कारोबार


नेप्सेमा कार्की आएसँगै धितोपत्र बोर्डमा कांग्रेसनिकटको सम्भावना बढेको हो?

नेप्सेमा कार्की आएसँगै धितोपत्र बोर्डमा कांग्रेसनिकटको सम्भावना बढेको हो?

दीपक भट्ट
माघ २१, २०७८ शुक्रबार १९:६, काठमाडौँ

गत असोजतिर पुँजीबजारको नियामकीय तथा व्यवस्थापकीय नेतृत्व गर्ने दुई सरकारी निकायको नेतृत्व एकैसाथ खाली भयो। 

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमार्फत हुनलागेको सेयर खरिदबिक्रीमा जोडिएका कारण नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका नेतृत्वकर्ता पदबाट हट्न बाध्य हुनुपर्यो। 

आरोप लाग्नेबित्तिकै पुँजीबजारको व्यवस्थापन गर्ने निकाय नेपाल स्टक एक्सचेन्जका प्रमुख अर्थात् सीईओ चन्द्र सिंह साउदले आफैँ राजीनामा दिए भने नियामक निकायका प्रमुख अर्थात् अध्यक्ष भीष्म ढुंगानालाई सरकारले नै हटाउने निर्णय गर्यो। 

यही १७ गते अर्थात् गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भने कृष्ण बहादुर कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको छ। योसँगै नेप्सेले नेतृत्व पाएको छ। 

हाल गठबन्धनको सरकार कायम छ। यही सरकारले कात्तिक पहिलो हप्तादेखि यी दुई निकायको प्रमुख नियुक्तिको प्रक्रिया सुरु गरेको थियो। नेप्सेको नेतृत्वमा आउन ११ जनाले आवेदन आवेदन दिएका थिए। 

यहीमध्ये पाल्पा घर भएका कृष्णबहादुर कार्कीलाई मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गरिएको हो। 

सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका कार्कीले पुँजीबजारबारे राम्रो दख्खल राख्ने बताइन्छ। 

निजामती सेवामा उपसचिव रहिसकेका उनी यसअघि बूढीगण्डकी जलविद्युत् आयोजनामा परियोजना संयोजक भएर काम गरिसकेका छन्। 

मन्त्रिपरिषद्मा ११ जनामध्ये तीन जनाको नाम लगिएको थियो। जसमा डा. केशव श्रेष्ठ र रमेश भण्डारी समेत थिए। दुवैलाई पाखा लगाएर कार्कीले नियुक्ति पाएका हुन्। 

कात्तिकमा अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल सदस्यसहितको नेप्सेको सीईओ छनोटका लागि सिफारिस समिति गठन गरेको थियो। 

जसले तीन जनाको नाम छानेर मन्त्रिपरिषद्मा अर्थमन्त्रीमार्फत पठाएको थियो। त्यसमध्ये कार्कीले बाजी मारेका हुन्। 

पुँजीबजारको यी दुई निकायमा कुन पार्टीनिकटकाले नेतृत्वमा आउन पाउलान् भन्ने चासो रहन्छ। यस्तोमा नेप्से सीईओ बनेका कार्कीलाई नेकपा माओवादी केन्द्र निकट मानिएको छ। 

नेप्सेमा माओवादी केन्द्रनिकट, बोर्डमा कांग्रेसनिकट? 
राष्ट्रिय योजना आयोगका एक अधिकारीका अनुसार यी दुई निकायका प्रमुख नियुक्तिबारे यसअघि नै राजनीतिक तहमा भागबण्डा भइसकेको थियो। 

जसमा नेप्सेको जिम्मेवारी माओवादीलाई दिइने र धितोपत्र बोर्डमा नेपाली कांग्रेसनिकटलाई दिइने सहमति भएको थियो। सोहीअनुसार नेप्सेमा कार्की आएका हुन्। 

ती अधिकारीले भने, ‘अब धितोपत्र बोर्डमा कांग्रेसनिकट व्यक्ति चयन हुनेछन्।’ 

दुवै निकाय अर्थ मन्त्रालयमातहतका हुन्। अर्थमन्त्री जनार्दन शर्मा भएको कारणले पनि माओवादीले आफ्ना भाग खोजेको र सोअनुसार नेप्सेको सीईओ दिइएको स्रोतले बतायो। 

यता धितोपत्र बोर्डमा कांग्रेसनिकटका व्यक्ति आउने भनिए पनि सम्भावना कसको रहेको छ भन्ने विषय अझै कौतूहल नै छ। 

धितोपत्र बोर्डमा सरकारले खुलाएको आवेदन भर्नेहरु १२ जना छन्। गत कात्तिक ११ गतेदेखि १५ दिनको समय दिएर बोर्ड नेतृत्वका लागि आवेदन खुलाइएको थियो। 

त्यसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका छन्।

धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नेछ। त्योसँगै अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर तीनमध्ये एक जनालाई नियुक्ति दिने व्यवस्था छ।

छनोट समितिको संयोजकमा योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन्।

समितिका एक सदस्य विज्ञ हुनुपर्ने व्यवस्था छ। सुरुमा विज्ञ सदस्यमा प्राडा नारायण प्रसाद पौडेल रहे पनि उनलाई हटाएर नयाँ व्यक्ति ल्याइएको थियो।

छनोट समितिका तिनै नयाँ ल्याइएका विज्ञ सदस्य हुन् डा. जीवनाथ धिताल। 

हमालको सम्भावना बलियो
आवेदन दिनेमध्ये कांग्रेस निकटका धेरै व्यक्तिहरु देखिएपछि कांग्रेसले नै नियुक्त गर्न चाहेको अर्थात् प्रधानमन्त्रीले नै रुचाएका व्यक्तिका रुपमा भने रमेश हमाल छन्।

धितोपत्र बोर्डको अध्यक्षमा कांग्रेसले रमेश हमाललाई ल्याउन चाहेको छ। प्रधानमन्त्रीनिकट रहेका हमाललाई नियुक्ति दिलाउन प्रधानमन्त्री पत्नी आरजु राणा नै लागिपरेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले दाबी गरे।   

त्यसो त आवेदकमध्येका एक रहेका हमाल बोर्डको अध्यक्षका लागि आफू योग्य रहेको दाबी समेत गर्छन्।  

उनले भने, ‘म आफैँ पनि धितोपत्र बोर्डको लागि योग्य व्यक्ति हो। म सुरुमा इन्जिनियर हो। त्यो पेशा छोडेर मैले एमबीए गरेँ, त्यसपछि धेरै कम्पनीहरुको विभिन्न जिम्मेवारीमा काम गरेको छु।’ 

उनले संयुक्त राष्ट्रस्रघमा समेत काम गरिसकेको र अहिले नेपालमा लगानी गरिरहेको बताए। 

हमालले भने, ‘होटललगायतका क्षेत्रमा अहिले लगानी गरेको छु। इन्टरनेशनल वित्तीय क्षेत्रमा मेरो योग्यता छ। त्यसकारणले पनि बोर्डको नेतृत्वमा म योग्य छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .