ललितपुरको सातदोबाटो बस्ने हरिप्रसाद ढकालको बैंक खातामा भएको सबै रकम गत मंसिर २५ गते राति रित्तियो। एनआईसी एसिया बैंकको खाताबाट सञ्चालन गरेको मोबाइल बैंकिङमार्फत रकम निकालिएको थियो।
उनी भोलिपल्ट जिल्ला प्रहरी परिसर ललितपुरमा पुगे। र, अनलाइन ठगीमा परेको जाहेरी दिए। उनले आफ्नो मोबाइल बैंकिङ प्रणाली ह्याक भएको भनेका थिए। उनको खातामा भएको ४ लाख रुपैयाँ रित्तिएको थियो।
त्यसपछि प्रहरीले विशेष अनुसन्धान समूह गठन गर्यो। अनुसन्धानको नाम दियो–अप्रेसन एप्लिकेसन नेपाली गर्ल। समूहले बैंकमा पत्र पठायो र विवरण माग गर्यो। ह्याक भएको रकम कहाँबाट र कहाँकहाँ ट्रान्सफर भयो भनेर अनुसन्धान गर्यो।
जाँच गर्दै जाँदा विभिन्न सिस्टम हुँदै अन्तिममा एटीएमबाट पैसा निकालेको देखियो। एउटा आईएमईबाट पनि पैसा निकालेको देखियो।
प्रहरीले आईएमई सञ्चालकलाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतको सीतामढीका २९ वर्षीय अवधेश कुमार छन्। त्यसपछि प्रहरीले उनीमार्फत थप अनुसन्धान अगाडि बढायो।
कहाँबाट र कसरी पैसा आयो भन्दै सोधिखोजी गर्यो। उनले त्यहाँ आउने र एटीएम खोज्ने मान्छेहरुको बारेमा जानकारी दिए। उनीहरु मकवानपुरमा थिए।
परिसरको टोली मकवानपुर पुगेर सुरुमा नगेन्द्र साह कानुलाई पक्राउ गर्यो। पर्साको विन्दवासिनीका कानुलाई पक्राउ गरेपछि थप खुलासा भयो।
उनले आफ्नो केही पनि भूमिका नभएको र यसमा राजु भन्ने व्यक्तिले एटीएमकार्ड खोजिदे भनेको र आफूले गाउँका मान्छेहरुका एटीएम लिने र राजुले भनेअनुसार पैसा निकाल्ने गरेको बताए। त्यो पैसा जहाँ पठाइदिनु भन्छन् राजुले, त्यहीँ पठाउने गरेको उनले बताए। मुख्य मान्छे को हो त भनेर प्रहरीले सोध्यो। उनीहरु काठमाडौं बस्ने जवाफ दिए।
त्यसपछि मकवानपुरबाट ३ जनालाई गाडीमा काठमाडौं लिएर फर्कियो अप्रेसन टोली। उनीहरुलाई काठमाडौं ल्याइसकेपछि राजुप्रसाद पटेल, साहिल परवेज र शिवशंकर राउत फेला परे। उनीहरु बानेश्वरमा कोठा भाडामा लिएर यस्तो काम गर्दा रहेछन्।
प्रहरीले यी तीन जनालाई पनि पक्राउ गर्यो। खानतलासी गर्दा कोठामा ल्यापटप फेला पर्यो। उनीहरुका मोबाइल र ल्यापटपमा अनुसन्धान गर्दै जाँदा उनीहरुले कसरी ठगी गर्दा रहेछन् भनेर खुल्दै गयो।
प्रहरीले अनुसन्धान गर्न थालेपछि उनीहरुले पनि बताउन थाले।
उनीहरुले नेपाली गर्ल नामको सफ्टवेर एप्लिकेसन बनाएका रहेछन्। नेपाल स्टक, स्टक टे«डिङ जस्ता नाम राखिएका सफ्टवेर पनि उनीहरुले बनाएका रहेछन्। यी सफ्टवेरबाट ग्राहकसम्म पुग्ने र उनीहरुका मोबाइल नम्बरसम्म पहुँच बनाउने गरेको खुल्यो।
नेपाली गर्ल एपमा लेखिएको थियो, ‘के तपाईं पनि सेक्स पार्टनर खोजिरहनु भएको छ? अब ढुक्क हुनुहोस्। नेपाली गर्ल एप इन्स्टल गर्नुहोस् र सेक्स पार्टनर खोज्नुहोस्।’
सम्पर्क नम्बर र फोटोका साथै रेट समेत उल्लेख गरेर सो सुविधा नेपालको सबै ठाउँमा उपलब्ध रहेको सो एपमा उल्लेख थियो।
‘त्यसरी एप इन्सटल गर्न खोज्ने व्यक्तिको मोबाइल नम्बर र पिन नम्बर पनि ह्याकरको पहुँचमा पुग्ने रहेछ, त्यसपछि उनीहरुले विभिन्न माध्यमबाट खातामा भएको रकम रित्याउने रहेछन्,’ अनुसन्धानमा संलग्न परिसरका अधिकारीले भने।
मोबाइल बैंकिङको पिन नम्बर पाइसकेपछि त्यहीँबाट उसको खाताको रकम रित्याउने रहेछन्। रातको समयमा अरुको खातामा रकम पठाउने र भोलिपल्ट विभिन्न माध्यमबाट निकाल्ने गरेको खुलेको छ।
राजु पटेलले कार्यालय व्यवस्थापन गरेका थिए। उनले नै साहिल र शिवशंकरलाई पैसा दिने काम गर्थे। गाउँमा अरुलाई एटीएम खोज्न लगाउने र एटीएम आइसकेपछि ती खातामा रकम पठाउने र निकाल्न लगाउने काम पनि उनैले गर्थे।
साहिल र शिवशंकरले सफ्टवेर बनाएका थिए। उनीहरुले नै मोबाइलसम्म ती सफ्टवेर पुर्याउँथे। उनीहरुले नै त्यहाँबाट रकम अन्यत्र खातामा पठाउने काम गर्थे।
अरु भने एटीएम खोज्ने, खाता नम्बर माग्ने र ती खाताबाट एटीएममार्फत पैसा निकाल्ने, आईएमईमार्फत रकम निकाल्ने कार्यमा संलग्न रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।
यसरी ठगिने अरु १९ जना छन्। तीमध्ये १२ जनाले साइबर ब्युरोमा र ७ जनाले उपत्यका अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन्। उनीहरुको करिब ५० लाख रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले यस्ता शंकास्पद म्यासेज मोबाइलमा आएमा त्यस्ता एप्लिकेसन नखोल्न अनुरोध गरेको छ। यसरी ठगिएको कोही भए जिल्ला प्रहरी परिसर ललितपुरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
पक्राउ परेका ८ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार प्रदेश सीतामढी जिल्ला मधुरापुर–७ बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ का ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साको विन्दवासिनी–८ का ३३ वर्षीय अजय चौधरी भनिने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नगरपालिका–१ की २७ वर्षीया रविना चौधरी, बाराको कोल्हवी नगरपालिका–४ का सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राजु पटेल, सोही ठाउँका २० वर्षीय साहिल परवेज र सोही ठाउँका १९ वर्षीय शिवशंकर राउत छन्।
उनीहरुविरुद्ध म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको पनि एसएसपी शाहले बताए।
प्रतिक्रिया