ad ad

कारोबार


डण्डीमा आत्मनिर्भरताः धमाधम स्थापना हुँदै बिलेट उत्पादन गर्ने उद्योग

डण्डीमा आत्मनिर्भरताः धमाधम स्थापना हुँदै बिलेट उत्पादन गर्ने उद्योग

वसन्त अर्याल
असार २२, २०७८ मंगलबार १६:५८,

नेपालमा पछिल्लो समय बिलेट उद्योग स्थापनामा तीव्रता आएको छ। 

स्टिल उद्योगको कच्चापदार्थको रुपमा प्रयोग हुने बिलेट नेपालमै उत्पादन हुनथालेको हो। 

सिमेन्ट उद्योगका लागि आवश्यक क्लिंकर नेपालमै उत्पादन हुनथालेपछि स्टिल उद्योगका लागि अत्यावश्यक कच्चापदार्थ बिलेट पनि व्यवसायीहरुले नेपालमै उत्पादन गर्नलागेका हुन्। 

उद्योग विभागमा हालसम्म नेपालमा ११ वटा बिलेट उद्योग दर्ता भइसकेका छन्। 

अधिकांश उद्योगले बिलेट उत्पादन गरी त्यसबाट डन्डी समेत बनाउन थालिसकेका छन्। नेपाल स्टिलमा आत्मनिर्भर भए पनि व्यवसायीले कच्चापदार्थ सबै भारतबाट ल्याइरहेका थिए। 

भारतबाट ल्याएको बिलेट पेलेर उनीहरुले मागअनुसारको आकारमा डण्डीहरु बजारमा ल्याउँदै आएका थिए। 

नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले स्टिलका लागि आवश्यक बिलेट नेपालमै उत्पादन गर्नुपर्ने बताए। 

न्यौपानेले स्टिल उद्योगका लागि चाहिले ७० प्रतिशत कच्चापदार्थ अझै भारतबाट आइरहेको बताए। 

‘केही वर्ष अघिसम्म सबै कच्चापदार्थ भारतबाट आयात भइरहेको थियो। अहिले ७० प्रतिशतमा झरेको छ’, न्यौपानेले नेपालखबरसँग भने, ‘हाल ३० प्रतिशत बिलेट नेपालमै उत्पादन हुँदै आएको छ।’

सौरभ ग्रुपका अध्यक्ष समेत रहेका न्यौपानेले ३ लाख मेट्रिक टन क्षमताको बिलेट उद्योग स्थापना गरिसकेका छन्। 

‘बिलेटको उत्पादन ट्रायल फेजमा रहेको छ। हामी परीक्षणमै छौँ’, उनले भने, ‘कोभिडको कारण भारतबाट दक्ष जनशक्ति आउन नपाउँदा रोकिएको थियो।’ 

न्यौपानेका अनुसार असार मसान्तअघि नै बिलेट उत्पादन सुरु हुनेछ। साउनमा त्यही बिलेटबाट डन्डी पनि उत्पादन सुरु हुने उनको भनाइ छ।

सौरभ ग्रुपले उत्पादन गर्ने बिलेट क्षमता ३ लाख मेट्रिक टन र डन्डीको १ लाख टन मात्रै छ। 

उनले आफ्नो उद्योगले खपत गर्नेबाहेकको बिलेट अरुलाई बिक्री गर्ने बताए। 

नेपालका स्टिल उद्योगले बिलेटको बुकिङ समेत सुरु गरिसकेको उनको भनाइ छ। सर्वोत्तमबाहेक मुरारका ग्रुपको पशुपति आइरनले बिलेट उत्पादन गरिरहेको छ। 

त्यस्तै लक्ष्मी स्टिल, जगदम्बा स्टिल, अम्बे स्टिल, अशोक स्टिल, नारायणी स्टिल, हाइटेक स्टिललगायत उद्योगहरूले बिलेट उत्पादन गरिरहेका छन्। 

कम्पनीहरुले भारतबाट डण्डीको कच्चा पदार्थको रुपमा स्पोन्ज आइरन (डीआरआई) र स्क्रयाप आइरन (कबाडी फलाम) आयात गरी बिलेट उत्पादन गर्दै आएका छन्। 

नेपालमै बिलेट उत्पादन हुँदा यसको अहिलेको आयात ठूलो मात्रामा घट्ने न्यौपानेको भनाइ छ। 

उनले भने, ‘अहिले ७० अर्बको बिलेट आइरहेको छ। त्यो अब ३५ अर्बमा झर्छ।’

झण्डै आधा रकम बचत हुँदा त्यसको उपयोग नेपालमै हुनेछ। 

‘गुणस्तरमा कम्प्रोमाइज हुँदैन’
नेपालमा बिलेट उत्पादन नगर्ने स्टिल उद्योगले गुणस्तरमा प्रश्न उठाउने गरेका छन्। 

हिमाल, पञ्चकन्या, हामा लगायत स्टिल उद्योगले नेपालमा बिलेट उत्पादनमा खासै चासो दिएका छैनन्। 

पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ नेपालमै बिलेट उत्पादन गर्दा गुणस्तर राम्रो हुने ‘ग्यारेन्टी’ नभएको बताउँछन्।

‘हामीले भारतबाटै बिलेट आयात गरी स्टिल बनाइरहेका छौँ’, श्रेष्ठ भन्छन्, ‘नेपालमा बनेको बिलेटमा गुणस्तर हुन्छ वा हुँदैन ग्यारेन्टी हुँदैन।’

तर बिलेट उत्पादन संघका अध्यक्ष न्यौपाने भने गुणस्तरमा कुनै ‘कम्प्रोमाइज’ नहुने बताउँछन्। 

‘गुणस्तरको कुरै छैन। विदेशबाट आएको बिलेट पनि स्पोन्ज आइरनबाटै बनेको हो। नेपालमै कच्चा पदार्थ ल्याएर बनाउँदा झन् राम्रो गुणस्तरको बन्छ’, न्यौपानेको दाबी छ, ‘भारतमा टाटाले कबाडी फलाम र स्पोन्ज आइरनबाट बिलेट बनाउँदा बलियो हुने तर त्यही कच्चा पदार्थ नेपालमा ल्याएर बनाउँदा गुणस्तर कम हुने भन्ने हुँदैन।’

२० लाख मे.टन फलाम खपत 
नेपालमा करिब २० लाख मेट्रिक टन फलाम खपत हुन्छ। जसमा १५ लाख बढी स्टिल उद्योगको लागि प्रयोग हुन्छ भने बाँकी अन्य प्रयोजनमा खपत हुन्छ। 

न्यौपानेले नेपालमा स्क्रयापले बनाएको स्टिल गुणस्तर हुँदैन भन्ने धारणा गलत रहेको बताए। 

‘कबाडी भनेको पनि फलाम हो। जब १७ सय डिग्रीमा त्यसलाई पगाल्दा स्क्रयापबाट राम्रो फलाम निस्कन्छ’, उनले भने, ‘हाम्रोमा २० लाख टनको फलाम खपत हुँदा त्यसको १० प्रतिशत १० लाख टन पनि स्क्रयाप हुँदैन।’

स्क्रयापमा ९० प्रतिशत फलाम निस्किन्छ। १० प्रतिशत खिया वा अरु कुनै हुनसक्छ। स्क्रयापबाट आइरन निकाल्न सजिलो छ र गुणस्तरीय पनि हुन्छ। 

तर नेपालमा कबाडी फलाम धेरै नपाउने उनको भनाइ छ।  

पहिले नेपालमै क्लिंकर उत्पादन गर्दा पनि कतिपय व्यवसायीले त्यसबाट बनेको सिमेन्टको गुणस्तर राम्रो नहुने बताउँथे। अहिले बिलेट उत्पादन यहीँ गर्दा स्टिल राम्रो नहुने कतिपय व्यवसायीले बताइरहेका छन्। 

तर त्यसो नहुने न्यौपानेको दाबी छ। 

‘नेपाली क्लिंकरको गुणस्तर हुँदैन भन्ने धेरै थिए। नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्ट नै उत्पादन हुँदैन भन्नेहरु थिए’, उनले भने, ‘अहिले नेपाली क्लिंकरबाटै ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन हुनथालेको छ।’ 

नेपाली बिलेटबाट उत्पादित स्टिलको गुणस्तर कस्तो छ भन्ने नापतौल तथा गुणस्तर विभागले नै निर्धारण गर्ने भएकाले गुणस्तरहीन डन्डी बजारमै ल्याउन नदिने उनको भनाइ छ। 

आयात गरेको बिलेटमा पनि कसैले कमसल खालको ल्याएको छ भने गुणस्तरले नै रोक्ने गर्छ। व्यवसायीले स्पोन्ज आइरनमा भन्सार घटाइदिन  आग्रह गर्दै आएका छन्।   

बिलेट उद्योगमा कति खपत हुन्छ बिजुली?
बिलेट उत्पादक संघका अध्यक्षले नेपालमा डण्डी उद्योगका लागि चाहिने बिलेट नेपालमै उत्पादन भयो भने ५ सयदेखि ८ सय मेगावाट विद्युत नेपालमै खपत हुने बताउँछन्।

बिलेट उद्योगका लागि सबैभन्दा अवश्यक कुरा भनेकै विद्युत् हो। यसलाई कच्चा पदार्थको रुपमा लिन सकिन्छ’, न्यौपानेले भने, ‘सर्वोत्तम स्टिलले अहिले ४५ मेगावाट विद्युत् खपत गर्छ। ३ लाख मेट्रिक टन बिलेट बनाउनको लागि त्यति विद्युत् खपत हुन्छ। बाहिरबाट बिलेट ल्याएर बनाउँदा ५ मेगावाट विद्युतमै हाम्रो काम चल्थ्यो।’

नेपालमा हालसम्म साढे दुई लाख मेट्रिक टन बिलेट उत्पादन भइरहेको छ। सौरभ ग्रुपले उत्पादन गरेको बिलेट त्यसमा थप हुन्छ। 

अहिले भारतमा बिलेटमा मूल्य बढ्नेबित्तिकै नेपालमा डण्डीको मूल्य बढ्छ। 

भारतमा बिलेट उत्पादनमा कुनै समस्या भए नेपालमा डण्डी उत्पादन नै हुन सक्दैन। 

नेपालमा बिलेट उद्योग नहुँदा नेपालमा प्रयोगविहीन वा कवाडी फलाम भारतमा निर्यात हुने र त्यहाँ फलाम बनेर नेपाल आउने गरेको छ। 

बिलेट उद्योगले नेपालमा निस्केको स्क्रयाप खपत गर्न सक्छन्। 

उद्योगीका अनुसार हाल स्टिल उद्योगले दिँदै आएकोमा थप १० हजार जनशक्तिले रोजगारी पाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .