भारतीय पत्रकारिता नेपाली पत्रकारिताभन्दा निकै जेठो हो। नेपालमा गोरखापत्रले सय वर्षको यात्रा गर्दा भारतमा पाँचवटा पत्रिकाले सय वर्ष पूरा गरिसकेका थिए। अहिले पनि प्रौढ भारतीय पत्रकारका लेखाइ र बोलाइ जिम्मेवारपूर्ण हुन्छ।
तर पछिल्लो समय असारे च्याउसरी खुलेका भारतीय मिडिया र त्यहाँ काम गर्ने व्यक्तिका प्रस्तुति हेर्दा भारतीय पत्रकारिताको अनुहारमा कलंक पोतिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छत्रछायामा जन्मिएका पत्रकार अर्नब गोस्वामी प्रवृत्तिलाई अलजजिरा तथा बीबीसीले गोस्वामीको ‘गो’ र मोदीको ‘दी’ मिसाएर ‘गोदी’ पत्रकारिता नामकरण गरिसकेका छन्।
पत्रकारितामा एबीसीको कुरा त कहाँ हो कहाँ? कुनै आधार नभएका अत्यन्त झुटा कुरालाई पनि भारतीय पत्रकारिताले ठाउँ दिने गरेका प्रशस्त उदाहरण छन्। एक ठाउँको दृश्य देखाएर अर्को कुनै ठाउँको भनी व्याख्या गर्ने फिल्मी शैली भारतीय टेलिभिजनका लागि सामान्य बनिसक्यो। कुनै सुरक्षाकर्मीले तालिम लिँदै गरेको फोटो राखेर आतंकवादी भन्नु उनीहरूका लागि कुनै आइतबार कुरिरहनु पर्दैन।
पहिले पाकिस्तान र चीनविरुद्ध विष वमन गर्ने भारतीय पत्रकारिता अब नेपालतिर सोझिएको छ। केही महिनाअगाडि भारतका केही टेलिभिजन च्यानलले नेपाल र भारतबीचको सीमा विवादबारे जबर्जस्ती चीनमाथि दोष थोपर्ने काम गरे र अत्यन्त घिनलाग्दो वकालत गरे।
नेपालका लागि वर्तमान चिनियाँ राजदूत हौ यान्छीले तीन दशकअगाडि पेकिङ विश्वविद्यालयमा उर्दू भाषा अध्ययन गरेकी थिइन्। उनी उर्दू भाषामा लेख्न र बोल्न अब्बल छिन्। उर्दू भाषा बुझ्ने व्यक्तिले हिन्दी भाषा पनि बुझ्न सक्छ। भारतीय सञ्चारमाध्यमले नेपालविरुद्ध प्रसारण गरेका एउटा कपोलकल्पित टेलिभिजन सामग्रीमा नेपालका लागि चिनियाँ राजदूतको पनि नाम राखिएकाले त्यसबारे उनलाई राम्रो जानकारी हुनुपर्छ।
सामान्यतः चिनियाँहरू ओंठे जवाफ फर्काउँदैनन्। कामबाटै जवाफ दिने उनीहरूको प्रचलन छ। छुद्र र गैरजिम्मेवार भारतीय सञ्चारमाध्यमका अभिव्यक्तिलाई चिनियाँहरूको भद्र टिप्पणी हुने गर्छ- टाट पल्टिएको मानसिकता अर्थात् बौद्धिक दरिद्रता।
भारतीयहरूको मानसिकता निकै पूर्वाग्रही हुन्छ। उनीहरू जेसुकै कुरालाई पनि आफ्ना पक्षमा तान्न खोज्छन्। जान्दै नजानेका विषयमा पनि जबर्जस्ती सर्वज्ञानी बन्न खोज्छन्। भारतीय विकृत मानसिकतालाई म आफैंले भोगेका केही अनुभव यहाँ सुनाउन चाहन्छु।
सन् २००० तिरको कुरा हो। काठमाडौंमा आयोजित एक गोष्ठीमा विभिन्न देशका सहभागी थिए। यस अवसरमा नेपालको आकर्षणबारे प्रस्तुति दिँदा मैले ८ हजार मिटरभन्दा बढी उचाइका ८ चुचुरा नेपालमा रहेको जानकारी दिएँ। गोष्ठीमा जापान, कोरिया, फ्रान्स, बेलायत, जर्मनी, नेदरल्यान्ड र अस्ट्रेलियाबाट आएका स्वयंसेवक सहभागी थिए। भारतबाट आएका एक संस्थाका प्रमुखले कञ्चनजंघा भारतमा पर्छ भनेर बखेडा झिके।
कञ्चनजंघा नेपालमा पर्ने बताउँदै तथ्यगत रूपमा परीक्षण गरेर मात्र बोल्न भारतीय मित्रलाई सुझाएपछि उनले निकै होहल्ला गरे। त्यतिबेला अहिलेजस्तो हातहातमा स्मार्टफोन र गुगल थिएन। तर विदेशीका हातहातमा लन्ली प्लानेट किताब हुन्थे। उनीहरूले त्यही किताबमा भेटे अथवा कुन स्रोतबाट थाहा पाए कुन्नि, कञ्चनजंघा नेपालमै पर्छ भन्ने कुराको सशक्त समर्थन गर्दै भारतीय मित्रलाई चुप लाग्न बाध्य बनाए।
लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भनेर नेपालले नक्सा जारी गरेपछि त्यसको तरंग नेपाल र भारतमा मात्र नभएर दक्षिण एसियामै परेको छ। चीनको पत्रिका ग्लोबल टाइम्सले भारतीय सीमा अतिक्रमणको विरोध गर्दै नक्सा जारी गर्ने राष्ट्रमा नेपाल दक्षिण एसियाकै पहिलो भन्दै टिप्पणी प्रकाशन गरेको थियो। भारतको सीमा विवाद सबै राष्ट्रसँग छ। भारतीय अतिक्रमणमा परेको भूमि समेटेर नेपालले नक्सा निकालेपछि पाकिस्तानले पनि आफ्नो राजनीतिक नक्सा प्रकाशन गरेको छ।
नेपालले नक्सा जारी गरेपछि भारतीय सेना प्रमुखले गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गरेका थिए। सोही विषयमा सीआरआई हिन्दी सेवामा कार्यरत भारतीय पत्रकार पंकज श्रीवास्तवसँग चर्काचर्की पर्यो। सोही समयमा श्रीलंकाली पत्रकारले निकै मार्मिक अभिव्यक्ति दिए। उनले भने, ’हाम्रो छिमेकी मुलुक भारत दक्षिण एसियाको क्यान्सर हो।’
सन् २०१९ को जुन महिनामा ‘तिब्बतको विकास मञ्च २०१९’ मा सहभागी भएर ल्हासा गएको थिएँ। नेपालबाट साथीहरू रूपक सापकोटा, राजीव झा र पत्रकार एकनाथ पाठक पनि थिए। विश्वका विभिन्न देशबाट ७० जना सहभागी थियौं। दक्षिण एसियाका विभिन्न मुलुकबाट सहभागी थिए।
जुन १२ तारिख बुधबार अपराह्नतिर भारत, श्रीलंका, बंगलादेशका विज्ञसँग नेपाली साथीहरू गफ गर्दै रहेछन्। कुराकानीमा म पनि मिसिन पुगें। प्रसंग उठ्यो– नेपालका हिमाल आरोहण र ‘शेर्पा’ पेसा बारेमा। एकजना व्यक्ति शेर्पाको बारेमा गफ हाँकिरहेका थिए। उनले घाँटीमा झुन्ड्याएको कार्डमा नाम थियो– राजिव रञ्जन। सबैले परिचयपत्रलाई घाँटीमा झुन्ड्याएका थिए। कसैको पनि परिचयपत्रमा राष्ट्रियता खुलाइएको थिएन। बोलीचाली र रूपका आधारमा उनी श्रीलंकाका हुन् भन्ने मैले अनुमान गरें।
कुराकानी क्रममा उनले भने, ‘हिमाल चढ्दाचढ्दै एउटा जातिको नामै शेर्पा रहन गयो।’ उनी समाजशास्त्रका तर्क दिँदै थिए। मैले थाहा पाएअनुसार हिमाल चढेर शेर्पा थर रहन गएको होइन, बरु शेर्पाले हिमाल आरोहीलाई सहयोग गरेकाले हिमाल आरोहणका लागि सहयोग गर्ने पथप्रदर्शकलाई शेर्पा भनिएको हो। उनको भनाइलाई नम्र र शालिन ढंगले प्रतिवाद गर्दै भनें, ‘हिमाल आरोहणको इतिहास दुई वर्ष वर्ष पनि पुगेको छैन। तर शेर्पाहरू हजारौं वर्षदेखि नेपालमा बसोबास गरिहेका छन्। उनीहरू हिमाली क्षेत्रमै बसोबास गर्ने हुनाले उच्च अक्षांशमा पनि सजिलै घुलमिल हुन सक्छन्।
अधिकांश हिमाल आरोही शेर्पा नै छन् र आरोहीलाई सहयोग गर्नेमा पनि शेर्पा नै अग्रपंक्तिमा छन्। हिजोआज शेर्पाबाहेक अन्य जातिका व्यक्तिले पनि त्यस्तो काम गर्न सक्छन्। त्यही भएर युरोप तथा अमेरिकाका आरोहीले जोसुकै सहयोगी भए पनि शेर्पा भन्न थालेका हुन्। फलतः एउटा जाति नै पेसा बन्न पुग्यो।’
अरूले त मेरो कुरामा सहमति जनाए, तर रञ्जनले कडा स्वरमा प्रतिवाद गर्दै भने, ’एकदमै गलत भनाइ। मैले यसबारेको संस्कृति र इतिहासको गहन अध्ययन गरेको छु। शेर्पा पहिले पेसा हो अनि मात्र जाति। मलाई नेपालबारे थुप्रै जानकारी छ।’ यति भनेपछि उनले मेरो घाँटीमा झुन्डिएको कार्ड हेरेर भने, ‘तिम्रो थर आचार्य रहेछ। आचार्य पनि पहिले पेसा हो र पछि थर।’
आचार्यबारे उनले ठीकै भनेका थिए, तर शेर्पाका विषयमा त उनले सफेद झुट बोले। पेसाबाट थर बनेका नेपालमा थुप्रै उदाहरण छन्। जस्तो ः ताम्राकार, शिल्पकार, व्यञ्जनकार, कुमाल आदि। तर, शेर्पा त होइन। उनको अर्को कुरा अझै अचम्मको थियो। उनले भने, ‘नेपालमा त कोइराला पनि छन्। कोइराला पनि पहिले पेसा हो छि थर भएको।’
‘कोइराला के पेसा हो र महोदय,’ मैले सोधें। उनले स्पष्ट बताएनन्, तर फेरि गफ लगाए ‘नेपालका सबै थरहरू पेसाबाट आएका हुन्। यो कुराको म ठोकुवा गर्छु।’
हैन, नेपालबारे पुराण भन्ने यो व्यक्ति कसरी श्रीलंकन भए हँ? स्पष्ट हुन चाहें। उनी त भारतीय पो रहेछन्। चीनको साङहाईको एक विश्वविद्यालयमा काम गर्ने प्रोफेसर हुँ भन्दै फेरि गफ लगाए। अब मेरो पारो चढ्यो। मैले तुरुन्तै सोधें, ‘तिम्रो नाम रा्जीव रञ्जन रहेछ। यो रञ्जनचाहिँ के पेसाबाट आएको हो नि?’
उनी केहीबेर अकमकिए, अनि गोलमटोल जवाफ दिए। मैले मौका यही हो भनेर भनिदिएँ, ‘नेपाली भाषामा त रञ्जनको अर्थ नराम्रो पो हुन्छ।’ मलाई त्यति मात्र भन्ने मन थियो, तर उनले के हुन्छ भन्दै अर्थ भन्न कर गरे। नराम्रो हुन्छ त भनें, तर के भन्ने के भन्ने भयो। उनका कुराले मलाई मात्र होइन, अरूलाई पनि ‘इरिटेट’ गराइसकेको थियो। १५–२० जना भएको ठाउँमा मैले प्वाक्कै भनिदिएँ, ‘रञ्जन भनेको जिगोलो अर्थात् पुरुष वेश्या।’ उनको अनुहार कालो नीलो भयो। वास्तवमा मैले गलत भनेको थिएँ। भुइँफुट्टा गफ लगाएकाले उनलाई मेरो जवाफ थियो, त्यो।
त्यही दिन साँझ तिब्बत सरकारले हामीलाई रात्रिभोज दिने कार्यक्रम थियो। सबै सहभागीले औपचारिक पोसाक लगाएर होटलको सभाकक्षमा जानुपर्ने उर्दीअनुसार म पनि सुट लगाएर जाँदै थिएँ। रञ्जन त मेरो बाटो ढुकेर बसेका रहेछन्। उनले आक्रोशित मुद्रामा भने, ‘रञ्जन भनेको पुरुष वेश्या हो भनेर किन गलत अर्थ लगाइस्? मैले अरू नेपालीलाई सोधें, त्यस्तो हैन रे। त्यत्रा विदेशीका बीचमा मेरो थरको किन बेइज्जत गरिस्?’ पूरै पाखुरा सुर्किएर कुटुँलाझैं गर्दै थिए। उनले एकनाथ पाठकलाई सोधेछन्। पाठकजीले पनि हैन, त्यस्तो कहाँ हुनु भनेर भनेपछि उनी रिसाएका रहेछन्। मैले फेरि उनलाई सोधें, ‘तिम्रो थर रञ्जनको अर्थ के हो त?’ उनले केहीबेर सोचेर भने, ‘रञ्जन भनेको मनोरञ्जन हो। रमाइलो गर्ने पेसाबाट रञ्जन बनेको।’
मेरो दिमागमा झिलिक्क बत्ती बल्यो। उनलाई तुरुन्तै जवाफ दिएँ, ‘भारतमा कसैको बच्चा जन्मिँदा, न्वारान अथवा पास्नीसँगै विवाह भोज तथा अन्य शुभ कार्यमा शुल्क लिएर मनोरञ्जन गराउने व्यक्तिहरूलाई के भनिन्छ?’ उनले तुरुन्तै भने, ‘हिजडा।’ मैले उनको अनुहार हेरेर हाँस्दै भने, ‘अब थाहा भयो आफ्नो थरको अर्थ?’ उनी थप कालोनिलो भए र आफ्नो बाटो लागे।
मैले अँध्यारामा झटारो मात्र हानेको थिएँ। कसैको नाम अथवा थरलाई बदनाम गराउने मेरो उद्देश्य थिएन र अहिले पनि छैन। यदि कसैलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष असर परेको भए म माफी चाहन्छु। तर कुरा भारतीय मानसिकताको हो। अर्कालाई चोर औंला तेस्र्याउँदा बाँकी चार औंला आफैंतिर फर्किएका हुन्छन् भन्ने कुरा उनीहरूले बुझ्न आवश्यक छ।
(आचार्य, बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)
Shares

प्रतिक्रिया