ad ad

कारोबार


सरकारले ५० मिटर बाटो बनाउन नसक्दा उत्तरतर्फको प्रमुख नाका ठप्प

सरकारले ५० मिटर बाटो बनाउन नसक्दा उत्तरतर्फको प्रमुख नाका ठप्प

ताताेपानी नाकाकाे सडकमा पहिराे


नेपालखबर
साउन ८, २०७८ शुक्रबार १८:४०,

नेपाल सरकारले एक महिनादेखि ५० मिटर बाटो बनाउन नसक्दा चीनतर्फको प्रमुख तातोपानी नाका ठप्प बनेको छ। 

असारको पहिलो हप्ता झरेको पहिरोले तातोपानी नाका जोड्ने सडकअन्तर्गत दुई स्थानमा ५० मिटर बाटो अवरुद्ध पारेको थियो। 

त्यसलाई निर्माण गर्न र पहिरो पन्छाउन नेपाल सरकारले नसक्दा १ महिनादेखि नाका नै ठप्प बनेको हो। 

असार ३ र ८ गतेको पहिरोले तातापानी र काठमाडौंलाई जोड्ने कोदारी राजमार्गको दुई ठाउँमा क्षति पुर्याएको छ। 

लिपिङ पुलनजिको स्थान र कोदारी बजारमा पहिरोले समस्या आएको थियो। तर एक महिनासम्म पनि सडक विभागले बाटो निर्माणसम्पन्न गर्न नसक्दा नाका नै बन्द अवस्थामा छ। 

यसले चीनबाट हुने आयातनिर्यात नै रोकिएको छ भने स्थानीयहरू समेत मर्कामा परेका छन्। 

यो सडक हेर्ने जिम्मेवारी सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय चरीकोटको हो। त्यस कार्यालयका प्रमुख विजय महतो भने १ महिनादेखि नै निर्माणकार्य भइरहेको दाबी गरे। 

‘कोदारी बजारमा पहिरो आएर अवरुद्ध भएको थियो। त्यो पहिरो पन्छाउने काम एक महिना लगाएर अहिले सडक डिभिजन कार्यालयले सक्याउनलागेको छ’, उनले भने, ‘निर्माणकार्य भइरहेको छ। अझै केही समय लाग्ने देखिएको छ।’ 

तर लिपिङ पुलनजिक केही कटान गरेको स्थान निर्माण गर्न सडक डिभिजन कार्यालय २÷३ जना कामदार मात्रै प्रयोग गर्ने गरेको छ।  

यही कारण अत्यन्तै ढिलाइ भएको स्थानीय तथा व्यापारीहरुको भनाइ छ। सो स्थानमा व्यवसाय सञ्चालन गर्ने स्थानीय फुन्वी शेर्पाले सडक डिभिजन कार्यालयले लापरबाही ढंगले काम गरिरहेको बताए।  

उनले भने, ‘सडक डिभिजन कार्यालयको एक्स्काभेटर चलाउने खर्च समेत नभएको कारण काम ढिलो गरेको सूचना दिन्छन्, डिजेल हाल्ने पैसा समेत व्यापारीहरुसँग माग्छन्, यतिसम्मको हदको काम डिभिजन कार्यालयले गरिरहेको छ।’

मन नलगाई नलगाई जसरी हुन्छ काम नै नहोस् भन्ने ढंगले काम गरिरहेको उनको आरोप छ।

त्यसो त चीनतर्फको रसुवागढी र तातोपानी नेपालका प्रमुख नाका हुन्। 

२०७६ माघ १४ गतेदेखि चीनले कोरोना फैलिने डरमा यी दुवै नाका बन्द गरेको थियो। योसँगै नेपालले स्थलमार्गबाट आयता र निर्यात नै गर्न पाएन। 

पछि नेपाल सरकारले खुलाउन आग्रह गरेपछि आंशिक रुपमा खुलाएको थियो। अहिले चीन सरकार नेपालसँगको आयातनिर्यात गर्न सकारात्मक देखिँदा सडक डिभिजन कार्यालयको लापरबाहीको कारण देशको आयातनिर्यातमा नै असर परेको स्थानीय व्यापारी शेर्पाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .