कला


विजय निको भएपछि ‘सिन्दुरे जात्रा’ को छायांकन फेरि सुरु

विजय निको भएपछि ‘सिन्दुरे जात्रा’ को छायांकन फेरि सुरु

नेपालखबर
साउन ४, २०८३ सोमबार १४:१४, काठमाडौँ

फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन पुन: सुरु भएको छ। फिल्मका मुख्य कलाकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो ।

छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। चोट निको भएसँगै बाँकी छायांकन सुरु गरिएको निर्माण टिमले जनाएको छ।

गत जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो। १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि रोकिएको थियो।

दुई साताअघि सोही स्थानबाट छायांकन सुरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए। ‘हामीले दुई सातादेखि पुनः छायांकन सुरु गरेका छौँ। केही समय छायांकन रोकिए पनि हामी फेरि उही जोस र लगावका साथ काममा फर्किएका छौँ,’ उनले भने, ‘यो बीचमा हामीले थप कसरी राम्रोसँग सिनेमा खिच्ने भनेर तयारी गर्‍यौं। यो खाली समयलाई हामी सदुपयोग नै गरेका छौँ।’

‘सिन्दुरे जात्रा’ मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन्। यसअघि यो टिमले इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय र अञ्जनाका अलावा विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ। चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad