ad ad

कारोबार


१ महिना पछि धकेलियो हिमालयन–इन्भेष्टमेन्ट मर्जर, मंसिर १० लाई नयाँ भाका

१ महिना पछि धकेलियो हिमालयन–इन्भेष्टमेन्ट मर्जर, मंसिर १० लाई नयाँ भाका

दीपक भट्ट
असोज ८, २०७८ शुक्रबार १२:२१, काठमाडौँ

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर एक महिना पछि सरेको छ। 

यसअघि दुई बैंकले आगामी कात्तिक १० गते एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका थिए। अब त्यसलाई मंसिर १० गते पुर्याइएको हो। 

उनीहरुले मुख्यतः गत आवको अन्तिमसम्मको कारोबारलाई अडिट गरी सो रिपोर्ट साउन महिनाभित्र नै राष्ट्र बैंकमा पेश गर्ने भनेका थिए। तर अडिट रिपोर्ट गत भदौ अन्तिममा मात्रै तयार भएकोले मर्जरको प्रक्रियामा ढिलाइ हुने भएको हो। 

दुई बैंकको प्रस्तावित मर्जरले नेपाल राष्ट्र बैंकबाट असार ६ गते सैद्धान्तिक स्वीकृति पाएको थियो। स्वीकृति पाएको ३ महिना अवधिमा अर्थात् असोज ६ सम्म मर्जरको प्रक्रिया सक्याउने र त्यसपछि कात्तिक १० गतेभित्र एकीकृत कारोबार गर्ने भन्ने थियो। 

तर तोकिएको समयमा नभएपछि अहिले फेरि दुई बैंकले राष्ट्र बैंकलाई समय थपिदिन अनुरोध गरेका छन्।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नेपालखबरसँग भने, ‘हामीले कात्तिक १० गतेदेखि एकीकृत कारोबार गर्ने भन्ने कुरा गरेका थियौँ। अब त्योचाहिँ नहुने भएको छ।’ 

१ महिना ढिला हुने भएपछि सोहीअनुसार अरु प्रक्रिया समेत मिलाइरेहको उनले जानकारी दिए। 

‘साउनमा सम्भवतः अडिट रिपोर्ट आउने कुरा थियो। तर भदौ अन्तिममा हामीले अडिट रिपोर्ट पाउन सक्यौँ’, सीईओ राणाले भने, ‘त्यसकारण पनि ढिलाइ भएको हो। त्यो रिपोर्ट हामीले राष्ट्र बैंकलाई समेत पठाइसकेका छौँ। त्यसलाई राष्ट्र बैंकले स्वीकृति दिएको खण्डमा हाम्रो सञ्चालक समितिको बैठक बसेर निर्णय गर्ने हो।’ 

सुरुमा अर्थात् वैशाखमा मर्जर सम्झौता हुँदा आर्थिक वर्षको अन्त्यसम्म मर्जरको प्रक्रिया सकिने बताइए पनि कोरोना प्रभाव र अडिटमा समय लागेको भन्दै असोजसम्म मर्जर सकिने गरी प्रक्रिया अघि बढाइएको थियो। 

अब मंसिरलाई मर्जरको नयाँ भाका सारिएको हो। 

मर्जरको लागि हुनुपर्ने दोस्रो चरणको डीडीए (सम्पत्ति तथा दायित्व मूल्याङ्कन) समेत सम्पन्न भइसकेको छ। 

मर्जरको प्रमुख आधार मानिने डीडीए समेत तयार भएकोले त्यो एक आपसमा मान्ने समेतको सहमति भएको छ। 

हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकले वैशाख ३० मा मर्जर सम्झौता हुँदा सेयर स्वामित्व अर्थात् स्वाप रेसियो १ः१ रहने उल्लेख थियो।

मर्जरको छलफल हुँदा समेत डीडीए भएको थियो। त्यसमा पनि स्वाप रेसियो १ः१ नै गर्न सकिने गरी रिपोर्ट आएको थियो।

मर्जरको छलफलका लागि सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्दा त्यसबेला पनि कुन बैंकको सेयर स्वामित्व कस्तो अवस्थामा ग्रहण गर्न सकिन्छ भनेर प्रमुख विषय उठेको थियो।

हालसम्म बैंकहरुको मर्जरसम्बनधी डीडीए नेपाली कम्पनीले गरेको थिएन। तर हिमालयन र इन्भेस्टमेन्ट बैंकले भने नेपाली कम्पनीमार्फत डीडीए गराएका थिए। शशिन सत्यालको टीआर उपाध्याय एकाउन्टिङ फर्मले दुई बैंकको डीडीए गरेको हो।

उक्त रिपोर्टअनुसार हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेस्टमेन्टको १०० रुपैयाँ हुने देखिएको छ।

त्यस्तै, १० प्रतिशतसम्म तलमाथि परेको खण्डमा समेत १ः१ को स्वाप रेसियोमा जान सकिने सहमति भएकोले यसले कुनै विवाद समेत छैन।

वैशाख ३० मा मर्जर सम्झौता भएपछि अहिले पुनः भएको डीडीएले पनि १ः१ को स्वाप रेसियोमा नै मर्जरमा जान सकिने रिपोर्ट आएको छ। 

अडिट रिपोर्ट राष्ट्र बैंकमा पठाइसकेकोले त्यो प्रस्ताव राष्ट्र बैंकले पास गरेको खण्डमा २१ दिनको समय राखी साधारणसभा हुनेछ।

त्यसबाट पारित भएपछि औपचारिक रुपमा मर्जरको प्रक्रिया पूरा हुनेछ।

मर्जरपछि हिमालयन बैंकका इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पृथ्वीबहादुर पाँडे नै अध्यक्ष रहनेछन्।

त्यस्तै, सीईओमा अशोक राणा र डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकका हाल सीईओ रहेका ज्योतिप्रकाश पाण्डे रहने सहमति भएको छ।

दुई बैंक एक भएपछि यो नै नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। यो बैंकको कुल चुक्ता पुँजी नै करिब २७ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .