मोरङको धनपालथान गाउँपालिका-१ गडेरीयाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधी ट्रमाडोल बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंसिर १६ गते गडेरीया टोलस्थित बाँसको झ्याङभित्र बेवारिसे अवस्थामा लुकाएर राखिएको दुई झोलामा २९ हजार ६ सय ८० क्याप्सुल ट्रमाडोल फेला पारेको हो।
प्रहरीका अनुसार, बरामद गरिएको औषधि अवैध रुपमा ओसारपसार हुँदै गरेको प्रारम्भिक अनुमान गरिएको छ। यसको कारोबारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले पनि जाँचको क्रममा धरान–१३ बाट प्रतिबन्धित औषधी दुई सय ७६ चक्कीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानूनी कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।
सिमा क्षेत्रहरूमा पछिल्लो समय प्रतिबन्धित औषधिको ओसारपसार बढ्दै गएको छ।

प्रतिक्रिया