एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।
रसुवाको आमा छोदिङ्मो गाउँपालिका-३, गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीको बेत्रावति सुरक्षा चौकीले एम्बुलेन्स जाँच गर्दा तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ।
प्रहरी निरीक्षक रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, गतलाङ गाउँपालिका–५ का चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन्। उनीहरू बिरामी रहेको भन्दै एम्बुलेन्समा काठमाडौँतर्फ जाँदै गरेका थिए। शंका लागेर जाँच गर्दा चिनियाँ चुरोट भेटिएको प्रहरी निरीक्षक रायले बताए।
यसैगरी, रसुवागढी नाकाबाट लागूपदार्थसहित एक जना पक्राउ परेका छन्। गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय विकास तामाङलाई केरूङबाट नेपालतर्फ आउँदै गर्दा सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ।
प्रहरीका अनुसार, उनको साथबाट २ ग्राम कालो चरेश तथा पहेँलो सात र सुन्तला रङ्गका पाँच क्याप्सुल लागूऔषध बरामद गरिएको छ। प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
Shares

प्रतिक्रिया