असार र साउन नेपाली फिल्म क्षेत्रका लागि त्यति अनुकुल समय मानिँदैन। एक त वर्षायामको समय, अर्कोतिर किसानलाई धान रोपाइको चटारो। जसले बर्खाका दुई महिनामा हलमा दर्शकको उपस्थिति उत्साहजनक हुँदैन। फिल्मको व्यापार पनि सुस्ताउँछ।
त्यसै कारण जोखिम मोल्न नचाहने निर्माता र वितरकले यो सिजनमा ठूला बजेटका फिल्म रिलिज गर्न आँट गर्दैनन्। यद्यपि, फाट्टफुट्ट साना र कलात्मक वा फरक कथाका फिल्महरू भने रिलिज हुन्छन्।
यसैबीच, साउन १ गतेदेखि ‘गौँथली’ प्रदर्शनमा आयो। अफसिजनमा पनि यस फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै बक्सअफिसमा सुखद ओपनिङ गरेको छ।
फिल्मले दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्म हेरेर दर्शक रुँदै हलबाट निस्किएको भिडिओ क्लिप यतिखेर सामाजिक सञ्जालमा छाएका छन्।
बलियो ‘वर्ड अफ माउथ’का कारण शनिबार र आइतबार फिल्मको हल अकुपेन्सी उच्च देखिएको छ। शुक्रबारको राम्रो प्रतिक्रिया र शनिबारको उच्च अग्रिम बुकिङलाई ध्यानमा राख्दै देशभरका हलले फिल्मको शो बढाएका छन्। शुक्रबारको तुलनामा शनिबार फिल्मले उल्लेखनीय रूपमा थप शो पाएको थियो।

फिल्मको व्यापार निकै उत्साहजनक रहेको निर्माता सुमन गिरीले जानकारी दिए। ‘बर्खायामले खासै फिल्मलाई फरक पारेको छैन। प्रदर्शनको दिनदेखि नै हाम्रो फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। तीन दिनमै झण्डै डेढ करोडको व्यापार भइसकेको छ,’ उनले भने।
निर्माता गिरीका अनुसार, पहिलो दिन फिल्मले ३५ लाख ओपनिङ गरेको थियो। त्यस्तै, शनिबार ७०-८० लाख कमाउँदा आइतबार भने ४२ लाखको व्यापार गरेको छ। सिंगल थिएटरहरू बक्सअफिसमा नआउँदा तथ्यांक तलमाथि हुनसक्ने उनले बताए।
सुरुआती दिनमै यति ठूलो सफलता पाउने अपेक्षा नगरेको उनको भनाइ छ। ‘हामीले मंगलबार वा बुधबारदेखि मात्रै फिल्मले पिकअप लिन्छ भन्ने सोचेका थियौं। तर, पहिलो दिनदेखि नै दर्शकको अपार साथ मिल्यो,’ उनले भने, ‘यो हाम्रो अपेक्षाभन्दा धेरै सुखद् सुरुआत हो। सोमबार पनि हलमा दर्शकको राम्रै उपस्थिति छ।’
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार, पनि फिल्मले झण्डै डेढ करोड कलेक्सन गरेको छ। बोर्डको सोमबार ३ बजेसम्मको तथ्यांकअनुसार ‘गौँथली’ले एक करोड ४८ लाख २७ हजार ७१९ रुपैयाँ ग्रस कलेक्सन गरेको देखिन्छ। जुन पछिल्लो दुई महिनायताकै सुखद व्यापार हो।
स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘लालीबजार’ पछि कुनै पनि नेपाली फिल्मले राम्रो कमाइ गर्न सकेका छैनन्। वैशाख २५ गतेबाट रिलिज भएको ‘लालीबजार’ ले झण्डै १० करोड ग्रस कलेक्सन गर्दा ‘मालती मंगले’, ‘गुरुआमा’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ ‘मितज्यू’, ‘काजी’, ‘रोल नं. १’ ‘कुम्भ’, ‘आईएम जितबहादुर’, ‘जाँड’, ‘हली’ र ‘भागदौड’ सहित कुनै फिल्मले बक्सअफिसमा कमाल गर्न सकेनन्।
बक्सअफिस रिपोर्ट हेर्दा बर्खायाममा रिलिज भएको ‘गौँथली’ ले फस्ट विकेन्डमा नै दर्शकको उत्साहजनक साथ पाएको देखिन्छ। यसले फिल्मको कन्टेन्ट बलियो हुँदा दर्शकले समय नहेर्ने प्रष्ट पार्छ।
यस फिल्मको कथा मुख्य पात्र गौँथली (सिम्रन खड्का) जीवन वरिपरि घुम्छ। गौँथली जो पढेर आत्मनिर्भर बन्न चाहन्छिन्। तर, बाध्यताले बिहे गरेर उनले अर्को घर जानुपर्ने हुन्छ।
त्यहाँ पुगेपछि आफूले बिहे गरेको व्यक्ति फरक क्षमता अर्थात् अटिज्म भएको थाहा पाउँछिन्। अब समाजको दायराभित्रै बाधिएकी गौँथलीले कसरी संघर्ष गर्छिन्? यही नै ‘गौँथली’को मूल कथा हो।

डा.कपिल रिजालको निर्देशन रहेको यो फिल्म डा. भोला रिजालको कथामा बनेको हो। जुन कथामा २५ वर्षअघि भोलाले गीति फिल्म बनाएका थिए। फिल्मको नाम र पात्र उही भए पनि आधुनिक प्रविधि, नयाँ स्वाद र संवादसहित पुनः पर्दामा ल्याएका हुन्। पटकथा तथा संवाद डा. कपिलसहित निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
हुन त फिल्मको कथा पुरानै समाजको सेटिङमा तयार पारिएको छ। सानै उमेरमा बिहे गरेको पढ्न नपाउँदाको थकथकी र पराई घर गएपछि बुहारीले सासुबाट भोग्नुपरेको पीडा र श्रीमानसँगको सम्बन्ध फिल्ममा समेटिएको छ।
वर्तमानसँग ठ्याक्कै नमिले पनि अघिल्लो पुस्ताका महिलालाई फिल्मले निकै छुन्छ। त्यसैले त आमा, हजुरआमा पुस्ताहरू फिल्म हेरेर रुँदै बाहिरिएका भिडिओ क्लिपहरू आइरहेका छन्। साथै टिकटकदेखि सामाजिक सञ्जालमा पनि फिल्मले राम्रै प्रतिक्रिया पाइरहेको छ।
यतिखेर फिल्मका निर्देशकसहित निर्माता र मुख्य कलाकारहरू पनि दर्शक भेट्न हल भिजिटमा पुगिरहेका छन्।
यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्।
Shares

प्रतिक्रिया