गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरिकाको अध्यक्षमा दैलेखका विजय बुढा सर्वसम्मत चयन भएका छन्। दैलेखको महावु गाउँपालिका ३ बाँसीका बुढा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
अध्यक्षमा निर्वाचित भएपछि बुढाले गैरआवासीय नेपालीहरूको साथ र विश्वास नै आफूहरुको शक्ति भएको प्रतिक्रिया दिएका छन्।
उनले गैरआवासीय नेपालीहरूको भरोसालाई कहिल्यै टुट्न नदिने भन्दै गैरआवासीय नेपाली समुदायको हित र प्रगतिका लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन्।
यसअघि प्रवासी नेपाली मन्चको अध्यक्ष समेत रहेका बुढाले गैरआवासीय नेपालीहरूलाई एकतावद्ध बनाएर मातृभूमीका लागि योगदान दिने बताए।
यस च्याप्टरले ओहायो स्थित नेपालीहरूका लागि सांस्कृतिक, शैक्षिक र कन्सुलर सेवा प्रवाह गर्ने अध्यक्ष बुढाले बताए। उनले नेपाली राजदूतावाससँगको सहकार्यमा सेवा शिविर र सम्पर्क कार्यक्रम समेत संचालन गरिने बताए।
उनले स्थानीय नेपाली संघ संस्थासँग सहकार्य गरी समुदायमुखी कार्यक्रमको आयोजना गरिने साथै ओहायो र राष्ट्रिय समन्वय परिषद् एनसीसीबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता जाहेर गरे।
Shares

प्रतिक्रिया