ad ad

खेल


सन्दीपलाई विश्वकपमा पठाउने प्रक्रिया दुई दिनभित्रमा टुंग्याउँछौं : क्यान अध्यक्ष चन्द

सन्दीपलाई विश्वकपमा पठाउने प्रक्रिया दुई दिनभित्रमा टुंग्याउँछौं : क्यान अध्यक्ष चन्द

उजिर कार्की
जेठ २, २०८१ बुधबार २२:०, काठमाडौँ

सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेलाउने पक्षमा नेपाल क्रिकेट संघ क्यानले तत्काल प्रक्रिया अगाडी बढाउने भएको छ। क्यानले तत्कालै आवश्यक प्रक्रिया पूरा गरेर सन्दीपलाई टोलीमा समेट्ने अध्यक्ष चतुरबहादुर चन्दले नेपालखबरलाई बताए।

उच्च अदालत पाटनले बुधबार बलात्कार मुद्दामा सफाइ दिएसँगै सन्दीपलाई टोलीमा फर्किने बाटो खुलेको हो। अदालतबाट सफाइ पाए लगतै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरिसकेको छ।

‘सम्मानित उच्च अदालत पाटनको २०८१ जेठ २ को फैसला बमोजिम नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनि फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेटबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौं’, अध्यक्ष चन्द आफैंले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।

आईसीसीसँग अनुमति लिने र स्वास्थ्य अवस्थाका बारेमा छलफल गरेर निर्णय गर्ने चन्दले बताए।

‘आईसीसीसँग अनुमति लिन्छौं। सन्दीपको फिट्नेसको बारेमा क्यानमा सल्लाह गर्छौं। आईसीसीसँग एप्रुभल लिइसकेपछि कोच र क्याप्टेनसँगको सल्लाहमा छनोट समितिले निर्णय गर्छ’, अध्यक्ष चन्दले नेपालखबरसँग भने, ‘दुई दिनभित्रमा सबै कुरा टुंग्याउँछौं।’

नेपाल क्रिकेट संघले आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्यको सूची पठाइसकेको छ। तर टोलीका सदस्यहरु अझै १० दिन (मे २५ तारिख) भित्रमा परिवर्तन गर्न सक्ने व्यवस्था छ। तर टोलीमा परेर गइसकेको व्यक्तिलाई फिर्ता नबोलाई टोलीमा सदस्य थप्न आईसीसीसँग अनुमति माग्ने क्यानको तयारी छ।

भौतिक रुपमा क्यानको बैठक नबसी अनलाइनमै सल्लाह गरेर द्रुतगतिमा टुंगो लगाउने पनि चन्दले बताए।

‘अहिले क्यानका सदस्यहरु कोही कहाँ, कोही कहाँ पुगेका छन्। भेटेर बैठक बस्न सम्भव छैन। ग्रुप छ, ग्रुपमा सबैको राय आइहाल्छ। त्यसैलाई लिपिबद्ध गर्ने हो’, चन्दले भने, ‘सन्दीप खेल्नुपर्छ, खेलाउनु पर्छ भन्नेमा छौं। यसका लागि प्रक्रिया त पूरा गर्नै पर्यो। एक दुई दिनमा सबै कुरा टुंगिन्छ।’

क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्व कप्तान समेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो। पुस १३ गते नै जिल्ला अदालतले दोषि ठहर गरे पनि २६ गते मात्रै सजाय निर्धारण गरिएको थियो।

अदालतको फैसला आएलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्। अदालतले फैसला गर्दा उनी वीरगञ्जमा घरेलु क्रिकेट खेलिरहेका थिए।

५ महिनापछि अब उनी एकैपटक विश्वकपका अभ्यास खेलमा सहभागी हुने करिब निश्चित भएको हो।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ।

१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलो पटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो  समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले  जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .