अपराध


रौतहटबाट अपहरित युवक सर्लाहीमा भेटिए, अपहरण आरोपमा दुईजना पक्राउ

रौतहटबाट अपहरित युवक सर्लाहीमा भेटिए, अपहरण आरोपमा दुईजना पक्राउ

प्रहरीको नियन्त्रणमा दुई अभियुक्त।


नेपालखबर
बैशाख १२, २०८० मंगलबार ८:३१, सर्लाही

रौतहटका एक युवकको अपहरणमा संलग्न आरोपमा प्रहरीले सर्लाहीबाट दुई जनालाई पक्राउ गरेको छ। 

गत शनिबार रौतहटको पहोहार नगरपालिका-३ तेजापाकड बस्ने ३० वर्षीय राजकुमार महतो अपहरणमा परेका थिए।

उनको उद्धार गर्दै प्रहरीले अपहरणमा संलग्न आरोपमा रौतहटकै राजदेवी नगरपालिका-६ मोहनपुर घर भएका २१ वर्षीय राजा भनिने राजाबाबु पटेल र २३ वर्षीय दीपेश भनिने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो। 

पटेल र रायविरुद्ध सोमबार रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। 

घटना विवरणअनुसार गत शनिबार रायले महतोलाई केही सल्लाह गर्नु छ भन्दै आफ्नो घरमा बोलाएका थिए। त्यसपछि उनले सर्लाहीको बलारा भन्ने ठाउँमा घर बनाउने काम देखाउँदै बलरास्थित एक रक्सी भट्टीमा पुर्‍याएका थिए। 

त्यसपछि ८/९ जनाको समूहले महतोलाई हातखुट्टा बाँधेर पेस्तोल देखाउँदै कुटपिट सुरु गरेको थियो। त्यस क्रममा उनीहरुले पीडितको घरमा फोन गरी परिवारका सदस्यसँग फिरौतीबापत ४ लाख रुपैयाँ मागेका थिए। 

उक्त घटनाको सूचना पाएपछि रौतहट प्रहरीले युवकको खोजतलास सुरु गरेको थियो। 

त्यस क्रममा प्रहरीले उनलाई नेपाल-भारत सीमा क्षेत्रमा पर्ने सर्लाहीको बलरामा फेला पारी अपहरणमुक्त गरेको हो। पीडितलाई बन्धक बनाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

युवकलाई अपहरण गरी भारत लैजाने समूहमा ८/९ जना भएपछि अरु फरार भएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए। 

फरार आरोपितहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .