ad ad

कारोबार


प्राधिकरण आफैँ धमाधम अघि बढाउँदै ठूला जलविद्युत् आयोजना

प्राधिकरण आफैँ धमाधम अघि बढाउँदै ठूला जलविद्युत् आयोजना

वसन्त अर्याल
भदौ ४, २०७८ शुक्रबार १०:२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरण आफैँले ठूला जलविद्युत् आयोजना अघि बढाएको छ। 

प्राधिकरणले दूधकोशी, माथिल्लो अरुण, उत्तरगंगालगायतका ठूला आयोजना आफैँले निर्माण गर्ने भएको हो। 

प्राधिकरणबाट अगाडि बढाइएका दूधकोशी, माथिल्लो अरुण, माथिल्लो मोदी, चैनपुर सेती, तामाकोशी ५, आँधीखोला र उत्तरगंगा, कुलेखानी सिस्नेरी पम्प स्टोरेज, रुपा बेग्नास पम्प स्टोरेजलगायतका जलविद्युत् आयोजनाहरू अध्ययन तथा विकासको विभिन्न चरणमा रहेका छन्।

प्राधिकरणले अन्तर्राष्ट्रिय दाताबाट अनुदान, ऋण सहयोगमा ठूला आयोजना आफैँ बनाउन सकिने बताएको छ। 

प्राधिकरणकै सहायक कम्पनी अपर तामाकोशी लिमिटेडले ४५६ मेगावाटको आयोजना सम्पन्न गरेको उल्लेख गर्दै ठूला आयोजना आफैँ निर्माण गर्न सकिने प्रमाणित भएको प्राधिकरणले जनाएको छ। 

माथिल्लो तामाकोशीमा गत मंगलबारबाट ६ वटा युनिटबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ। निर्माण अवधि र लागत बढे पनि ठूला आयोजना निर्माणमा आत्मविश्वास बढेको प्राधिकरणको भनाइ छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला आयोजनामा काम गर्नको लागि विद्युत् प्राधिकरण सक्षम भएको बताए। उनले ठूला आयोजना आफैँ निर्माणको लागि प्राधिकरणलाई सफल बनाउनुपर्ने बताए। 

‘अहिलेकै अवस्थामा ठूला आयोजना निर्माण गर्न समस्या हुनसक्छ’, घिसिङले भने, ‘ठूला आयोजनामा लगानी बढाउन प्राधिकरणको नाफा बढाउनुपर्छ।’

नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी ठूला आयोजना अघि बढाएको छ। 

६३५ मेगावाटको दूधकोशी र ८२१ उत्तरगंगा जलाशययुक्त आयोजनाको लागि सहायक कम्पनी स्थापना गरी अघि बढेको छ। त्यसबाहेक १०६० मेगावाटको माथिल्लो अरुणको लागि पनि कम्पनी स्थापना भई काम अघि बढाएको छ। 

यसरी अगाडि बढाइएका अरुण तेस्रो, तल्लो अरुण, अपर कर्णाली, अपर मर्स्याङ्दी दोस्रो, तमोर, पश्चिम सेती ठूला आयोजनाहरू हुन्। यी आयोजनाको काम लगानी बोर्डमार्फत भइरहेका छन्। 

कुन आयोजना के हुँदै छ?
६३५ दूधकोशी जलाशययुक्त आयोजना

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको लागि सहायक कम्पनीको स्थापना गरिएको छ।  एसियाली विकास बैंकको अनुदान सहयोगमा परामर्शदाताबाट डीपीआर तयार भएको छ।      

एडीबीले आयोजना निर्माणको लागि ५५ करोड अमेरिकी डलरबराबरको सहुलियत ऋण सहयोग तथा २ करोड अमेरिकी डलरबराबरको अनुदान सहयोगको प्रतिबद्घता जनाएको छ। 

आयोजनाको सम्पूर्ण लगानीको लागि एडीबीको अगुवाइमा युरोपियन इन्भेष्टमेन्ट बैंक, एसियन इन्फ्रास्ट्रक्चर इनभेष्टमेन्ट बैंक र कोरियन एक्जिम बैंकबाट संयुक्तरुपमा आयोजनामा लगानी गर्नेतर्फ छलफल भइरहेको आयोजनाले जनाएको छ। 

८२१ उत्तरगंगा जलाशययुक्त आयोजना 
उत्तरगंगा जलाशययुक्त आयोजना अध्ययन तथा निर्माण गर्न कम्पनी स्थापना गरिएको छ। दुईवटा विद्युत् गृह रहने आयोजनामा पहिलोबाट ४१७ र दोस्रोबाट ४०४ मेगावाट रहनेछ ।

प्राधिकरणले सञ्चालनका क्रममा एकपछि अर्को विद्युत् गृह सञ्चालन गर्ने गरी यसको अवधारणा बनाइएको छ। 

आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र दस्तावेज तयार पार्ने कार्यको लागि इरानको महाघोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीलाई छनोट भएको छ। 

१०६० मेगावाटको माथिल्लो अरुण  
१०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत् आयोजना निर्माणको लागि  छुट्टै साहयक कम्पनी स्थापना गरिएको छ। 

दुवै जलविद्युत् आयोजना निर्माणको विस्तृत इन्जिनियरिङ्ग डिजाइन तथा बोलपत्र तयार पार्ने कार्यको लागि नियुक्त परामर्शदाताबाट संभाव्यता अध्ययन प्रतिवेदन अद्यावधिक गरी पेश भएको छ। 

आयोजनाको भौगर्भिक अध्ययन, विस्तृत इन्जिनियरिङ्ग डिजाइनका साथै वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन कार्य समेत संयुक्तरुपमा अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। 

९९.८ मेगावाटको तामाकोशी जलविद्युत्  
तामाकोशी जलविद्युत कम्पनी लिमिटेडमार्फत् माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजनाको रुपमा रहेको ९९.८ मेगावाटको आयोजना निर्माण गर्न लागिएको छ। 

परामर्शदाता ट्रयाक्टेबल इन्जिनियरिङ्ग जिएमविएच बाट आयोजनाको विस्तृत डिजाईन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भइसकेको छ। 

आयोजनामा लगानी गर्न प्राधिकरण, कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। प्राधिकरणले चालू आवमा बोलपत्रसम्बन्धी कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।  

६२ मेगावाटको मोदी जलविद्युत्  
४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ र १९.८ मेगावाटको माथिल्लो मोदी ‘बी’ जलविद्युत् आयोजना निर्माण गर्न मोदी जलविद्युत् लिमिटेड कम्पनी स्थापना गरिएको छ। 

हाल निर्माणस्थलमा क्याम्प र पहुँचमार्ग निर्माणको काम सुुरु भएको छ। चालू आर्थिक वर्षभित्र डिजाइन पुनरवलोकनको साथै निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढाइनेछ ।

३७ मेगावाटको त्रिशूली जलविद्युत्  
नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड मुख्य प्रवर्द्घक रहेको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडबाट अपर त्रिशूली ३ए को क्यास्केड आयोजनाको रुपमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको निर्माण  गरिरहेको छ। 

नेपाल सरकारको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयर धनी’ कार्यक्रममा समावेश रहेको आयोजना कोभिड–१९ को प्रकोपलगायतका कारणले गर्दा आयोजना निर्माणसम्पन्न गर्न केही समय लाग्ने प्राधिकरणले जनाएको छ।   

४० मेगावाटको रघुगंगा जलविद्युत्
रघुगंगा जलविद्युत कम्पनी लिमिटेडबाट प्रवर्द्घित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ।  

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भइरहेको आयोजना पनि कोभिड–१९ को प्रकोपलगायतका कारणले गर्दा निर्माण ढिलाइ भइरहेको छ। 

प्राधिकरणले निजी क्षेत्रसँग ६ हजार १७२ मेगावाट विद्युत खरिद सम्झौता
प्राधिकरणले निजी क्षेत्रसँग ६ हजार १७२ मेगावाट विद्युत खरिदबिक्रीको लागि सम्झौता गरेको छ। प्राधिकरणले निजी क्षेत्रका ३ सय ४५ आयोजनाको विद्युत् खरिदको लागि सम्झौता गरेको हो। 

प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै ५ वटा आयोजनाको १ सय ८३ मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेको छ। 

प्राधिकरणले रन अफ रिभर, पिकिङ्ग रन अफ रिभर तथा जलाशययुक्त गरी यी तीन प्रकारका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत ऊर्जाको दररेट निर्धारण गरिएको उल्लेख गरेको छ।  

आर्थिक वर्ष २०७७÷७८ मा निजी क्षेत्रबाट ११९ मेगावाटका ११ नयाँ आयोजनाको निर्माण सम्पन्न गरेको छ। 

योसहित निजी क्षेत्रबाट प्रवर्द्घित ८१४.६५ मेगावाटबराबरका १०८ आयोजना सञ्चालनमा आएका छन्।

यसैगरी, निजी क्षेत्रबाट प्रवर्द्घित ३५०६.८० मेगावाटबराबरका १३८ आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने १८५१.३० मेगावाटका ९९ आयोजनाहरू विकासका विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .