नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुअघि भनेका थिए, देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशमुखी प्रवृत्तिको बोलवाला बढे राष्ट्रि«यताकै हत्या हुन्छ। प्रजातन्त्र र राष्ट्रियताको सन्तुलन नै कांग्रेसको मूल राजनीतिक दर्शन हो।
२००७ सालमा राणा शासनबाट देशलाई मुक्त बनाउने कामको श्रेय कांग्रेसलाई नै जान्छ। २०१७ पछि २०४६ सम्मको निरंकुुश राजतन्त्र फालेर प्रजातन्त्र स्थापना गर्ने आन्दोलनको श्रेय पनि अरु दललाई भन्दा बढी कांग्रेसले नै पाउँछ। माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्ने, दोस्रो शाहीकाल हटाउने र नेपाललाई संघीय लोकतान्त्रिक मुलुक घोषणा गरी २०७२ को संविधान जारीसम्म भएका सबै काममा मुख्य भूमिका कांग्रेसकै थियो।
तर, यी ऐतिहासिक योगदानले मात्र कांग्रेसलाई वर्तमान चुनौतीबाट पार लगाउन सक्दैन। २००७ देखि २०१७, २०४६ देखि २०५८, र २०६५ देखि २०८२ भदौ २४ सम्म केही समयबाहेक कांग्रेस प्रायः सत्तावरिपरि रह्यो। यसबेला नेतृत्व विवाद, आन्तरिक गुटबन्दी, स्वार्थपरायणता र पारदर्शिताको अभावले कांग्रेस पार्टीलाई कमजोर बनायो।
भदौ २३ को जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमले मुलुकलाई पुनः संक्रमणतर्फ धकेलेको छ। संविधानको प्रभावकारिता प्रश्नको घेरामा परेको छ, जननिर्वाचित संस्थाहरू विघटनको पीडामा छन् र अन्तरिम सरकार मार्फत घोषित निर्वाचनको काउन्टडाउन चलिरहेको छ। यस्तो अवस्थामा कांग्रेसमा नजर किन पुगेको हो? कारण स्पष्ट छ, इतिहासमा राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गरेको मुख्य लोकतान्त्रिक दलका रूपमा जनता अपेक्षित मार्गदर्शन खोजिरहेका छन्। तर विगत केही वर्ष कांग्रेस आफ्नै आन्तरिक अलमल, विशेष महाधिवेशनपछिको मौनता र निर्णय क्षमताको अभावले घेरिएको देखियो।
यही पृष्ठभूमिमा उठेको मुख्य प्रश्न हो— के कांग्रेस साँच्चै बदलिँदैछ, कि पुरानै अवसरवादी अभ्यासलाई दोहोर्याइँदैछ?
कांग्रेसको पुरानो अभ्यास नेतृत्व केन्द्रित, गुटमुखी र व्यक्तिवादी थियो। शेरबहादुर देउवा नेतृत्वमा गठबन्धनको नाममा सत्ता साझा गर्ने, निर्णय ढिलो गर्ने र बहुमतको नाममा आलटाल गर्ने प्रवृत्ति देखियो। यसले चुनावी परिणाममा मात्र असर गरेन, कांग्रेसको विश्वसनीयतामा पनि प्रश्न उठायो। भातृ संस्थाहरूको लामो समयसम्म अधिवेशन हुन सकेनन्। नेतृत्वले इच्छा अनुरूप मनोनयन गरेका भातृसंस्थाहरूले संगठन विस्तारभन्दा नेतृत्वको गुणगानले संगठन ध्वस्त भएको थियो। कार्यकर्ताको कामको मूल्याङ्कन कहिल्यै हुन सकेन। समयमा कहिल्यै पार्टी तथा भातृ संस्थाका महाधिवेशन हुन सकेनन्। महाधिवेशनको माग गर्दै धर्ना, अनशन बस्नुपर्ने अवस्थाले पार्टी तथा नेतृत्वलाई गम्भीर क्षति गरिरहेको थियो।
विधि पद्धतिभन्दा बाहिर घात–अन्तर्घातले पार्टीलाई थिलथिलो बनाएको थियो। आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न नपाउँदा कार्यकर्ता चिन्तित थिए। तर अहिलेको बदलिएको कांग्रेसमा परिवर्तनको स्पष्ट संकेत देखिन्छ।
विशेष महाधिवेशनले नेतृत्व रूपान्तरणको बाटो खोल्यो। विधान संशोधनमार्फत कार्यकर्ताले उम्मेदवार छान्न सक्ने, दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने, मन्त्री र सांसदको कार्यकाल सीमित गर्नेजस्ता सुधार सुनिश्चित गरिएको छ। यसले नयाँलाई अवसर, युवा–युवतीको प्रवेश र संरचनागत पारदर्शिता सुनिश्चित गर्न सक्छ।
अतः नियमित महाधिवेशन र विशेष महाधिवेशनको समयमा फरक विचार राखे पनि निर्वाचनको यो अन्तिम घडीमा सबै तहका जिम्मेवारीमा रहेका कांग्रेसका नेता–कार्यकर्ताले पार्टीका उम्मेदवारलाई मत माग्न गाउँगाउँमा गई पार्टीको एजेन्डालाई स्थापित गर्नुपर्छ। साथै, राष्ट्रि«य एकता र मेलमिलापको नीति अवलम्बन गदै ऐतिहासिक रूपमा देशको जिम्मेवारी लिनु पर्ने देखिन्छ।
विशेष महाधिवेशन मार्फत कांग्रेसले सभापतिमा गगन थापालाई निर्विरोध निर्वाचित गरेको छ। बदलियो कांग्रेस, बदल्छौँ देश भन्ने नाराका साथ विशेष महाधिवेशनले पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्ने दायित्व युवा नेतृत्वको काँधमा सुम्पेको छ। पार्टी सभापति निर्वाचित भएसँगै थापाले भनेका छन्, ‘राजनीति बिग्रेको मान्छेको कुकर्मले मात्र हैन, असल मान्छेको मौनताले पनि हो। हामीले यही मौनतालाई तोड्न विद्रोह गरेका हौँ।’
महामन्त्री विश्वप्रकाश शर्माले पनि नेतृत्व र जिम्मेवारी पारदर्शी बनाउने, पार्टीभित्र विवादित पृष्ठभूमि भएका अनियमितता, भ्रष्टाचार आरोप खेपेका नेता कार्यकर्ताहरूलाई जिम्मेवारीबाट वञ्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा १०२ जना (नयाँ अनुहार) उम्मेदवारलाई टिकट दिएर पार्टीलाई रूपान्तरण र पुस्तान्तरण को प्रारम्भ गरेको छ भने थुप्रै विवादास्पद नेताहरूलाई टिकटबाट बाहिर राखेको छ। यसले पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने अभ्यासको प्रारम्भ गरिसकेको छ।
पूर्व नेतृत्वको आलटाल, गठबन्धन र निर्णय–असफलताले कांग्रेसको दीर्घकालीन विश्वसनीयतामा गम्भीर प्रश्न चिन्ह उठाएको थियो। तर अहिलेको नयाँ नेतृत्वले गठबन्धन अनुभवलाई पाठको रूपमा लिई निर्णय क्षमतामा सुधार, युवामैत्री नीति र कार्यकर्तामूलक दृष्टिकोण लागू गर्ने प्रयास सुरु गरेको छ। यसले पार्टीलाई पुनः राष्ट्रि«य स्तरको मार्गदर्शक शक्ति बन्ने सम्भावना छ।
भदौ २३ को जेनजी आन्दोलनले देखाएको सन्देश स्पष्ट थियो– युवापुस्ता न त परम्परागत नारा सुन्न चाहन्छ, न इतिहासको दोहोरिएको व्याख्या। उनीहरू अवसर, पारदर्शिता, जवाफदेहिता, सम्मान र निर्णय प्रक्रियामा सहभागिता खोजिरहेका थिए। कांग्रेसले अब यो समूहका युवाहरूकोे आवाज सुन्न र उनीहरूलाई नीतिगत निर्णयमा सहभागी सहयात्री बनाउन आवश्यक छ। यदि सुन्न सकेन भने भविष्यको राजनीति गुमाउने जोखिममा कांग्रेस पर्नसक्छ।
निर्वाचनअघि नै कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गर्नु एक ऐतिहासिक निर्णय हो। यसले नेतृत्व स्पष्टता र रणनीतिक दृष्टिकोण दुवैलाई बलियो बनाएको छ।
कांग्रेस नेतृत्वमा बनेका अघिल्ला सरकारहरूले केही सकारात्मक पहल गरे पनि दीर्घकालीन सुधार दिन असफल रहे। शिक्षा र स्वास्थ्यमा निजीकरणलाई नियमन गर्न नसक्नु, बेरोजगारी न्यूनीकरणका ठोस कार्यक्रम नल्याउनु, संघीयताको कार्यान्वयनमा पूर्ण सफलता हासिल गर्न नसक्नु र भ्रष्टाचारका ठूला काण्डहरूमा अस्पष्ट भूमिका निर्वाह गर्नु कांग्रेस सरकारका प्रमुख कमजोरी थिए। विशेषगरी सुशासन, पारदर्शिता, जवाफदेहिताका सवालमा कांग्रेसले अरूभन्दा फरक देखिने अवसर गुमायो।
आजको कांग्रेस आन्तरिक सुधारको प्रक्रियामा मात्र छैन, यो राष्ट्रिय संकटमा मार्गदर्शक शक्ति बन्ने ऐतिहासिक मोडमा पनि उभिएको छ। नेतृत्व रूपान्तरण, विधान सुधार, टिकट वितरणमा पारदर्शिता, युवा र नागरिकको अपेक्षा बुझ्ने क्षमता र विगतका गल्ती कमजोरीबाट सिक्ने साहस र अभ्यासलाई व्यवहारमा उतारे मात्रै कांग्रेस साँच्चै ‘नयाँࡆ’ हुनेछ। अब कांग्रेससँग बहानाको समय छैन। अबको परीक्षा नारा होइन, नीति र अभ्यास हो। कांग्रेस सुध्रिएर सत्तामा जान तयार छ कि छैन? इतिहासले यही प्रश्नको उत्तर खोजिरहेको छ।
Shares

प्रतिक्रिया