जापानमा अध्ययनरत एकजना नेपाली विद्यार्थी ९ दिनदेखि बेपत्ता भएका छन्। डेढ वर्षअघि जापान पुगेका काठमाडौंको कीर्तिपुर निवासी सुशान्त अधिकारी राजधानी टोकियो सहरबाट नौ दिनयता हराएका हुन्।
सन् २०२२ जुलाईमा विद्यार्थी भिसामा जापान पुगेका २० वर्षीय अधिकारी जनवरी ५ तारिख बिहानदेखि हराएको जापानमै रहेका उनका काका सुवास अधिकारीले बताएका छन्।
सुरुमा आईची प्रिफेक्चरस्थित आईसी नागोया भाषा स्कुल पुगेका सुशान्त एक वर्षपछि टोकियोको सिन्जुकु वार्डमा अवस्थित मिदोरिम जापानी भाषा स्कुलमा सरेका थिए।
नागोयामा रहँदा सुशान्त एक्लोपन र होम सिकका कारण बिरामी परेका थिइ। त्यसपछि टोकियोमा रहेका काका सुवासले गत जुलाईबाट सिन्जुकु वार्डको सिनओकुबोस्थित स्कुलमा सारेका थिए। नेपालजापान डटकमका अनुसार त्यसपछि भतिजालाई उनले आफैंसँग राखिरहेका थिए।
काकाले जापानी प्रहरी र नेपाली दूतावास टोकियोसहितका निकायमा खोजीका लागि पहल गरेका छन्। तर पत्तो नलागेपछि सुशान्तको खोजीमा सघाउन उनले सञ्चारमाध्यमसँग सहयोग मागेका छन्।
सुवासले भतिजाको खोजीमा सहयोग माग्दै जापानस्थित सम्पर्क नम्बर ०८०-४००१-१२७१ मा फोन गरिदिन भनेका छन्।
Shares
प्रतिक्रिया