नतिजा पनि दिएकै छन्।

तर विडम्बना, त्यस्तो राम्रो काम गर्दै नतिजा दिन सकेका विद्यालयहरु पनि आज `सर्पले जुनकिरीलाई लखेटेजस्तै´ लखेटिनु परेको छ। एकाथरी मानिसलाई सामुदायिक स्कुल सुधारोन्मुख हुने कुरा मन परेको छैन। सामुदायिक स्कुल चम्किएको मन परेकै छैन। अनि त सामाजिक सन्जालमा फलानो सामुदायिक स्कुलले शुल्क लियो। यसो र त्यसो गरेको अभियोग, अझ मुद्दा र मामिलाले हैरान पारेकै छन्।

अर्कातिर शिक्षकहरुको मनोबल गिराउने र पेसाबाटै पलायन हुन बाध्य पार्ने परिवेश पनि यदाकदा बन्ने गरेको देखिन्छ।

विद्यार्थीलाई बुझ्न नसक्नु
अभिभावक र शिक्षकहरुले अहिलेको युग र प्रविधिमा हुर्किरहेका विद्यार्थीलाई बुझ्न नसक्नु पनि एउटा समस्या हो। अबको बच्चालाई हिजोको ढङ्गले पढाएर हुन्न। उनीहरुलाई प्रविधिकै सहायताले सिकाउनु पर्छ। अहिलेका पुस्तालाई डिस्टर्ब गर्ने धेरै पक्षहरु छन्। मूलत मोबाइल र त्यसभित्रका सन्जालहरु, प्रविधिले भित्र्याएका खेलहरु नै उनीहरुका शत्रु र मित्र दुवै भएका छन् । मोबाइल संस्कृति उनीहरुको जीवनपद्धति भएको छ। यसलाई निस्तेज पारेर जाने कुरा असम्भव नै छ। बरु यसकै सहायताले सिकाइलाई चाहिँ परिवर्तित गर्नुपर्ने देखिन्छ।

त्यसो भए के गर्ने त?
सामुदायिक विद्यालय, सार्वजनिक शिक्षा प्रणालीका बारेमा कुरा गरिरहँदा यसलाई प्रभावित पार्ने पाटा र पक्षहरू धेरै छन्। यो छोटो लेखमा विहङ्गम ढङ्गले यसको चर्चा गर्न त सकिन्न। हामीले समस्या मात्र देखाएर हुन्न। अब सचेत ढङ्गले सोच्ने बेला भइसकेको छ।

सबैभन्दा पहिले त हामीले सोच नै परिवर्तन गर्न जरुरी छ। विद्यालयलाई फूलबारी मान्ने हो भने त्यहाँका थरिथरिका मालीमध्ये अभिभावक र समुदाय पनि माली नै हो। त्यसर्थ अब सचेत अभिभावकले फूलबारीको मालीझैँ स्कुलको गोडमेल गरौँ। प्रअ र शिक्षक त एकाथरी माली छँदै छन्। आफ्ना बच्चालाई निर्धक्क भएर सामुदायिक विद्यालयमै लैजान सुरु गरौँ। अभिभावक र समुदायलाई अङ्ग्रेजी माध्यममै पठनपाठन चाहिएको हो र त्यही कारणले निजी विद्यालय लगिएको हो भन्छन् भने विद्यालयले पनि त्यही माध्यममै पढाइदिऊँ। चन्दा उठाएर, दानदातव्य लिएर पनि विद्यालयलाई प्रविधिमैत्री बनाउनेतिर लागौँ।

सामुदायिक विद्यालयहरुले राज्यले दिएको दरबन्दीले नपुगेर शिक्षकको समस्या झेल्नु परेको छ भने अङ्ग्रेजी माध्यममा पढाउन थप सेक्सन बिस्तार गर्न आर्थिक कठिनाइ परेको छ र विद्यालयको आफ्नो श्रोत छैन भने अभिभावकको सहमति लिएर थोरै सहयोग लिनेतिर सोचौँ। यसो गर्दा सर्पले जुनकिरी लखेटे जस्तो नगरौँ। विद्यालयलाई श्रम र सीप सिकाउने थलोका रुपमा विकास गरौँ।

`राज्यको लगानी बालुवामा पानी´ हुनबाट जोगाउन एक पटक फेरि सबैले सामुदायिक विद्यालयको अपनत्व ग्रहण गरौँ। हामी वैदिक शिक्षा, गुरुकुल प्रणालीको गुरु आश्रममा लिइने शिक्षाको पृष्ठभूमिबाटै कुनै समयदेखि यहाँसम्म आइपुगेका हौँ। त्यसबेला सीपमूलक शिक्षा, गरिखाने शिक्षा र समयको आवश्यकताअनुसारको शिक्षा थियो। राज्य जनता सबैले शिक्षण संस्थालाई माया गर्थे, आफ्नो गाँस काटेर पनि सहयोग गर्थे। आज समय बद्लियो, युग बद्लियो तर सामुदायिक विद्यालय सर्व जनको विद्यालयलाई त्यस्तै माया र साथ सहयोग गर्नुपर्ने अवस्था बदलिएको भने छैन। सबै सकारात्मक बनौँ। सबैले सहयोग गरौँ।

(गौतम मावि भंगाहा सीतापुर, महोत्तरीका शिक्षक हुन्।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad