खेल


विश्वकप हारे पनि मेस्सी किन महान्?

अर्जेन्टिना फुटबल संघले भन्यो: ‘तपाईंको आँसु हाम्रो आँसु हो कप्तान’
विश्वकप हारे पनि मेस्सी किन महान्?

नेपालखबर
साउन ४, २०८३ सोमबार १४:६, काठमाडौँ

‘तपाईंको आँसु हाम्रो आँसु हो कप्तान।

तपाईंले हामीलाई जीवनको सबैभन्दा ठुलो खुसी दिनुभएको छ। हरेक पल, हरेक जादुमय क्षण र अन्तिम सेकेन्डसम्म आफ्नो सबैथोक दिनुभएकामा धन्यवाद।

हामी सधैँ तपाईंमा गर्व गर्नेछौँ।

हामी सधैँ तपाईंलाई माया गर्नेछौँ लियो!’

अर्जेन्टिना फुटबल संघले फाइनलमा स्पेनसँग आफ्नो टोलीको हार र आफ्ना स्टार खेलाडी लियोनेल मेस्सीका भावुक तस्बिरपछि एक्समा उक्त पोस्ट गरेको छ।

यस्तो लाग्छ- लियोनेल मेस्सीले अर्जेन्टिनालाई जित्न मात्र होइन, हारमा पनि सम्मानका साथ रुन सिकाएका छन्।

चाहे त्यो कतार विश्वकप २०२२ जित्दा हर्षको आँसु होस् वा सोमबार न्यु जर्सीमा स्पेनसँग फाइनल हारेपछिको भावुक बिदाइ-दुवै क्षणमा मेस्सीले त्यस्तो उदाहरण प्रस्तुत गरे।

यस विश्वकपमा मेस्सीले फेरि एकपटक इतिहास रचे। यद्यपि उनले ट्रफी, व्यक्तिगत पुरस्कार वा अन्य कुनै सम्मान जितेनन्, तर उनको प्रदर्शन उत्कृष्ट थियो।

यो विश्वकपमा ३९ वर्षीय मेस्सीले कुल ८ गोल गरे, ४ असिस्ट दिए र ७ खेलमा अर्जेन्टिनाले गरेका १२ गोलमा प्रत्यक्ष योगदान गरे।

त्यति मात्र होइन, उनले अर्जेन्टिनालाई लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुर्‍याए। यो उनको सानदार करिअरको तेस्रो विश्वकप फाइनल पनि थियो।

विश्वकप फाइनलमा स्पेनसँग हारेपछि लियोनेल मेस्सीका आँखा आँसुले भरिए। र, उनको अन्तर्राष्ट्रिय करिअरमा अनिश्चितता पनि बढेको छ।

नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको मेटलाइफ स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई हारबाट बचाउन आवश्यक पर्ने जादुमय प्रदर्शन उनले गर्न सकेनन्।

अतिरिक्त समयको दोस्रो हाफको ३७ सेकेन्डमै फेरान टोरेसले गरेको गोल नै स्पेनका लागि अर्जेन्टिनालाई १-० ले हराउँदै दोस्रोपटक विश्वकपको उपाधि जित्न निर्णायक बन्यो।

यो हारसँगै मेस्सी र अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो। यदि अर्जेन्टिनाले यो खेल जितेको भए १९६२ मा विजयी ब्राजिलपछि लगातार दुईपटक विश्वकप जित्ने पहिलो टोली बन्ने थियो।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने, ‘मलाई आशा छ- सबैजना उनी र उनको उपलब्धिमा गर्व गर्नेछन्, किनकि मलाई विश्वास छ- उनी मैदानमा खेल्ने सबैभन्दा महान् फुटबलर हुन्।’

यो अर्जेन्टिनाको जर्सीमा लियोनेल मेस्सीको अन्तिम खेल हो कि होइन भनेर हेर्न बाँकी छ। मेस्सीले यसअघि नै २०२२ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए, तर उनी विश्वकप इतिहासमा ६ पटक विश्वकप खेल्ने पहिलो खेलाडी बने।

स्कालोनीले भने, ‘मैले मेस्सीसँग आठपटकको बालोन डी'ओर विजेता अर्जेन्टिनाका लागि खेल्न जारी राख्ने कि नराख्ने भन्ने विषयमा अहिलेसम्म कुरा गरेको छैन।’

मेस्सीका साथै अर्जेन्टिनाका अन्य खेलाडीले पनि मेटलाइफ स्टेडियमबाट बाहिर निस्कँदा पत्रकारहरूसँग कुरा गरेनन्।

कहिल्यै हार नमान्ने भावना

८० हजार ६६३ दर्शकले भरिएको रंगशालामा धेरैजसो फ्यान मेस्सीलाई दोस्रोपटक विश्व च्याम्पियन बनेको हेर्न चाहन्थे, तर त्यसो हुन सकेन। खेलपछि मेस्सीका आँखा भिजेका थिए। अनि उनको अनुहारमा गहिरो निराशा स्पष्ट रूपमा देखिन्थ्यो।

उनी आफ्ना टोलीका साथीहरूका साथ रंगशालाको दक्षिणी छेउमा भेला भएका अर्जेन्टिनाका फ्यानहरूको अभिभावद स्वीकार गरिरहेका थिए, जसले ताली बजाउँदै र सम्मानमा झुकेर प्रशंसा गरिरहेका थिए। त्यही बेला स्पेनका खेलाडीहरू भने मैदानको बिचमा रहेको स्टेजमा विश्वकप ट्रफी उठाएर विजय उत्सव मनाइरहेका थिए।

धेरैजसो महान् खेलाडीले सन्न्यास लिइसकेको उमेरमा पनि लियोनेल मेस्सी मैदानमा उत्रिँदा दर्शकहरू उभिएर ताली बजाउँछन्। मेटलाइफ स्टेडियममा उनले यस्तै सम्मान पाए। डिएगो म्याराडोनापछि अर्जेन्टिनाको प्रतिष्ठित १० नम्बर जर्सी लगाउने कुनै पनि खेलाडीले यस्तो सम्मान पाउनु एक समय असम्भव मानिन्थ्यो।

यस विश्वकपमा मेस्सीले फुटबल खेल्ने र बाँच्ने फरक तरिका पनि हुन सक्छ भनेर पनि प्रदर्शन गरे। उनले खेलमा जोस र भावना सँगसँगै संयमता पनि उत्तिकै महत्त्वपूर्ण छन भनेर प्रमाणित गरे। आफ्नो प्रदर्शनमार्फत मेस्सीले भावना नियन्त्रण गरेर पनि फुटबलमा महानता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिए।

अनि सबैभन्दा महत्त्वपूर्ण कुरा- उनको विश्वकप यात्राले एउटै सन्देश दिएको छ: कहिल्यै हार नमान्नुहोस्, कहिल्यै हार स्वीकार नगर्नुहोस्। यही जोस उनको सबैभन्दा ठुलो पहिचान हो अनि विरासत पनि।

मैदानमा राज गर्नु

यस विश्वकपमा अर्जेन्टिनाले तीनपटक पछाडि परिसकेको अवस्थाबाट पनि सानदार पुनरागमन गर्‍यो। केप भर्डेविरुद्ध, जसले दुई पटक बराबरी गर्‍यो; इजिप्टविरुद्ध, जसले दुई गोलको अग्रता लिएको थियो र इङ्गल्यान्डविरुद्ध, जहाँ ८४औँ मिनेटसम्म अर्जेन्टिना फाइनलको दौडबाट बाहिरिन्छजस्तो देखिन्थ्यो। तर यी सबै खेलमा अर्जेन्टिनी टोलीले पुनरागमन गर्‍यो- नआत्तीकन, नहडबडाईकन, धैर्य र बल नियन्त्रण गर्ने शक्तिको मद्दतमा। 

इङ्गल्यान्डविरुद्ध सेमिफाइनल जितेपछि मेस्सीले भनेका थिए, ‘यो सब जसरी भइरहेको छ, त्यो अविश्वसनीय छ। साँच्चै भन्नुपर्दा विश्वकप सुरु हुनुभन्दा पहिले मलाई यो टोलीमा पूर्ण विश्वास थियो। म विश्वस्त थिएँ कि हामी अन्तिम चारमा पुग्नेछौँ र उपाधिका लागि लड्नेछौँ। अब हामी फाइनलमा छौँ।’ 

मेस्सीले यो पाँच हप्ताको विश्वकपमा हासिल गरेका उपलब्धि र प्रदर्शनको स्तर यति असाधारण छ कि यस उमेरमा पनि यो उनको अन्तिम विश्वकप हो भनेर कमैले विश्वास गर्नेछन्।  

भलै, विश्वकप विजेता स्पेनका कप्तान रोड्रीले गोल्डेन बल जिते तर लियोनेल मेस्सीले जे हासिल गरे त्यो फुटबल इतिहासमा सधैँभरि अंकित रहनेछ।

किनभने विश्व फुटबलको शिखरमा यति लामो समयसम्म रहेर, यति निरन्तरता र बुद्धिमत्ताका साथ खेलेको र विश्वकपको सबैभन्दा ठुलो रंगमञ्चलाई आफ्नो घर बनाएको खेलाडी सायदै होलान्।

यो पनि : स्पेनसँग अर्जेन्टिना हार्नुका ५ प्रमुख कारण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad