निर्माण


अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार गर्न पुनः सम्झौता

अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार गर्न पुनः सम्झौता

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १४:५४, काठमाडौँ

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई बढाउन पुनः प्रक्रिया थालिएको छ। 

यसका लागि नयाँ निर्माण कम्पनीसँग हालै मात्र सम्झौताकार्य सकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो। 

भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्म फराकिलो स्थानमा कालोपत्रे सक्ने र बाँकी अन्य बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिनेछ। यसअघि निर्माणमा ढिलासुस्ती गर्दा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ। 

भक्तपुरले चालु आर्थिक वर्षको सुरुवातसँगै पुनःविस्तार कार्य गर्न बोलपत्र आह्वान गरेको थियो। कार्यालयले पुरानो ठेक्का रद्द गरेको साडे चार महिनापछि साउनमा पुनः बोलपत्र आह्वान गरेको हो। चार किलोमिटर लामो उक्त सडकखण्ड अबको नयाँ निर्माण कम्पनीले समयमै सम्नेमा आशावादी भएको योगेशको भनाइ छ। 

उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरे लगत्तै निर्माण ब्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए। उक्त मुद्दा गत असार २५ गते खारेज भई अदालतको आदेशानुसार पुनःठेक्का खोल्ने प्रक्रिया अघि बढाइएको योगेशले बताए। उनका अनुसार त्यतिवेला कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको थियो।

अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछाप लगायतका जिल्लातर्फ जाने मुख्य सडकको रुपमा समेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुनुपरेको छ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो। हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको छ। 

जिपलाइन स्थानदेखि तल खावासम्मको करीब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ। २०८१ जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो। 

निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन। पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो। 

यसैबीच स्रोत सुनिश्चित भई पनि नयाँ ठेक्कामा गएपछि सडक पक्की गर्न केही महिना लाग्ने भएकोले सवारी साधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको कार्यालयले जनाएको छ। ‘अब नयाँ ठेक्काको प्रक्रिया अन्तिम चरणमा पुगेको छ, यही मंसिरदेखि सुरु हुने भएकाले सवारी सधान तथा यात्रुलाई सहजताका लागि समयसमयमा खाल्डाखुल्डी पुर्ने काम गर्दै आएका छौँ,’ योगेशले भने। 

सडक निर्माणको काम समयमा नसकिँदा पुननिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भइसकेको छन्। केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad