ad ad

कारोबार


२१ बिघा जग्गामा बन्नेछ ३ सय शय्याको शिक्षक अस्पताल

२१ बिघा जग्गामा बन्नेछ ३ सय शय्याको शिक्षक अस्पताल

सांकेतिक तस्बिर


मीना खड्का
माघ २४, २०७८ सोमबार १५:५१, काठमाडौँ

सरकारले अन्य विभिन्न सरकारी अंगका जस्तै शिक्षकहरुका लागि पनि छुट्टै अस्पताल बनाउने निश्चित भएको छ। 

चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषद्को यही माघ १७ गतेको बैठकले पारित गरेसँगै सेना, सशस्त्र–जनपद प्रहरी र निजामती कर्मचारीको जस्तै सरकारी शिक्षकको लागि पनि अस्पताल बन्ने भएको हो। 

भरतपुरमा बन्ने अस्पताल केन्द्रीयस्तरको हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। 

यसका लागि शिक्षा मन्त्रीस्तरीय निर्णयबाट गत कात्तिकमा मन्त्रालयले विमल शर्मा चालिसे संयोजकत्वको पाँच सदस्यीय पूर्वसम्भाव्यता अध्ययन तथा जग्गा पहिचान समिति बनाएको थियो। 

सम्भाव्यता समितिले सबैभन्दा उपयुक्त हुने ठाउँ चितवनको भरतपुर महानगरपालिका-१५ भगवानपुरमा रहेको सुझाव दिएको थियो ।

समितिका सदस्य एवम् जनस्वास्थ्य विज्ञ लीलानाथ भण्डारीले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँका आधारमा उक्त ठाउँमा अस्पताल बनाउन उपयुक्त हुने सुझाव मन्त्रालयलाई दिएको नेपालखबरसँग बताए।

सोही सुझावका आधारमा शिक्षक अस्पताल बनाउन लागिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। 

उनले उपयुक्त जग्गा व्यवस्थापनका लागि गठित शिक्षक अस्पताल निर्माण पूर्वसम्भाव्यता अध्ययन तथा जग्गा पहिचान समितिले चितवनको भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने प्रतिवेदन बुझाएसँगै मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएको बताए। 

सरकारले चालू आवको बजेटमै शिक्षक अस्पताल बनाउने उल्लेख गरेको थियो। 
अर्थमन्त्री जनार्दन शर्माले चालू आवको बजेटमै शिक्षकका लागि छुट्टै अस्पताल बनाउने घोषणा गरेका थिए।

कस्तो बन्नेछ अस्पताल? 
प्रस्तावित अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शिक्षा मन्त्रालयले बनाउने शिक्षामन्त्री देवेन्द्र पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममै बताइसकेका छन्। 

मन्त्रालयका अनुसार सुरुमा तीन सय शय्याको अस्पताल बन्नेछ। त्यसपछि यसलाई प्रतिष्ठानका रुपमा विकसित गर्ने गरी १५ सय शय्यामा विस्तारित गरिनेछ। 

प्रस्तावित अस्पताल २१ बिघा जग्गामा बन्नेछ। त्यसमध्ये ८ बिघा १६ कठ्ठा जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराउनेछ। 

महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति भएको प्रवक्ता शर्माले बताए।

सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिकको स्थलगत नापजाँच प्रतिवेदन, वडाको सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश भइसकेको छ।

तीन सय शय्याको अस्पतालमा नेपाल सरकारबाट स्वीकृत मापदण्डबमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिन हुनेछ। अस्पतालनजिकै कुरुवा घर पनि निर्माण गरिनेछ।

यसका लागि वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोकेबमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

कति लाग्छ लागत? 
अस्पताल निर्माणसम्पन्न गर्न कति रकम खर्च हुन्छ भन्ने अहिले नै एकीन नभएको प्रवक्ता शर्माले बताए। 

‘कति लागतमा भनेर अहिले नै तोकिएको छैन तर कस्तो मोडालिटीको अस्पताल बनाउने त्यही बमोजिम बजेट खर्च हुन्छ’, प्रवक्ता शर्माले भने। 

‘यो वर्ष अर्थ मन्त्रालयबाट आवश्यक सबै बजेट प्राप्त हुने भएकाले बजेट अभावका कारण भने काम रोकिने देखिँदैन।’ 

शिक्षक परिवारलाई ५० प्रतिशतसम्म छुट
अस्पताल बनिसकेपछि शिक्षकसहित उनीहरुका परिवार र अन्य सर्वसाधारणले पनि सेवा लिन पाउनेछन्। 

शिक्षकका परिवारलाई ४०–५० प्रतिशतसम्म उपचार सेवामा छुट सहुलियत दिइने मन्त्रालयले जनाएको छ। 

नेपालमा ४ लाख बढी शिक्षक र तिनका परिवार अस्पतालबाट लाभान्वित हुनेछन्। यसमा स्थायी शिक्षक, पाठ शिक्षक, विद्यालय कर्मचारी, निजी स्कुलका शिक्षक, पूर्वशिक्षक लगायत पर्छन्।

शिक्षककै लागि बनाउन माग
शिक्षकको लागि छुट्टै अस्पताल बन्ने भएपछि शिक्षकहरु खुसी भएका छन्।

आफू र आफ्नो परिवारका सदस्यले छुटसहितको सहुलियत सेवा पाउने गरी शिक्षक अस्पताल बन्ने पक्का भएपछि उनीहरु उत्साहित भएका हुन्। शिक्षक अस्पताल खोल्ने सरकारी निर्णयलाई शिक्षक महासंघले पनि स्वागतयोग्य भनेको छ। 

महासंघ अध्यक्ष कमला तुलाधरले शिक्षकका लागि छुट्टै अस्पताल खोल्ने निर्णयले शिक्षण पेसामा लागेका र लाग्ने रुचि भएका सबैलाई शिक्षण पेसामा आकर्षण गर्ने बताइन्। 

यता सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा भने शिक्षक अस्पतालमा शिक्षक र उनीहरुका परिवारका लागि मात्रै उपचारको व्यवस्था हुनुपर्ने बताउँछन्। 

कर्मचारीका नाममा खोलिने तर राष्ट्र सेवामा कार्यरत भनेर तोकिएका अस्पतालमा आमनागरिकको पनि उपचार गरिनुले पछिल्लो समय नाममात्रैको अस्पताल हुने उनको भनाइ छ। 

‘शिक्षक अस्पतालमा पनि शिक्षकलाई मात्र उपचार गर्ने वा सबैलाई खुला गर्ने भनेर बहस गर्न आवश्यक नै छैन’, उनले भने, ‘शिक्षक र उनका परिवारका लागि मात्रै उपचारको व्यवस्था हुनुपर्छ, अन्यका लागि त अरु अस्पताल छँदै छन् नि!’ 

शिक्षकका नाममा अस्पताल खोल्नु राम्रो भए पनि शिक्षकका लागि नै होे भन्ने हेक्का राख्न नसक्नु कमजोरी हुने थापाको तर्क छ। 

कर्मचारीपिच्छे अस्पताल
शिक्षकको लागि पनि अस्पताल बन्ने भएपछि सरकारी अंगपिच्छे अस्पताल हुने भएको छ। नेपाली सेनाले देशका विभिन्न स्थानमा आफ्नो छुट्टै अस्पताल स्थापना गरेको छ। 

काठमाडौंको छाउनीमा ६ सय ३५ शय्याको वीरेन्द्र सैनिक अस्पताल छ भने महाँकाल काठमाडौंमा त्रिचन्द्र मिलिटरी अस्पताल छ। जहाँ डेन्टल र फिजियोथेरापी सेवा उपलब्ध छ। 

यसबाहेक नेपाली सेनाले नेपालगन्ज, पोखरा र इटहरीमा ५०–५० शय्याको तथा धनगढी र बर्दिवासमा २५–२५ शय्याको अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ। 

त्यस्तै निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल जस्ता राष्ट्रसेवक कर्मचारीका लागि भनेर विभिन्न ठाँउमा छुट्टै अस्पताल खोलेर उपचार सेवा प्रदान भइरहेको छ। 

निजामती कर्मचारीका लागि काठमाडौंको मिनभवनमा चीन सरकारको सहयोगमा सिभिल हस्पिटल निर्माण भई सञ्चालनमा छ। जहाँ निजामती कर्मचारीका लागि उपचारमा विशेष छुटको व्यवस्था छ। 

तर आमनागरिकले पनि शुल्क तिरेर सेवा भने पाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .