‘आमा लाहा किन्छा? जिम्मू लिन्छा? पीठो देना। चामल देना तिमलाई मो ऊनीको ज्याकेट दिन्छा।’
कुनै समय नेपालको उत्तरी क्षेत्रका गाउँमा तिब्बतीहरू सामानका पोका बोकेर खाद्यान्न बटुल्न जान्थे भन्ने कुरा अहिले जीवितै रहेका पहिलो पुस्ताका नेपालीले फरर्र सुनाउँछन्।
लामो लामो जगटा पालेका कहिल्यै नधोएको बख्खु लगाउने त्यस्ता बेपारीलाई गाउँलेहरू ‘फ्याप्ले भोटे’ भन्थे। तिब्बतलाई नेपालीहरूले ‘भोट’ भन्ने गरेकाले तिब्बती जातिलाई ‘भोटे’ भनिएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’मा पनि यही शब्द प्रयोग भएको छ।
तिब्बत चीनको छिङ हाई-तिब्बत पठारभूमिमा पर्छ। त्यहाँ निकै जाडो र अक्सिजन कम हुने गर्छ। वर्षा पनि कम हुन्छ। त्यसैले लामो समयदेखि तिब्बतको कृषि उत्पादन पिछडिएको थियो। परम्परागत खेती प्रणाली अपनाइएकाले कृषि उत्पादन बढ्न सकेको थिएन। तिब्बतमा अन्नबाली उत्पादन अत्यन्त न्यून हुने भएकाले ३ दसक अगाडिसम्म नेपालले तिब्बतमा खाद्यान्न निर्यात गर्थ्याे। नेपालका ग्रामीण क्षेत्रमा पुग्ने तिब्बतीहरू नेपालीसँग वस्तु विनिमय गरी गुजारा चलाउँथे।
तिब्बतबाट राडीपाखी, जडीबुटी, लाहा, सुन, चौँरी र च्याङ्ग्राको सुकुटी तथा नुन लिएर नेपालका गाउँमा घुम्थे। ती सामानसँग उनीहरू मकै, कोदो, धान, पीठोजस्ता खाद्यान्न साट्थे। वर्षाैंदेखि चलेको वस्तु विनिमयको यो व्यापार आज नगदमा परिणत भएको छ। नेपालबाट खाद्यान्न आयात गर्ने तिब्बत अहिले नेपाललाई नै खाद्यान्न आपूर्ति गर्ने अवस्थामा पुगेको छ। आखिर कसरी गर्न सक्यो तिब्बतले कृषिमा यस्तो चमत्कार? यससम्बन्धी केही प्रसंग उल्लेख गर्न मनासिव होला।
सन् २००६ सेप्टेम्बरमा नेपाली पत्रकारको प्रतिनिधिमण्डल तिब्बत भ्रमणमा गएको थियो। कान्तिपुर टेलिभिजनका भूषण दाहाल, नवीन पाण्डे, उज्जल प्रजापति, स्पोटलाइटका केशव पौडेल, राइजिङ नेपालका अरुण रञ्जित, जनआस्थाका विश्वमणि सुवेदी र यो स्तम्भकार गरी ७ पत्रकारको टोली सेप्टेम्बर १८ तारिख सोमबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा रात्रिभोजका लागि गएको थियो। त्यतिबेला ल्हासाका लागि महावाणिज्यदूत लीलामणि पौड्याल थिए।
खाना खाँदै गर्दा पौड्यालले भने, ‘यो तिब्बती धानको भात हो। यहाँ धान पाक्न १० महिना लाग्छ। कात्तिकमा छरेको जौ हिउँमा पुरिएर फागुन गएपछि मात्र उम्रिन्छ। यस्ता खाद्यान्नले धेरै अक्सिजन शोषण गर्ने हुनाले स्वास्थ्यका लागि उत्कृष्ट हुन्छन्।’

कठिन भूगोल र प्रतिकूल हावापानीमा पनि तिब्बत खाद्यान्नमा आत्मनिर्भर भएको लीलामणि पौड्यालले सुनाउँदा ५०/६० वर्षअगाडि गाउँमा वस्तु विनिमय गर्न आउने तिब्बती झल्को मस्तिष्कमा नाचिरहेको थियो। सन् २०१९ मा दोहोर्याएर तिब्बत भ्रमण गर्ने मौका पाउँदा तिब्बती कृषिसम्बन्धी धेरै जानकारी पाइयो।
चीनको स्वायत्त प्रदेश तिब्बतको कृषि तथा ग्रामीण क्षेत्र विभागले जनाएअनुसार सन् २०२० मा तिब्बतको अन्नबालीको उत्पादन मात्रा १० लाख ३० हजार टन पुगेको छ। तिब्बतमा लगातार ६ वर्षदेखि १० लाख टनभन्दा बढी अन्न उत्पादन भइरहेको छ। चीनको तेह्रौं पञ्चवर्षीय योजना (सन् २०१५–२०२०) अवधिमा तिब्बतमा अन्नबालीको उत्पादन मात्रा ५२ लाख १९ हजार ९ सय टन पुगेको छ। सन् २०२० मा तिब्बतको मुख्य अन्नबालीको रूपमा रहेको जौको उत्पादन मात्रा ८ लाख ३० हजार टन पुगेको छ। पाँच वर्षअगाडि तेह्रौँ पञ्चवर्षीय योजना सुरु हुँदा सन् २०१५ मा तिब्बतमा ७ लाख ८ हजार ५ सय टन जौ उत्पादन भएको थियो। जौ तिब्बतको मुख्य अन्नबाली हो र तिब्बती संस्कृतिसँग यसको अन्योन्यास्रित सम्बन्ध छ।
तिब्बत पठार मरुभूमि हो। समुद्र सतहबाट धेरै उचाइमा भएकाले त्यहाँ अक्सिजन निकै कम हुन्छ। तिब्बतको दक्षिणतिर लामबद्ध हिमालले हिन्द महासागरबाट आएको वाष्पयुक्त हावा रोक्ने हुनाले तिब्बतमा कम वर्षा हुन्छ। तसर्थ तिब्बतका अधिकांश भूभाग पठार मरुभूमिका रूपमा छ। वर्षा हुने ठाउँ पनि उचाइमा पर्ने भएकाले आधा वर्ष हिउँले ढाकिन्छ। यस्तो कठिन भूगोलमा बस्ने तिब्बतीको परम्परागत पेसा भने कृषि र पशुपालन नै हो। तिब्बतीहरू जौ खेती गर्छन् भने चौंरी र च्यांग्रा पालन गर्छन्।

तिब्बतमा सबैभन्दा लोकप्रिय अन्नबाली जौलाई मानिन्छ। खाद्यान्नका रूपमा मात्र नभई तिब्बती संस्कृतिमा पनि जौ निकै महत्वपूर्ण छ। जौलाई तिब्बतीहरू चम्पा भन्छन् र यसको सातु उनीहरू हरेकका घरमा पाइन्छ। तिब्बतको पठारभूमिमा जौ खेतीको लामो इतिहास छ। केही वर्षदेखि तिब्बतले जौको नयाँ प्रजाति विकास गर्दै उच्च मापदण्डको खेतीयोग्य जमीन निर्माण सुरु गरेको छ। खासगरी तेह्रौं पञ्चवर्षीय योजना अवधिमा तिब्बतले धेरै लगानी गरेर जौको नयाँ प्रजाति विकास गर्दै जौलाई श्रेष्ठ र विशेष व्यवसायका रूपमा विकास गरेको हो। तिब्बत प्रान्तीय सरकारले किसानलाई फाइदा हुने गरी विभिन्न नीति कार्यान्वयन गरी अन्नबालीको उत्कृष्ट बीउ वितरण गरिरहेको छ। जौ उत्पादनलाई प्रोत्साहन गरिएकाले तिब्बतीहरूलाई फाइदा भएको छ भने जौको संरक्षण पनि गरिएको छ।
तिब्बतमा हालसम्म चीनको कृषि तथा ग्रामीण क्षेत्र मन्त्रालयले प्रमाणित गरेको जौ भौगोलिक विशेष उत्पादन र हरित खाद्यपदार्थको संख्या ७ पुगेको छ। तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन प्रतिष्ठानले हालसम्म जौको ४ कोटीका ८० किसिमलाई प्रशोधन गरी अनुसन्धान तथा विकास गरिसकेको छ। जौको प्रधानता रहेको कृषि उपजको प्रशोधनले किसान तथा पशुपालकको आम्दानी बढाउनाका साथै गरिबी निवारणमा पनि मद्दत पुर्याएको छ।
यी कार्यले अहिले तिब्बतमा मुख्य खाद्यान्नमा आन्तरिक माग पूरा गरी आत्मनिर्भर भएको छ। आत्मनिर्भर मात्र होइन ‘विश्वको छानो’बाट उत्पादित जौको पीठो र बिस्कुटजस्ता खाद्य पर्दाथलाई विश्वभर चर्चित बनाएको छ।
तिब्बतमा जौ खाद्यान्न मात्र होइन, सांस्कृतिक द्योतक पनि हो। तिब्बती नयाँ वर्षमा हरेक परिवारले जौका बालाबाट बनाइएको सजावट अर्थात् ‘रोसामेडो’ घरघरमा सजाएका हुन्छन्। नयाँ वर्ष मनाउन यो एक प्रकारको सौभाग्यको प्रतीक हो। रोसामेडो तिब्बती नागरिकले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा समृद्धिको कामना गर्दा अति आवश्यक हुन्छ।

नयाँ वर्षमा तिब्बतीहरूले छेमा र कुथु नामका खाना खाने चलन छ। छेमा भनेको पोलेको जौ हो। जौलाई काठको आयताकार बाकसमा राखिन्छ। बाकसमा चन्द्रमा र ताराका चित्र कुँदिएका हुन्छन्। कचौरामा पानी र जौको दाना राखेर नयाँ वर्षमा एक/दुई इन्चको जमरा बनाइन्छ। प्रचुर फसल भित्र्याउन छेमा (पोलेको जौ) सँगै जमराको पूजा गरिन्छ। अनि नयाँ वर्षका दिन सौभाग्यका रूपमा शुभकामना आदानप्रदान गर्दै खाइन्छ।
नयाँ वर्ष सुरु हुने अघिल्लो दिन अर्थात् पुरानो वर्षको अन्तिम राति परिवारका सबै सदस्य एकै ठाउँमा भेला भई कुथु खाने चलन छ। यो जौको पीठो मुछेर त्यसमा च्यांग्रा अथवा भेडाको मासु हालेर बनाइएको हुन्छ। तिब्बती महिलाले जौको पीठोमा मासुसँगै अन्य विभिन्न पदार्थ राखेका हुन्छन्। खाँदा जसको भागमा जे पर्छ ऊ त्यस्तै हुने विश्वास गरिन्छ। उदाहरणका रूपमा कसैको भागमा ढुंगा पर्यो भने ऊ कठोर हुने मानिन्छ। ऊन परेमा कमजोर, कोइला परेमा कालो मन, सिक्का परेमा धनी बन्ने विश्वास छ। यो चलनलाई तिब्बतीहरूको नयाँ वर्ष मनाउने राति सबैभन्दा रमाइलो पारिवारिक संस्कृति मानिन्छ।
तिब्बती सांस्कृतिक चलनअनुसार सबैले करेसाबारीमा जौ खेती गर्छन्। पछिल्लो समय तिब्बतको ल्हासावरिपरिका धेरै गाउँबस्तीमा जौ खेती गर्न सहकारी गठन भएका छन्। ल्हासानजिकैको छुस्वी जिल्लाको नानमु बस्तीमा महिलाले मात्र सञ्चालन गरेको जौ उत्पादन सहकारी छ। सन् २०१९ मा सहकारीले २ हेक्टर क्षेत्रफलमा जौ खेती गरेर २ लाख ५० हजार चिनियाँ युआनभन्दा बढी आम्दानी गरेको छ। तिब्बतमा यस्ता विशेष व्यावसायिक सहकारीमा तिब्बती कार्पेट उत्पादन सहकारी, तिब्बती हस्तकला सहकारी, तिब्बती सजावट सहकारी आदि छन्।
सन् २०२० मा तिब्बती पशुपालक र किसानको औसत खर्चयोग्य आम्दानी १४ हजार ५ सय ९८ चिनियाँ युआन पुगेर १२.७ प्रतिशत बढेको छ। यो वृद्धि लगातार १८ वर्षसम्म कायम छ र निरन्तर ६ वर्षसम्म चीनका अन्य प्रान्तलाई उछिनेर पहिलो स्थानमा छ।
कुनै बेला नेपालका गाउँमा अन्न माग्न जाने तिब्बती अहिले चिल्ला गाडी चढ्छन्। सीमा क्षेत्रका नेपाली ग्रामीण क्षेत्रमा खाद्यान्न आपूर्ति गर्छन्। कसरी सम्भव भयो? अहिले चीनले तिब्बती जौ र चौंरीलाई भौतिक सम्पदाको सूचीमा राख्ने प्रयास गरिरहेको छ। सबै कुरा सरकारी नीतिमा निर्भर हुनेरहेछ। किसानका हितमा काम गरेपछि आखिर मागेर खानेहरू पनि दाता बन्ने रहेछन्।

प्रतिक्रिया