समाज


जसले ‘मृतक’हरुको संगठन बनाए

जसले ‘मृतक’हरुको संगठन बनाए

लाल बिहारी मृतक


नेपालखबर
भदौ ४, २०७८ शुक्रबार ७:४, काठमाडौँ

पदेसर यादव जिउँदै र सञ्चै छन्। त्यसैले आफ्नो मृत्यु भइसकेको थाहा पाउँदा उनी तीनछक्क परे। 

८० वर्ष पुग्न लागेका उनकी छोरी र ज्वाइँको मृत्यु भयो। त्यसपछि आफ्ना दुई नातिनातिना उनैले हुर्काउनुपर्ने भयो। तिनको शिक्षा र हेरचाहको खर्च जुटाउन उनले आफ्नो बुबाबाट अंशमा पाएको गाउँको जग्गा बेचे। 

त्यसको केही महिनापछि उनलाई विचित्रको फोन आयो। 

‘मैले जग्गा बेचेको मान्छेले मविरुद्ध मुद्दा छ भनेर फोन ग¥यो। मेरो भतिजो ‘काका त मरिसके, यो जग्गा बेच्ने मान्छे जालसाजी हो’ भन्दै हिँडिरहेको रहेछ,’ यादवले भने। 

कोलकातामा बसिरहेका यादव तुरुन्त उत्तर प्रदेशको आफ्नो गाउँ आजमगढतिर लागे। गाउँमा उनलाई देख्दा मानिसहरु हैरान भए।

‘मान्छेहरु भूत देखेझैँ मलाई ट्वाल्ल परेर हेरिरहेका थिए। ‘तँ त मरिसकेको होइन? तेरो काजक्रिया समेत भइसक्यो!’ भने।’

यादव आफ्नो भतिजासँग नजिक थिए। भतिजा उनलाई भेट्न कोलकाता पुगिरहन्थे। तर, जब यादवले जग्गा बेच्ने कुरा गरे, तब भतिजाले उनलाई भेट्न जान छाडे। 

त्यसपछि यादवले थाहा पाए, भतिजोले नै उनको जग्गा आफ्नो नाममा पारेका रहेछन्।

‘उसले त ‘यो मान्छेलाई मैले जिन्दगी देखेको छैन, मेरो काका त मरिसके’ भन्यो,’ यादवले सुनाए, ‘तर, मैले सोधेँ, ‘म यहीँ तेरै अगाडि जिउँदै उभिइराखेको छु। तैँले कसरी चिन्दिनँ भन्छस्?’

यादव थुप्रै दिन रोएर बसे। त्यसपछि आफूलाई सम्हाले र भारतको जीवित मृतकहरुको संगठनलाई गुहारे।

यो संगठन लाल बिहारी मृतकले चलाउँछन्। ७० पुग्न लागेका उनलाई मृत घोषित हुनुको कष्टबारे दुईचार कुरा थाहा छ। आफ्नो जीवनको करिब एक तिहाइ हिस्सा उनले मृत व्यक्तिका रुपमा बाँचेका छन्। 

बिहारी अत्यन्त गरिब परिवारका हुन्। उनले कहिल्यै लेखपढ गर्न सिकेनन्। किनभने सात वर्षको उमेरमै उनलाई सारी कारखानामा काम गर्न पठाइएको थियो। २० कटेपछि उनले आफ्नै कपडा कारखाना खोले। तर, व्यापार अघि बढाउन उनलाई ऋण चाहिने भयो, त्यसका लागि बैंकमा धितो राख्नुपर्ने भयो।

त्यसैले उनी बुबाबाट अंशमा पाएको जग्गा धितो राख्न आजमगढ जिल्लाकै आफ्नो गाउँ खलिलावादको स्थानीय सरकारको कार्यालयमा गए। लेखापालले कागजातमा उनको नाम भेट्टायो। सँगै उनको मृत्युको प्रमाणपत्र समेत फेला प¥यो।

बिहारीले आफूलाई देखाएर आफू जिउँदै भएको दलिल गरे तर कसैले उनको कुरा सुनेन।

‘तिमी मरिसक्यौ भनेर यहाँ स्पष्ट लेख्या छ,’ लेखापालले उनलाई भन्यो।

बिहारीको मृत्यु दर्ता गरेर उनको सारा सम्पत्ति उनकै काकाको परिवारमा नामसारी गरिएको रहेछ। 

यो कर्मचारीको गल्ती थियो कि काकाले गरेको ठगी, आजको दिनसम्म बिहारीले मेसो पाएका छैनन्। जे होस्, बिहारी बर्बाद भइसकेका थिए। उनले कारखाना बन्द गर्नुप¥यो। उनको परिवार असहाय बन्यो।

तर, संघर्ष नगरी आफ्नो कथित मृत्युलाई स्वीकार्ने पक्षमा थिएनन् बिहारी। चाँडै नै उनले थाहा पाए, यस्तो समस्या भोग्ने उनी एक्लो व्यक्ति थिएनन्। देशभरका थुप्रै मानिस आफन्तबाटै ठगिइरहेका थिए। जसले सम्पत्ति हात पार्न तिनलाई मृत घोषित गरेका थिए। 

यस्ता व्यक्तिहरुलाई एकै ठाउँ ल्याउन बिहारीले जीवित मृतकहरुको संगठन खोले। उत्तर प्रदेशमा मात्र यस्ता मानिसको संख्या ४० हजारजति रहेको अनुमान छ। ती प्रायः गरिब, निरक्षर र तल्ला जातिका छन्। 

बिहारीले आफ्नो नामको पछाडि ‘मृतक’ पनि जोडे। त्यसपछि सञ्चारमाध्यमको ध्यान खिच्न अरुसँग मिलेर प्रदर्शन आयोजना गरे। तर, परिस्थिति बदल्न त्यति मात्र काफी थिएन। 

आफू जीवितै छु भनेर प्रमाणित गर्न बिहारीले आम चुनाव लडे। उनी एक मृत व्यक्तिको नाम मतपत्रमा राख्न सफल पनि भए। तैपनि उनले सरकारी कर्मचारीलाई आफू जीवित छु भनेर विश्वास दिलाउन सकेनन्। तीन पटक आमरण बसेर उनले झण्डै ज्यान समेत दिए। 

अन्ततः निराश भएर उनले कानुन तोड्ने निर्णय गरे। उनले आफ्नै काकाको बच्चा अपहरण गरे। उनलाई आशा थियो– प्रहरीले उनलाई गिरफ्तार गर्नेछ। जसका कारण उनी जीवित रहेको स्वीकार्न सरकार बाध्य हुनेछ। किनभने मृत व्यक्तिलाई प्रहरीले पक्रिन सक्दैन। तर, उनको चाल प्रहरीले बुझ्यो र यो मामिलामा हात हाल्न मानेन।

अन्तिममा आफ्ना यी सिर्जनशील उपायका कारण नभई उनलाई जिउँदैमा मृत घोषित गर्ने व्यवस्थाले नै बिहारीलाई न्याय दियो। आजमगढका एक नयाँ जिल्ला न्यायाधीशले उनको मुद्दा दोहो¥याएर हेरे र मृतकका रुपमा बाँचेको १८ वर्षपछि लाल बिहारी पुनः जीवित भए।

उनको जस्तै समस्या झेलेका भारतभरका हजारौँ मानिसलाई आफ्नो संगठनले सहयोग गरिरहेको बिहारी बताउँछन्। 

तर, थुप्रै मानिसहरु आफूजत्तिकै भाग्यमानी नभएको उनको भनाइ छ। वर्षौं कानुनी लडाइँ लडेर केहीले निराशामा आत्महत्या गरेको र अरु थुप्रैको स्वाभाविक मृत्यु भइसकेको उनले बताए।

यो संघर्षमा सुरुदेखि लागेका एक व्यक्ति हुन् तिलक चन्द धाकड। ७० नाघिसकेका उनको स्वास्थ्यमा अनेक समस्या छन्।

मध्य प्रदेशका धाकड तन्नेरी हुँदा बालबच्चाको भविष्य सुधार्ने सपना बोकेर सहर पसेका थिए। उनले गाउँको जग्गाजमिन एक दम्पतीलाई भाडामा दिएका थिए।

एउटा कागजमा सही गर्न गाउँ फर्किंदा उनले थाहा पाए– उनको जमिन त अर्कैको नाममा रहेछ, किनभने उनको मृत्यु दर्ता भइसकेको रहेछ। 

‘स्थानीय अधिकारीले म मरिसकेको कुरा सुनाए,’ धाकड सम्झिन्छन्।

धाकडले जसलाई जमिन भाडामा दिएका थिए, तिनैले उनको मृत्यु दर्ता गराएका थिए। त्यसपछि पत्नी चाहिँले आफूलाई धाकडको विधवा भन्दै अदालत गएर जग्गा अर्काको नाममा पास गराएकी रहिछन्।

धाकडले जग्गा हडपेको आरोप लगाएका व्यक्तिहरुलाई सम्पर्क गर्दा उनीहरुले जवाफ दिन अस्वीकार गरे। 

जीवित मृतकहरुको कयौँ मुद्दा लडेका वकिल अनिल कुमार लालबिहारीको जिल्ला आजमगढमा मात्र यस्ता घटना कम्तीमा एक सय वटा भएको बताउँछन्। 

उनका अनुसार प्रत्येक मुद्दा जटिल छन्। कहिलेकाहीँ कर्मचारीले गल्ती गरेको देखिन्छ भने अरु घटनामा कर्मचारीले घुस खाएर नक्कली मृत्यु प्रमाणपत्र जारी गरेको देखिन्छ।

अनिल कुमारले लडेको एउटा मुद्दामा उनको पक्षका व्यक्तिलाई जीवित साबित गर्न ६ वर्ष लागेको थियो। त्यसको २५ वर्ष बित्दा पनि ती व्यक्तिलाई मृत घोषित गर्ने व्यक्तिविरुद्ध अदालतले फैसला गरेको छैन। 

लालबिहारी मृतक मृत घोषित भएको ४५ वर्ष नाघिसक्यो। र, उनले आफूलाई जीवित साबित गर्न सफल भएको पनि दुई दशक पुगिसक्यो। तर, उनी अझै पनि हरेक वर्ष आफ्नो पुनर्जन्मदिनको भोज आयोजना गर्ने गर्छन्। भोजमा एउटा ठूलो र सुन्दर केक सजाइएको हुन्छ। तर, जब पाहुनाहरुको माझ बिहारी केक काट्छन्, तब थाहा हुन्छ, त्यहाँ केकको सट्टा काटन मात्र हुन्छ।

‘भित्र रित्तो हुन्छ। केही सरकारी कर्मचारी ठ्याक्कै त्यस्तै हुन्छन्, रित्तो र अन्यायी,’ उनी भन्छन्, ‘त्यसैले म खुसीमा केक काट्दिनँ। यो हामी बाँचिरहेको समाजको वर्णन हो।

६६ वर्ष पुगिसके बिहारी। यो संघर्षबाट अवकाश लिने योजना उनी बनाउँदै छन्।

‘जीवित मृतकहरुको संगठन चलाइराख्ने पैसा र उर्जा अब मसँग छैन,’ उनी भन्छन्, ‘यसको जिम्मा लिने पनि कोही छैन।’

उनको आशा थियो, अन्यायमा परेकाहरुलाई सञ्चारमाध्यमले साथ दिनेछन् र सरकारले घुसखोरहरुलाई कडा सजाय दिनेछ। तर, त्यस्तो भएन। 

आफूलाई जिउँदो साबित गर्न १८ वर्ष संघर्ष गरेका यी व्यक्ति एक दिन वास्तवमै मर्नेछन्। त्यो पनि आफूले चाहेको परिवर्तन ल्याउन नपाई। बीबीसीबाट


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .