ad ad

कारोबार


डेढ अर्ब लागतमा चोभारमा तयार भयो सुख्खा बन्दरगाह (तस्बिरहरु)

डेढ अर्ब लागतमा चोभारमा तयार भयो सुख्खा बन्दरगाह (तस्बिरहरु)

वसन्त अर्याल
भदौ १८, २०७८ शुक्रबार १४:१६, काठमाडौँ

काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह सञ्चालनको लागि तयार भएको छ। 

२२० रोपनी क्षेत्रफलमा निर्माण गरिएको बन्दरगाहको भौतिक संरचना तयार भएको हो। 

इन्टरमोडल यातायात विकास समितिले चोभार सुख्खा बन्दरगाहमा ५ सय कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको जनाएको छ। 

करिब १ अर्ब ६० करोड लागतमा निर्माण गरिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि ३ वटा भवन निर्माण गरिएको छ। सामग्री भित्र्याउन र पठाउन ३ वटा गोदाम तयार भएका छन्। 

‘भारत वा चीनको बाटो हुँदै आएका सामग्री सिधै चोभारमा ल्याउन सकिन्छ’, समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘यसले व्यवसायीको खर्च र समय बचत हुन्छ।’

बन्दरगाह प्रवेशको लागि ३ वटा गेट निर्माण गरिएको छ। बन्दरगाहलाई मुख्यतः २ भागमा विभाजन गरिएको छ। जसमा विदेशबाट आयातनिर्यात र आन्तरिकको लागि फरक गेट प्रयोग गर्नुपर्ने हुन्छ। 

बन्दरगाहमा सुरक्षाको लागि सशस्त्र प्रहरीको क्याम्पबाहेक सिसी क्यामेरा, लाइटको व्यवस्था गरिएको छ। बस्तीको नजिकै बन्दरगाह भएकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न मेसिन जडान गरिएको छ। 

हाल बन्दरगाह पुग्न बल्खु–चोभार सडकखण्ड प्रयोगमा आउनेछ। बन्दरगाहको निर्माण काठमाडौं–तराई द्रुतमार्ग सञ्चालनपछि बढी प्रयोगमा आउने विकास समितिले जनाएको छ। 

विदेशबाट आउने ६० देखि ७० प्रतिशत सामग्री काठमाडौंमै खपत हुँदा बोर्डरमा हुने बन्दरगाहको तुलनामा सहज हुनेछ। 

‘द्रुतमार्ग निर्माणपछि यसको बढी उपयोग हुन्छ’, गजुरेलले भने, ‘चीन र भारतबाट आउने रेलको जक्सन चोभार हुन्छ।’

हाल बोर्डर क्षेत्रमा पास गर्नुपर्ने गाडी सिल गरेर सिधै काठमाडौं ल्याइनेछ। चुहावट नियन्त्रणलाई भीसीटीएस प्रणालीको उपयोग गर्न सकिने गजुरेलले बताए। 

२०७५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै १८ महिनामा सक्ने लक्ष्य राखिएको थियो। तर सुरुमा स्थानीयको अवरोधले ६ महिना काम सुरु हुन पाएन। 

त्यसपछि कोभिड महामारीको लकडाउनले ६ महिना निर्माणमा ढिलाइ भएको उनले बताए। 

‘हामीले भौतिक संरचना पूरै तयार पारिसकेका छौँ’, गजुरेलले भने, ‘अब कहिलेदेखि सञ्चालन गर्ने सम्बन्धित निकायमा भर पर्छ।’ 

बन्दरगाह सञ्चालन गर्न भन्सार विभागले कार्यालय स्थापना, बैंकका शाखा कार्यलय स्थापना गर्नुपर्छ।

विश्व बैंकको ऋण सहयोगमा चोभारमा सुख्खा बन्दरगाह निर्माण भएको हो। इन्टरमोडल विकास समितिले वीरगन्जमा २, विराटनगर, काँकडभिट्टा, भैरहवा, तातोपानीमा सुख्खा बन्दरगाह निर्माण गरेको छ। 

कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको लागि वातावरणीय प्रभाव मूल्यांकन तयार भइसकेको छ। छिट्टै निर्माणको काम सुरु हुने समितिको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .