नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले विद्युतीय सवारी साधन (ईभी) बारे अपुष्ट सूचना प्रकाशित गरेर अन्योल सिर्जना नगर्न आग्रह गरेको छ।
शनिबार नाइमाले प्रेस विज्ञप्ति जारी गरी ईभीको क्षमताबारे पछिल्लो समय भइरहेका टिप्पणीबारे ध्यानाकर्षण भएको जनाएको छ। यस विषयलाई नाइमाले सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई समेत जानकारी गराइसकेको उल्लेख गरेको छ।
अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा ईभी आयात भइरहेको नाइमाले जनाएको छ। विभिन्न देशमा फरकफरक क्षमताका ईभी उत्पादन हुने गरेको उल्लेख गर्दै नाइमाले भनेको छ, ‘केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा वाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकालिनु प्राविधिक रुपमा विश्वसनीय आधार मान्न सकिँदैन।’
ईभीबारे विष्लेषण गर्दा प्राविधिक विषय अध्ययन गर्नु आवश्यक रहेको जनाएको छ। ‘अपुष्ट सूचना वा फरकफरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने देखिछ,’ नाइमाले भनेको छ।
अहिले नेपालमा ईभीसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रुपमा कार्यान्वयन आइनसकेको नाइमाले स्मरण गराएको छ। ‘सरकारी निकायहरूबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया