नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
आज (सोमबार) सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।
साधारणसभाले कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।
अध्यक्ष थापाले कोषले सञ्चालन गरेका विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९-८० मा २ खर्ब २ अर्ब ७ करोड सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब ८३ करोड पुगेको जानकारी दिए।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१-८२ को असोज मसान्तसम्म सङ्कलित रकम २ खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।
कोषले गत आर्थिक वर्ष २०८०-८१ मा २ अर्ब ७ करोड ६४ लाख कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाएर करपछिको खुद मुनाफा १ अर्ब १५ करोड ८७ लाख रहेको छ। उक्त खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको हो।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए।
‘कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ,’ कार्कीले भने, ‘साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ।’
कोषद्वारा सञ्चालित नागरिक स्टक डिलरको गतिविधि र नाफा अवस्थाबारे जानकारी गराउँदै कार्कीले यो वर्ष कोष नाफामै रहेको र कर्मचारी विनियमावलीको संशोधन प्रक्रिया पनि अघि बढेको बताए। त्यस्तै कोषको मधेस प्रदेशमा शाखा विस्तार गर्ने तयारी भइरहेको र आगामी दिनमा शाखा विस्तारले स्थानीयस्तरमा सेवा दिने विश्वास पनि उनले व्यक्त गरे।
‘कोषको लगानी रणनीति जोखिम विश्लेषणका आधारमा अघि बढाइएको छ। साइबर सुरक्षामा विशेष ध्यान दिँदै प्राविधिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने कार्य भइरहेको छ,’ कार्यकारी निर्देशक कार्कीले भने।
सरकारी वाणिज्य बैंकको तुलनामा कोषको ब्याजदर समानस्तरमा रहेको र सजिलै कर्जा उपलब्ध गराउन व्यवस्थापनले ध्यान दिएको उनको भनाइ थियो।
त्यस्तै कोषको करअघिको नाफा घटेको जस्तो देखिए पनि करपछिको नाफा मात्र घटेको स्पष्ट पार्दै उनले कोषको वित्तीय स्थायित्व सुनिश्चित रहेको दाबी गरे।
Shares

प्रतिक्रिया