अपराध


दुई भारतीयसहित सोह्र जना लागुऔषध कारोबारी पक्राउ

दुई  भारतीयसहित सोह्र जना लागुऔषध कारोबारी पक्राउ

नेपालखबर
चैत ५, २०८२ बिहिबार १८:१९, काठमाडौँ

लागुऔषध बोकेको आशंकामा प्रहरीले राजधानीको विभिन्न स्थानबाट दुई भारतीयसहित देशका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीद्वारा जारी सूचना अनुसार पक्राउ पर्नेमा दुई भारतीयसमेत छन्। पक्राउ पर्नेहरू मध्ये पाँच जना राजधानीभित्र तथा ११ जना राजधानी बाहिरका छन्।
 
पक्राउ पर्ने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्न लागेका थिए। उनलाई त्रिभूवन विमानस्थलको आगमन टनेल गेटबाट अवैध गाँजा करिब ५ किलो २ सय २० ग्राम भेटिएको प्रहरीले जनाएको छ। ३८ वर्षीय भारतीय नागरिक यासिन शुभन क्वारेसीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागुऔषध फेला परेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

त्यस्तै महानगरपालिका–३२ नरेफाटबाट अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम सहित धनुषा विदेह नगरपालिका–२ घर भएका २८ वर्षीय सन्तोष झालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । काठमाडौँ कै नागार्जुन नगरपालिका– ६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा होटलबाट अवैध लागुऔषध बोकेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले जनाए अनुसार पोलेन जस्तो देखिने वस्तु ७३ किलोग्राम र गाँजा जस्तो देखिने वस्तु २ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा होटलका संचालक काठमाडौं महानगरपालिका–१५ बस्ने मकवानपुर घर भएका २७ वर्षीय देवराज घिसिङ र मकवानपुर कैलाश गाउँपालिका–२ घर भएका ४३ वर्षीय अष्तमराज घिसिङ रहेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

त्यस्तै मोरङ, उर्लाबारी नगरपालिका–७ बरगाछीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम र नगद २७ हजार १ सय रूपैयाँ सहित भारत सिट्टी बर्दाह–१३ बस्ने ३५ वर्षीया सल्मा खातुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

नुवाकोटको बिदुर नगरपालिका–१ त्रिशुलीबाट पनि एक जना पक्राउ परेका छन्। उनीसँग अवैध लागुऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागुऔषध ट्रामोल १ हजार ६ सय ३२ ट्याब्लेट, नाईट्राभेट १ सय ३५ ट्याब्लेट र नगद ३९ हजार ६ सय रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सोही नगरपालिका–१३ बस्ने १९ वर्षीय राजु तामाङसमेत ५ रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले बिदुर नगरपालिका-१ त्रिशुली बस्ने २८ वर्षीय प्रबेश तामाङको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

त्यस्तै पोखरा महानगरपालिका–२७ सैनिकबस्तीबाट पनि नियन्त्रित डाइजेपाम १ हजार ७ सय २१ एम्पुल, नोर्फिन ३ सय ७७ एम्पुल, फेनारगन ३ सय ३४ एम्पुल र नगद ९३ हजार ५ सय रूपैयाँसहित सोही ठाउ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो। 

बाँकेको कोहलपुर नगरपालिका-१५ अक्कलघरूवाबाट अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको लागि उक्त लागुऔषध खरिद गर्न आएका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ भावर टोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेसी टोलबाट पनि लागू औषध कारोबारी पक्राउ परेका छन्। उनीसँग ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष घर्ती मगर समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad