दाङमा दाजुको हत्या गरेर १२ वर्षदेखि फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन्।
कर्तव्य ज्यानको कसुरमा दोषि ठहर भइ फरार रहेका दाङको घोराही उपमहानगरपालिका ९ का प्रेमबहादुर रानालाई भक्तपुरको ठिमीबाट प्रहरीले पक्राउ गरेको हो।
उनले २०६७ माघ २४ गते राति मृतक सूर्यबहादुर रानाकी श्रीमती (भाउजु नाता पर्ने) सँग मिलेर हत्या गरेका थिए। कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत दाङले उनलाई जन्म कैदको फैसला गरेको थियो।
घटनापछि प्रेम बहादुर राना फरार थिए। पक्राउ परेका रानालाई प्हरीले भक्तपुर अदालतमा बुझाएको थियो। अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं चलान गरिएको भक्तपुरका डीएसपी राजु पाण्डेले बताए।
मृतक सूर्य बहादुर राना घटना अघि २ बर्ष कतारमा बसेका थिए। त्यो समयमा उनकी श्रीमती बिन्दु राना छिमेकी देवर नाता पर्नेसँग अनैतिक सम्बन्धमा रहेको र कतारबाट फर्किएको ५ दिनमै श्रीमानको हत्या गरेको खुलेको छ।
सूर्यबहादुर २०६७ माघ १९ गते कतारबाट फर्किएका थिए। २४ गते रातको समयमा प्रेम बहादुर राना र बिन्दु राना मिली जाँडमा धतुरो मिसाएर खुवाई बेहोस बनाई घाँटी थिची हत्या गरी डोकोमा बोकेर जंगलको भिरालो खोल्सामा फालेका थिए।
२०६७ फागुन ५ गते सूर्यबहादुरको शव फेला परेको थियो।
Shares
प्रतिक्रिया