ad ad

अपराध


मदन राईको बयान : संवेदनशील अंग देखाएर बालिकालाई यौन शिक्षा दिएको हुँ

मदन राईको बयान : संवेदनशील अंग देखाएर बालिकालाई यौन शिक्षा दिएको हुँ

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १३:२६, काठमाडौँ

बाल यौन दुरुपयोगको कसुरमा मदन राईविरुद्ध जिल्ला अदालत खोटाङमा बयान सुरु भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेसँगै सोमबार अदालतमा बयान गराउन थालिएको हो। 

बयान सकिएपछि उनीविरुद्ध थुनछेक बहस हुनेछ। थुनछेक बहससँगै राईलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने टुंगो लाग्ने छ। तर दोषि वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ। 

राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको हो। राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्। 

यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन्। तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उदेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ। 

मदन राईको बयानः
मिति २०५८ सालदेखि जिल्ला खोटाङ खाल्ले गाविस वडा नम्बर १ काँडे भन्ने स्थानमा कृषि स्रोत नामक केन्द्र खोली कृषि तथा विभिन्न प्रकारका शिक्षा मूलक कामहरू संचालन गर्दै आएको छु। भौतिक असुविधाको कारण सो स्थानमा कृषि केन्द्र तथा शैक्षिक गतिविधिहरू संचालन गर्न कठिनाई भएकोले २०६७ सालमा शुभद्रा मदन फाउनण्डेशन नामक संस्था दर्ता गरी कृषि स्रोत केन्द्रले गर्ने कृषि तथा शिक्षा मूलक कार्यहरूलाई शुभद्रा मदन फाउण्डेशन नामक संस्थामा मिलान गरेँ। 

आर्थिक वर्ष २०६८/०६९ मा जिल्ला खोटाङ दिक्तेल गाविस वडा नम्बर ५ सोल्माडाँडा हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मा डाँडागाउँस्थितमा जग्गा खरिद गरी कृषि तथा शिक्षा मूलक केन्द्र संचालन गर्दै आएको छु । 

हामीहरूले विद्यार्थीहरुलाई किताव मात्र पढाएर दिने शिक्षाको बिकल्प खोजी गरी प्राक्टिकल समेत गराउँदै पढाउने उद्देश्यले नेपाल सरकारसँग विद्यालयको मागगरेका थियौँ। 

जिल्ला शिक्षा कार्यालय खोटाडबाट २०७२ सालमा मदन फाउण्डेसनको व्यवस्थापनमा संचालन गर्ने स्वीकृत पाए पश्चात साना बालबालिकाहरूलाई समेत सोही फाउण्डेसनमा राखी पढाउँदै आएकोमा हाल जाहेरवाली परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २०७३ सालमा यस शुभद्रा मदन फाउण्डेसनमा आई श्रीजन जागृती माध्यमिक विद्यालयमा अध्ययन गर्दै शुभद्रा मदन फाउण्डेसनमा बस्दै आएकी थिइन्। 

म हरेक कुराको प्राक्टिकल गराई शिक्षा दिने गर्छु। शिक्षा दिने क्रममा बालबालिकाहरू बलात्कृत नहुन भनेर निजहरूको निजी अंगहरूको बारेमा प्राय जसो ज्ञान दिने गर्छु।  यस्तो शिक्षा आजको आवश्यकता पनि हो भन्ने लाग्छ।

बालबालिकाहरूलाई महिनावरी हुने, स्तन वृद्धि तथा स्खलन हुने सुक्रकिट र अण्डाको बारेमा कुरा गर्ने गरेको छु। यी सबै शिक्षा दिने क्रममा गरेका क्रियाकलाप हुन्। मैले कसैलाई यौनदुरुपयोग गर्ने नियतले गरेको होईन। 

सामाजिक मान्यतामा बालक भन्दा बालिका तथा महिला प्राय गरी पीडित हुने भएकोले यौन हिंसा रोक्ने उदेश्यले मैले सशक्तिकरण तथा निडर बनाउन आमा शिक्षा दिनको लागि अभ्यास गराएको हुँ । 

लजाउने, डराउने र राम्रीहरू बढी बलात्कृत हुने हुनाले निजहरूलाई अलि विशेष जोड दिई यौनको विषयमा शिक्षा दिने गरेको छु। यसै क्रममा निजहरूको संवेदनशिल अंग, स्तन, योनीलगायत अंगहरूको बारेमा संकेत गरी आफैले हेर बुझ भन्दै पढ्न लगाई एकपटक म आफू स्वयम एसेम्लीमा गई कपडा खोली नाङ्गो भएर लिंग लगायत शरीरको संवेदनशील अंग देखाएको हुँ। यी क्रियाकलापहरू शिक्षा सिकाईका प्रकृया हुन्। 

गलत नियतले मैले गरेको होईन आजसम्म मैले कसैलाई यौन दुर्व्यवहार र जवरजस्ती करणी गरेको छैन। आजसम्म फाउन्डेसनमा यौन शिक्षा दिने क्रममा कुनै प्रकारको समस्या आएको थिएन।

के कुन मनसायले म बिरुद्ध यस प्रकारको जाहेरी दिएकी हुन सो मलाई थाहा भएन । विभिन्न मिडियाहरूमा आएका मिसिल संलग्न भिडियोहरू मेरो हो। 

भिडियो नम्बर १ मा देखिएकी बालिका जाहेरवाली परिवर्तित नाम वृत नयाँ वानेश्वर हुन्। हाल शुभद्र मदन फाउनण्डेशन छाडी गईसकेकी छन्। हाल के कहाँ छिन् मलाई थाहा भएन।

भिडियो नम्बर २ मा रहेका बालिकाहरू मध्ये १ जना विवाह गरी गईसकेकी छन्। १ जना विद्यालय छाडी गइसकेकी र २ जना हाल पनि सोही फाउनण्डेशनमा अध्यानरत छन्।

भिडियो नम्बर ३, ४ र ५ भएका बालबालिकाहरु सबै शुभद्रा मदन फाउण्डेशनमा पढ्ने विद्यार्थीहरू हुन्। उल्लेखित भिडियोहरू मैले शुभद्रा मदन फाउण्डेशनमा बनाएको हो।

भिडियो नम्बर ६ मैले बनाएको भिडियो हैन पोर्न साइड अनुसन्धान गर्न डाउनलोड गरेको हुँ । शिक्षा दिने क्रममा गरेको कृयाकलापको भिडियो बनाई बदनियतपूर्वक सामाजिक संजालमा प्रकाशन गराएका रहेछन्। 

बालबालिकाहरू भएको स्थानमा यौनाङग देखाउनु, छुनु कानून विपरितको कार्य हो भन्ने थाहा छ। तर बालबालिकाहरूलाई यौनाङग भनेको मानिसको शरीर भित्र भएका तरल विकार पदार्थहरू निकाल्ने मुख्य द्वार भएको हुनाले सो कुराको बारेमा उनीहरूलाई जानकारी हुनुपर्छ भनी मैले यौनाङ्ग आफैले समाई छोई हेर, बुझ भनी सिकाएको हुँ। 

तीन वर्ष कैद र ७५ हजार जरिवाना माग
मदन राईले बाल यौन दुरुपयोग गरेको निस्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा दायर अभियोगपत्रमा उनलाई ३ वर्षसम्म कैद र ७५ हजार रुपैयाँ जरिवानाको माग गरिएको छ। 

बालबालिका सम्बन्धि ऐन, २०७५ को दफा ६६ मा बालबालिकाविरुद्धको कसुरसम्बन्धि व्यवस्था छ। उपदफा (१) कसैले उपदफा (२) बमोजिमको हिंसा वा उपदफा (३) बमोजिम यौन दुव्र्यवहार हुने कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको बालबालिका विरुद्धको कसुर गरेको मानिने उल्लेख छ। 

ऐन अनुसार कसैले बालबालिका उपर देहाय बमोजिमको कुनै कार्य गरेमा बाल यौन दुव्र्यवहार गरेको मानिनेछ। दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ) (ड), (ण) वा थ वा उपदफा (३) को खण्ड –क, ख, ग, ङ, च, वा ञ बमोजिमको कुनै कार्य गरेमा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था छ। 

यस्तै जरिवानाको रकमभन्दा कम नहुने गरी पीडित बालबालिकाको शिक्षा, शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारको पुगेमने हानी समेतको विचार गरी मनासिव क्षतिपुर्ति एकमुष्ट वा आवधिक रुपमा कसुरदारबाट भराइदिने व्यवस्था छ। 
सोही अनुसार राईबाट क्षतिपूर्ति भराउन समेत अभियोगपत्रमा माग गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .