कारोबार


इन्द्रचोकः जहाँ दैनिक दुई लाखको लस्सी बिक्छ!

इन्द्रचोकः जहाँ दैनिक दुई लाखको लस्सी बिक्छ!

कृष्ण आचार्य
कात्तिक ५, २०७६ मंगलबार ६:५३,

काठमाडौं चिस्सिँदै छ।

बिहान–बेलुका मानिसहरु न्यानो लुगा लगाउन थालिसकेका छन्। तर, इन्द्रचोक चिस्सिएको छैन।

चोकवरपर रहेका लस्सी पसलहरुमा भीड घटेको छैन। मानिसहरु लाममा बसेर मज्जाले लस्सी पिइरहेका छन्।

ठूलो गिलासको ८० र सानो गिलासको ४५ रुपैयाँ। वसन्तपुर, न्युरोड र असन क्षेत्रमा किनमेलका लागि आउने मानिसहरु इन्द्रचोकमा आएर ठोक्किन्छन्। झट्ट उनीहरुको आँखा चोकमा रहेका रस्सी पसलमा पुग्छ।

पहिल्यै त्यहाँको स्वाद चाखेकाहरु त एक गिलास लस्सी नखाई पर्खिँदैनन् तर जो पहिलोपटक त्यहाँ पुगेका छन्, उनीहरुलाई पनि भीडले तानिहाल्छ। वृद्धवृद्धा, किशोर–किशोरी होऊन् या बालबालिका, इन्द्रचोकको लस्सीले कसको मन नलोभ्याउला र ! विदेशीहरु पनि भीड देखेर मन थाम्न सक्दैनन्।

lassi 11
लस्सीकाे स्वादमा रमाउँदै एक बालिका। तस्बिरः प्रविन काेइराला

‘पहिलोपटक खाएको साह्रै मिठो रहेछ’, २६ वर्षीया अञ्जना राउत इन्द्रचोकमा रहेको एक दशक पुरानो मिठो लस्सी पसलमा लस्सी खाएपछि भन्दै थिइन्, ‘म खासमा सपिङका लागि न्युरोड आएकी थिएँ। साथीले लस्सी खान जाम भनेर ल्याएकी हो।’

दैनिक दुई लाखको लस्सी
इन्द्रचोकको आकाश भैरव मन्दिर छेउमा हाल लस्सीका चारवटा पसल छन्। त्यसमध्ये सबैभन्दा पुरानो लस्सी पसल मिठो लस्सीको हो। सञ्चालक सुनीलमान सिंह कुनै समय त्यस क्षेत्रमा चकलेट बेच्थे। तर, चकलेट व्यवसाय खासै नचलेपछि उनले लस्सीमा हात हाले। 

lassi 2
हेर्दै पिऊँ पिऊँ लाग्ने लस्सी भरिएका गिलास। तस्बिरः प्रविन काेइराला

त्यतिबेला काठमाडौंमा लस्सी पसल भेट्टाउन मुस्किल पर्थ्याे। इन्द्रचोकमा हुने त कुरै थिएन। त्यसैले पनि सुनीलमानले नयाँ उपाय लगाएका थिए, हस्याङ–फस्याङ गर्दै इन्द्रचोक भएर हिँड्ने मानिसलाई लस्सी खुवाएर शीतलता प्रदान गर्ने। सँग–सँगै स्वाद पनि त गज्जबको हुन्थ्यो।

विस्तारै सुनीलमानको पसलमा लस्सीको व्यापार बढ्दै गयो। खुवा, काजु, किसमिस हालेर बनाएको लस्सीले धेरैको मन जित्दै गयो। र, उनले हाल चार जना स्टाफ नै राखेर यो व्यवसाय चम्काइरहेका छन्।

lassi 6
ग्राहकलाइ लस्सी दिँदै लस्सी पसले। तस्बिरः प्रविन काेइराला

उनको पसलबाट दैनिक नौ सयवटा गिलाससम्म लस्सी बिक्री हुन्छ। ‘तिहारपछि फागुनसम्म अफ सिजन हो’, सञ्चालक सुनीलमान भन्छन्, ‘त्यसबेला त्यस्तै दैनिक तीन–चार सय गिलास बिक्री हुन्छ।’

त्यस्तै, नौ वर्षअघि खुलेको जनकपुर दही लस्सी भण्डारमा पनि दैनिक सात–आठ सय गिलास बिक्री हुन्छ। यसका सञ्चालक हुन्, शिवशंकर प्रसाद साह।

अन्य दुई नयाँ पसलहरु पनि त्यहाँ खुलेका छन्। ती पसलमा दैनिक तीन–चार सय गिलास लस्सी बिक्री हुन्छन्। यसरी हेर्दा त्यहाँ सिजनमा दैनिक २५ सय (ठूलो) गिलास लस्सी बिक्री हुने देखिन्छ। अर्थात्, इन्द्रचोकमा दैनिक दुई लाख रुपैयाँबराबरको लस्सी बिक्री हुन्छ। यही हिसाबले यहाँ मासिक ५० लाखभन्दा बढीको लस्सीको कारोबार हुन्छ।

व्यापारीको मारामार
सुनीलमानको पसल छेउमा भरतमान सिंहले वैशाखदेखि लस्सी पसल खोलेका छन्। उनले सय वर्ष पुरानो पुर्खाको किराना पसल चल्न छाडेपछि लस्सी पसल थापेका हुन्। अहिले व्यापारबाट सन्तुष्ट छन् उनी।

त्यस्तै, मधुसुदनलाल प्रधानले पनि छेउमै इन्द्रचोक लस्सी पसल खोलेको चार महिना भयो। पहिला किराना पसल गरेका उनले छेउछाउमा लस्सीको क्रेज बढ्दै गएको र आफ्नो पसलमा ग्राहकहरु घट्दै गएको देखेपछि लस्सीमा भविष्य देखेका हुन्।

lassi 5
इन्द्रचाेकमा रहेकाे मिठाे लस्सी पसल। तस्बिरः प्रविन काेइराला

‘किराना पसलबाट फाइदा नै भएन। दिन काट्ने मेलोमात्र कति गर्नु भनेर लस्सी पसल खोलेको हुँ’ मधुसुदन भन्छन्, ‘लस्सीको व्यापारबाट अहिले सन्तुष्ट छु।’

मिठो लस्सी, जनकपुरको लस्सी, फ्रेस स्विट लस्सी र इन्द्रचोक लस्सी पसललाई यतिबेला भैरव मन्दिर छेउमा लस्सी बेच्न भ्याइनभ्याइ छ। जनकपुर लस्सी अन्य तीनभन्दा अलि पर रहेकाले एकल प्रतिस्पर्धामा छ। तर, अन्य तीन पसल आ–आफ्नो लस्सीको तारिफ गर्दै ग्राहक बोलाइरहेका देखिन्छन्।

‘सबैभन्दा पुरानो लस्सी पसल यता’, एक ठाउँबाट आवाज आउँछ। अर्को पसलका व्यापारी भनिरहेका हुन्छन्, ‘मिठो लस्सी यता!’ यसरी लस्सीको व्यापार प्रतिस्पर्धात्मक बनेको छ।

lassi 9
लस्सी माग्दै एक ग्राहक। तस्बिरः प्रविन काेइराला

यस्तै ताल हो भने इन्द्रचोकमा रहेका सबै पसल लस्सी पसलका रुपमा स्थापित हुने निश्चित छ। कतिपयले त फोनमा आफूहरु लस्सी चोकमा रहेको भन्दै लोकेसन दिने गरेको सञ्चालक सुनीलमान बताउँछन्।

‘हामी लस्सीको गुणस्तरमा सचेत छौँ। भक्तपुरको दही ल्याएर लस्सी बनाउँछौँ’, सबै व्यापारीको एउटै आवाज छ।

२५ बाट ८० रुपैयाँ
एक दशकअघि इन्द्रचोकमा ठूलो गिलास लस्सीको मूल्य २५ रुपैयाँ र सानो गिलासको १५ रुपैयाँ थियो। विस्तारै लस्सीको मूल्य बढ्दै अहिले ठूलो गिलासको ८० रुपैयाँ पुगेको छ।

सुरुमा लस्सीको त्यस्तो क्रेज पनि थिएन। सुरुवाती दिनमा दैनिक १०–२० गिलास लस्सी बिक्री हुन्थ्यो। तर, लस्सी खानेहरुले प्रचार–प्रसार गर्दै गएपछि व्यापार बढ्दै गयो। दैनिक ५० गिलास, सय गिलास हुँदै बिक्री आकाशियो।

lassi 3
लस्सीका गिलास। तस्बिरः प्रविन काेइराला

त्यहाँ लस्सी पिउनेका लागि बस्ने ठाउँ छैन। पैसा दियो, लस्सी पियो अनि आफ्नो बाटो लाग्यो। त्यसैले पनि लस्सीको व्यापार छिटो–छिटो हुन्छ। त्यही पनि पारखीहरुबीच लस्सी खान ठेलमठेल चल्छ। जहाँ बढी भीड देखिन्छ, त्यहीँ भीड थपिन्छ। 

‘सानो गिलास लस्सीको मूल्य कोकको भन्दा कम पर्छ। ठूलो गिलासको कफीको भन्दा कम पर्छ’ लस्सी खाइरहेकी शान्ति श्रेष्ठ भन्छिन्, ‘त्यसैले म त शरीरलाई खराब गर्ने पेय पदार्थभन्दा लस्सी नै खान रुचाउँछु।’ काठमाडौंबासी उनले आफूले छ वर्षदेखि इन्द्रचोकको लस्सी खाइरहेको बताइन्।

lassi 7
लस्सी पसलमा पिउने ग्राहककाे भीड। तस्बिरः प्रविन काेइराला

‘पैसा बढिरहेको छ तर गुणस्तर अलि खस्किएको हो किजस्तो लाग्छ’, शान्ति भन्छिन्, ‘पसल धेरै खुलेका छन्, अब गुणस्तरमा पनि ध्यान दिनुपर्छ।’ लस्सीका लागि भक्तपुरको दही प्रयोग गरे र लस्सी सफा भए त्यसै मिठो हुने उनको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .