घरजग्गा व्यवसायीहरुले ‘ल्यान्ड पुलिङ’ आयोजनाहरु निजी क्षेत्रलाई दिन र विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न दिन माग गरेका छन्।
नेपाल जग्गा तथा आवास विकास संघको १७औँ साधारणसभामा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले उक्त माग गरेका हुन्।
लोहनीले हालका दिनहरुमा रियल इस्टेट क्षेत्रमा नैराश्यता देखिएकोले यसमा सुधार ल्याउनका लागि यो आवश्यक भएको बताए।
उनले हदबन्दी छुट दिने, विदेशीहरुलाई अपार्टमेन्ट बिक्री गर्ने, ल्यान्ड पुलिङ्ग आयोजनाहरु निजी क्षेत्रलाई सञ्चालन गर्न दिने जस्ता विषयहरुको सम्बोधन गर्न कानून व्यवस्था गर्नुपर्र्नेे, कर्जामा एकल ब्याजदर कायम राखी राख्नुपर्ने र लोन टु भ्यालु रेसियो बढाउनुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले आफ्नो प्रतिवेदन सहितको मन्तव्य दिनु हुँदै आफुले कार्यभार सम्हालेदेखि संघमा आबद्ध व्यवसायीहरुको हित हुने कार्य गर्दै आएको, घर जग्गा मेलालाई निरन्तरता दिइएको, संघको सरोकारको विषयहरुमा नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा सहकार्य गर्दै आएको र संघ तथा रियल इस्टेट व्यवसायीहरुको हित प्रवद्र्धनका लागि सदा प्रतिबद्ध रहने बताएका थिए।
कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित एफएनसीसीआईका वस्तुगत तर्फका अध्यक्ष हेमराज ढकालले रियल इस्टेट व्यवसाय विकासको ऐना भएकाले यसको विकास भए मात्र आर्थिक विकास हुने दाबी गरे।
उनले भने, ‘हाम्रो जस्तो अव्यवस्थित बसोबास भएको मुलुकमा रियल इस्टेट उद्योगले अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायत सहभागी थिए।
Shares

प्रतिक्रिया