चलचित्र विकास बोर्डले पछिल्ला फिल्महरूको बक्सअफिस तथ्यांक सार्वजनिक गरेको छ।
साउन ३ गतेसम्मको रिपोर्टअनुसार ‘रोल नं १’ ले १ करोड ७८ लाख २३ हजार ९०८ रूपैयाँ ग्रस कमाएको छ।
जेठ १५ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले शनिबार मात्रै प्रदर्शनको ५१ औँ दिन मनाएको थियो। यो अवधिमा फिल्मको ७१ हजार ३६९ वटा टिकट बिक्री भएका छन्।
जोन योञ्जन निर्देशित यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामालगायतको अभिनय छ।
त्यस्तै, अर्को फिल्म ‘भागदौड’ बक्सअफिसमा निकै कमजोर देखिएको छ। असार २६ गतेदेखि सीमित शोसहित प्रदर्शनमा आएको फिल्मले १० दिनसम्म १ लाख रूपैयाँ पनि कटाउन सकेन।
साउन ३ गतेसम्म फिल्मले ९२ हजार ९९५ रूपैयाँ ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मका ४०९ वटा टिकट बिक्री भएका छन्।
यस विवरणअनुसार ‘भागदौड’ यस वर्षकै कमजोर व्यापार गर्ने नेपाली फिल्म बनेको छ। यसअघि वर्षकै कम व्यापार गर्ने फिल्म ‘जाँड’ थियो। यस फिल्मले जम्मा १ लाख २६ हजार रूपैयाँ ग्रस कमाएको थियो।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुभाष तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता विश्वराम विष्ट हुन्।

प्रतिक्रिया