ad ad

अपराध


चार गोली खाए तर सहकारीको रकम लुटिनबाट जोगाए

चार गोली खाए तर सहकारीको रकम लुटिनबाट जोगाए

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १३:११, सर्लाही

सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ।

सगुनको बागमती नगरपालिका–१ मिलनचोकमा अवस्थित सेवा केन्द्रमा बुधबार बिहान लुटपाटको प्रयास भएको हो। 

लुटेरा समूहले सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि चार गोली हानेको छ। शरीरका विभिन्न ठाउँमा चार गोली लागे पनि कार्कीको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीले जनाएका छन्।

भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनाको समूहले कार्यालयमा प्रवेश गरी कार्कीलाई गोली हानेका हुन्।

कार्कीलाई हरिवनमा रहेको सरस्वती अस्पतालमा सामान्य उपचार गरी  थप उपचारको लागि काठमाडौं लगिएको छ। 

लुटेराहरूले कार्यालयभित्र पसेर कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। त्यसपछि लुटेरा समूहले उनलाई गोली हानेका हुन्।

गोली प्रहारपछि उनीहरू काउन्टरबाट एउटा झोला बोकेर  भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन्।

‘झोलाबाट रकम निकालेर अन्यत्र राखिएका कारण लुटेराले लगेको झोलामा रकम नभएको बुझिएको छ’, सगुनका एक कर्मचारीले भने।
जिल्ला प्रहरी कार्यालय (सर्लाही) का डीएसपी विजय यादवले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए।

लालबन्दी–२ जुटपानी निवासी कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गरेर चार गोली लागेको छ।

गोलीले शरीरको संवेदनशील अंगमा कुनै क्षति नभएका कारण बिरामी खतरामुक्त रहेको सरस्वती अस्पतालका सञ्चालक डा. राजीव साहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .