नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो। सोमबार थुनछेक बहस सुरु हुने सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।
खेलमिलेमतोको कसुरमा ५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। जनकपुर रोयल्सका खेलाडी मोहमद आदिल आलम, पूर्व क्रिकेटर महबुब आलम, पर्सा वीरगन्जका नितेश गुप्ता भन्ने नितेश साह, काठमाडौं कलंकीका नवीन कँडेल, सप्तरीका रवि माझीविरुद्ध खेल मिलेमतोको कसुरमा मुद्दा दायर गरिएको छ।
पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको सूचनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि अदालतमा मुद्दा बुझाइएको हो।
महबुब आलम, आदिल अन्सारी र नितेश गुप्ता भने पक्राउ परेका छन्। पक्राउ परेका मेहबुबले आफूले खेल मिलेमतोका लागि प्रस्ताव गरेको स्वीकार गरेका छन्। उनले बयानका क्रममा प्रस्ताव गरेको स्वीकार गरे पनि आफ्नो प्रस्ताव नेपाली खेलाडीले नै अस्वीकार गरेको बताएका छन्।
यस्तो छ महबुबको बयान
छिमेकी भाइ रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी २० क्रिकेट लिग सञ्चालन भइरहेका बेला वाट्स एपमार्फत सम्पर्क गरी पोखरा एभेन्जर्सका आरिफ शेख र फार वेस्ट युनाइटेडका खेलाडी महमद हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिएमा निजहरूलाई ६ लाख रकम उपलब्ध गराउने भनेका थिए। मैले २ लाख रुपैयाँका दरले पाउने प्रस्ताव गरिएको थियो।
मलाई जानकारी गराइदिनू भनेकाले मैले जानकारी गराएको थिएँ। मैले आरिफलाई सम्पर्क गरी तत्काल जानकारी गराएको थिएँ। तर आरिफले मलाई तत्काल निर्णय दिएनन्। मैले रविलाई आरिफसँग कुरा भएको र तिमी पनि कुरा गर भनेको थिएँ। खेलाडीको काम हुनासाथ पैसा पाउने बताएका थिए। मैले आरिफलाई तिमीलाई कसैले कुरा गर्यो भनी सोध्दा उसले मबाट यो काम हुँदैन भनी जवाफ दियो।
मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गरेको बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुन्छ भनेको थिएँ। मलाई प्रतिम्याच २ लाखका दरले दिने भनी खेलाडीलाई सम्पर्क दिन भनिएको थियो।
आरिफले कुन टिमसँग प्रस्ताव गरेअनुसार खेल्नुपर्ने भन्ने रविले बताएका थिएनन्। मैले रविले भनेअनुसारकै प्रस्ताव राखेको थिएँ। पुस १४ गते हामिम अन्सारीलाई फोन गरेको थिएँ। उनलाई ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएमा ४ लाख रुपैयाँका दरले दिने प्रस्ताव गरेको थिएँ। बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिएमा भन्ने प्रस्ताव पनि गरेको थिएँ।
रविले एक खेलमा ६ लाख दिने भनेकाले उनलाई मैले ४ लाख दिने भनेको थिएँ। खेलाडी प्रस्ताव स्वीकार गरे मात्रै पनि मलाई २ लाख दिने बताएका थिए।
मैले महमद हसिम अन्सारीलाई भनेको थिएँ, ‘हिजो १ जना मान्छेले सम्पर्क गरेको कोही छ भने सम्पर्क गर्नू, पैसा कमाउन चाहन्छ भने ५ रनभित्र आउट हुनुपर्छ। ४ लाख रुपैयाँ दिन्छ। तिमी आफैँ गर्छौ भने गर्दा हुन्छ। ५ रनभित्र आउट हुनुपर्छ। ४ लाख रुपैयाँ पाउँछौ।’
तर मैले प्रस्ताव गरेका अन्सारीले पनि एकछिनमा जवाफ दिन्छु भनेका थिए। उनीहरूले तत्काल प्रस्ताव स्वीकार नगरेकाले रकम भुक्तान भएको छैन। यी दुई बाहेकलाई मैले प्रस्ताव गरेको छैन।
प्रतिक्रिया