ad ad

कारोबार


इन्डक्सनमा सरकारको जोड, व्यापारी भन्छन्– माग पनि बढ्नथाल्यो

इन्डक्सनमा सरकारको जोड, व्यापारी भन्छन्– माग पनि बढ्नथाल्यो

खाद्यकम्पनीबाट इन्डक्सन बाेकेर फर्किँदै उपभाेक्ता। फाइल तस्बिर


वसन्त अर्याल
मंसिर १३, २०७८ सोमबार ११:४५, काठमाडौँ

पछिल्लो समय नेपालीका भान्साकोठामा विद्युतीय मेसिनरीको प्रयोग बढिरहेको छ। 

भन्साकोठामा इन्डक्सन, इन्फ्ररेड, राइस कुकर, इलेक्ट्रिक किट्लीजस्ता विद्युतीय वस्तुहरु देखिनथालेका छन्। 

यी वस्तुको कारोबार गर्ने व्यवसायीहरुका अनुसार पनि विद्युतको सहज आपूर्तिसँगै विद्युतीय सामग्रीको बिक्री बढेको छ। 

यता सरकारले विद्युत् खपत बढाउने भन्दै भान्साबाट ग्यास विस्थापन गर्ने नीति अघि सार्दै विद्युतीय चुल्हो ‘इन्डक्सन’, इन्फ्ररेडजस्ता उपकरण प्रयोग गर्न उपभोक्तालाई आग्रह गरिरहेको छ। 

त्यसले उपभोक्तालाई केही आश्वस्त पार्नसकेको यी वस्तुको बिक्रीले पनि देखाउँछ। 

सीजीका ब्रान्ड म्यानेजर दिवाकरण नगरकोटीले पछिल्लो वर्ष इन्डक्सन चुल्होको माग बढेको बताए। 

‘इन्डक्सन चुल्हो पहिलाको तुलनामा अहिले राम्रो बिक्री भइरहेको छ। अहिले ग्यासभन्दा पनि इलेक्ट्रिक चुल्हो प्रयोग गर्न उत्साहित भइरहेका छन्’, नेपालखबरसँगको कुराकानीमा नगरकोटी भन्छन्, ‘ग्यासभन्दा हेर्दा पनि इन्डक्सन चुल्हो राम्रो देखिन्छ। इन्डक्सनमा अटोमेटिक टाइमर हुन्छ। इन्डक्सनबाट पकाउँदा खाना डढ्ने, भाँडा बिग्रिनेजस्ता समस्या हुँदैनन्।’

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ लाख ५२ हजार ५८८ इन्डक्सन स्टोभ आयात भएका छन् भने इन्फ्ररेड स्टोभ २४ सय आयात भएका थिए। 

त्यसअघिको आर्थिक वर्ष ०७६÷०७७ मा १० हजार ४३५ इन्डक्सन चुल्हो मात्रै आयात भएको थियो। 

चालू आर्थिक वर्षको ४ महिनामा इन्डक्सन स्टोभ ११ हजार २७६ वटा आयात हुँदा इन्फ्ररेड स्टोभ ५ हजार ७४८ वटा आयात भएका छन्। 

भान्सा कोठामै प्रयोग हुने इलेक्ट्रिक किट्ली गत वर्ष ५ लाख २३ हजार ७४१ नेपाल भित्रिँदा राइस कुकर ४ लाख ४२ हजार आयात भएका छन्।  

ग्यासभन्दा पनि इन्डक्सन चुल्होमा छिटो पाक्ने हुँदा पछिल्लो वर्ष इन्डक्सनको चुल्होको बिक्री बढेको बताउँछन् सीजीका नगरकोटी। 

खाद्य कम्पनीले ५ देखि ६ हजार चुल्हो खरिद गर्दै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयकी विभागीय प्रमुख शर्मिला न्यौपाने सुवेदीले चालू आर्थिक वर्षमा ५ देखि ६ हजार इन्डक्सन चुल्हो खरिद गर्ने योजना रहेको बताइन्।

कम्पनीले पहिलाको स्टक सकिएपछि थोरै मात्रामा बजारबाट खरिद गरेर बिक्री गरेको थियो। 

‘बीचमा माग बढी नहुँदा हामीले खरिद गरेनौँ। अहिले स्टक नै राखिएको छैन’, सुवेदीले भनिन्, ‘चालू आर्थिक वर्षको कार्यक्रममा इन्डक्सन चुल्हो खरिद गर्ने योजना राखेका छौँ।’

कम्पनीले पहिला नेशनल ट्रेडिङ कम्पनीसँग स्टकमा रहेको इन्डक्सन चुल्हो बिक्री गरेको थियो। ७ हजार ४ सय बढी कम्पनीसँग स्टकमा रहेको बिक्रीपछि व्यापारलाई निरन्तरताको लागि बजारबाट करिब २५० इन्डक्सन चुल्हो बिक्री गरेको सुवेदीले बताइन्। 

बीचमा ग्राहकले चासो राख्न छाडेपछि विद्युतीय सामग्री बिग्रिने डरले स्टकमा नराखेको व्यापार कम्पनीले जनाएको छ। 

‘अहिले इन्डक्सन चुल्होको विषयमा चर्चा चलिरहेको छ। सरकारले विद्युतीय चुल्होको खपत बढाउनुपर्छ भनिरहेको छ’, उनले भनिन्, ‘सरकारले विद्युत् महशुल घटाएसँगै इन्डक्सन चुल्हो बढी प्रयोग हुने विश्वास छ।’ 

चालू आर्थिक वर्षमा ५ देखि ६ हजारसम्म इन्डक्सन चुल्हो खरिद गर्ने योजना बनाएको छ। तर बजारको मागअनुसार त्यसमा बढी वा कम हुनसक्ने सुवेदीले बताइन्। 

इन्फ्ररेडभन्दा इन्डक्सन चुल्होको बिक्री
इन्फ्ररेड चुल्हो पहिला बढी प्रयोग हुने क्वाइल हिटरको विकसित रुप हो। यसको इन्डक्सन जस्तै लुक्स हुन्छ तर त्यसमा रातो बल्छ।  

इन्फ्ररेड विद्युतीय चुल्लोको फाइदा ग्यासमा प्रयोग हुने जुनसुकै भाँडा प्रयोग गर्न सकिन्छ। 

इन्डक्सन चुल्होमा सबै प्रकारका भाँडाको प्रयोग गर्न सकिँदैन। इन्फ्ररेड चुल्होले बढी विद्युत् खपत हुन्छ। नेपालमा इन्फ्ररेडभन्दा इन्डक्सन चुल्हो किन्ने नै बढिरहेको व्यवसायी बताउँछन्।  

नेपालमा इन्डक्सन र इन्फ्ररेड चुल्होको बिक्री बढे पनि नेपालमै उत्पादन भने हुँदैन। विभिन्न कम्पनीले भारत, चीनबाट आयात गरेर बिक्री गर्दै आएका छन्। 

‘नेपालमा उत्पादन हुँदैन। बाहिरबाटै आयात गर्ने हो’, सीजीका नगरकोटी भन्छन्, ‘नेपालमा आफैँ उत्पादन गर्न त्यति सहज छैन।’ 

सीजीले इन्डक्सन चुल्हो बाहिरबाटै ल्याएर सीजी ब्रान्डको रुपमा बिक्री गर्दै आएको छ।

‘भाडामा बस्नेलाई छुट्टै मिटर जडान गर्न सकिँदैन’
वर्षात्को समयमा खेर गइरहेको विद्युत् खपत तथा अर्बौँ रुपैयाँको ग्यास विस्थापित गर्ने विद्युतीय चुल्हो प्रयोग बढाउनुपर्ने सरकारले बताउँदै आएको छ। 

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष मात्रै ३६ अर्ब १५ करोड रुपैयाँको एलपीजी ग्यास आयात भएको थियो। 

स्थानीयले ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्त नियमित विद्युत् आपूर्ति र विद्युत् महशुलको विषयमा प्रश्न उठाउने गरेका छन्। 

सरकारले विद्युतीय महशुल घटाए पनि भाडामा बस्नेले त्यसको सुविधा पाएका छैनन्। भाडामा बस्नेले विद्युतीय चुल्हो प्रयोग गर्न छुट्टै प्राधिकरणले छुट्टै मिटरबक्स दिनुपर्ने माग गर्दै आएका छन्। 

नेपाल विद्युत् प्राधिकरणका निर्देशक सुरेश बहादुर भट्टराईले हरेक घरमा मिटर जडान गरिरहेको बताए पनि हरेक कोठा वा फ्लाटमा मिटर जडान गर्न नसक्ने बताए। 

‘हामीले हरेक घरमा विद्युत् जडान गर्ने हो। घरबेटीले भाडामा बस्नेलाई मिटर राखेर बाँड्नुपर्छ’, भट्टराईले भने, ‘घरबेटीले विद्युतमा व्यापार गर्छ भने प्राधिकरणले केही गर्न सक्दैन। स्थानीय तहले त्यसलाई कारबाही गर्नुपर्छ।’

उनले विद्युत् खपत बढाउने इन्डक्सन चुल्हो लगायत घरमा प्रयोग गर्न आग्रह गरे पनि भाँडामा बस्नेले समस्या घरधनीसँगै मिलाउनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .