नेपालमा बाल यौन दुराचारको कसुरमा नौ वर्ष कैद भुक्तान गरेर फर्किएका अमेरिकी नागरिकलाई अमेरिकाको अदालतले पनि दोषी ठहर गरेको छ।
नेपालमा बाल यौन दुराचारको कसुरमा नौ वर्षको जेल सजाय भुक्तान गरेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्सलाई अमेरिकाको संघीय अदालतले नेपालमै गरेका अपराधमा दोषी ठहर गरेको हो। अमेरिकी न्याय विभागको अफिस अफ पब्लिक अफेयर्सले शुक्रबार आफ्नो आधिकारिक वेबसाइटमार्फत यो फैसलाको जानकारी सार्वजनिक गरेको छ।
नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएपछि कुम्सलाई सेप्टेम्बर २०२५ मा अमेरिकी कानुन कार्यान्वयन निकायले पक्राउ गरेको थियो। न्याय विभागका अनुसार उनको सजाय निर्धारणका लागि आउँदो २८ अक्टोबरमा अमेरिकी संघीय अदालतमा सुनुवाइ तोकिएको छ।
नेपालमा यो मुद्दाको सुरुवात केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालबालिका बेचबिखन तथा शोषण गर्ने एउटा गिरोहमाथि अनुसन्धान थालेपछि भएको थियो। उक्त गिरोहले बालबालिकालाई दुर्गम गाउँबाट सहर ल्याई विदेशी बाल यौन दूराचारीलाई उपलब्ध गराउने गरेको खुलेको थियो।
९ सेप्टेम्बर २०१६ मा सीआईबीले कुम्सलाई काठमाडौँको ठमेलस्थित याम्बु होटलबाट उनका सहयोगी स्वयम्भू निवासी २१ वर्षीय बुद्ध पुतुवारसहित पक्राउ गरेको थियो। २३ अप्रिल २०१७ मा काठमाडौँ जिल्ला अदालतले कुम्सलाई नौ वर्षको जेल सजाय सुनाएको थियो। पुतुवारलाई चार वर्षको सजाय तोकिएको थियो।
अमेरिकी न्याय विभागका अनुसा सन् २०१६ मा नेपालमा रहँदा कुम्सले बल प्रयोग गरी, नशालु पदार्थ खुवाई वा आर्थिक प्रलोभन देखाएर आठ जना बालबालिकामाथि यौन दुराचार गरेको अभियोग थियो। उनले पीडितहरूको यौनजन्य तस्बिरहरू पनि खिचेका थिए, जुन पछि उनका विद्युतीय उपकरणहरूबाट बरामद गरिएका थिए।
अमेरिकी न्याय विभागले यो अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय र नेपाली गैरसरकारी संस्था नयाँ पाइलाबाट सहयोग प्राप्त भएको पनि उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया