कला


चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ: सञ्चारमन्त्री

चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ: सञ्चारमन्त्री

नेपालखबर
साउन ४, २०८३ सोमबार २१:५, काठमाडौँ

‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ। भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

सो भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सरकारले यस्ता पहललाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको बताए। उनले चलचित्र महोत्सवले नागरिकस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

सञ्चारमन्त्री तिमिल्सिनाले चीन नेपालका लागि बढी पर्यटक भित्रिने मुलुकमध्ये एक रहेको उल्लेख गर्दै नेपाली प्राकृतिक सम्पदा, संस्कृति र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताए। नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउन तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल चीनको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए। उनले नेपालको अनुकूल वातावरण चलचित्र निर्माणका साथै सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन र नागरिकस्तरको सम्बन्ध सुदृढ गर्न अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न उपयुक्त रहेको धारणा राखे।

‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल हो। महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बताए। उनका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ तारिखसम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङ शहरमा आयोजना गरिएको महोत्सव नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षको अवसरमा सम्पन्न भएको थियो।

महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकामा ११ वटा चलचित्र प्रारम्भिक छनोटमा परेका थिए। त्यसपछि चिनियाँ सेन्सर प्रक्रियाबाट अन्तिम रूपमा ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए। ती चलचित्रहरू चिनियाँ सबटाइटलसहित सम्बन्धित चिनियाँ निकायको स्वीकृतिपछि चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो।

सो महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम मंगलबार (साउन ५) चलचित्र विकास बोर्ड, काठमाडौँमा आयोजना हुन लागेको अध्यक्ष दाहालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad