जगदम्बा स्टिल्सका सञ्चालकहरुले विभिन्न बैंकबाट लिएको कर्जा विवादास्पद व्यवसायी दीपक भट्टको खातामा ट्रान्सफर गरेर हिमालयन रि–इन्स्योरेन्सको सेयर खरिद गरेको आरोप लागेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान गरी तयार गरेको प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो।
सीआईबीको अनुसन्धानअनुसार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंकबाट र एभरेष्ट बैंकबाट जगदम्बा स्टिल्सले लिएको कर्जा दीपक भट्टको खातामा पठाई त्यसपछि इन्फिनिटी होल्डिङ्सको नाममा हिमालयन रि–इन्स्योरेन्सको करिब ४५ करोड रुपैयाँ लगानी गरिएको पाइएको छ।
इन्फिनिटी होल्डिङ्स दीपक भट्टको स्वामित्वमा रहेको कम्पनी हो। जगदम्बा स्टिल्सले औद्योगिक प्रयोजन र जग्गा खरिदका लागि भनेर लिएको कर्जा दीपक भट्टको खाता हुँदै हिमालयन रि–इस्योरेन्सको सेयर खरिद गर्न प्रयोग भएको सीआइबीको अनुसन्धानबाट खुलेको हो।
जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नेपाल एसबीआई बैंक र कुमारी बैंकबाट लिएको ३० करोड ४२ लाख रुपैयाँभन्दा बढी कर्जा रकममध्ये ठूलो हिस्सा व्यक्तिगत प्रयोजनमा प्रयोग भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट १३ करोड ४८ लाख १० हजार २४० रुपैयाँ, नेपाल एसबीआई बैंकबाट ८ करोड रुपैयाँ र कुमारी बैंकबाट लिइएको १४ कर्जा लिएको प्रहरी अनुसन्धानमा उल्लेख छ।
कुमारी बैंकबाट लिइएको १४ कर्जा लिएकै दिन अर्को एक करोड थप गरेर दीपक भट्टको व्यक्तिगत खातामा १५ करोड रुपैयाँ भुक्तानी गरिएको प्रहरीले पत्ता लगाएको छ।
जगदम्बा स्टिल्सले उक्त रकमान्तरलाई वैध देखाउन ललितपुरमा जग्गा खरिदका लागि ‘बैना’ गरिएको कागजात बैंकमा पेस गरेको तर वास्तविक रूपमा भने हिमालय रि–इस्योरेन्सको संस्थापक शेयर खरिदमा प्रयोग गरिएको निष्कर्ष प्रहरीको छ।
जगदम्बा स्टील्सले व्यवसायिक आम्दानीभन्दा धेरै रकम व्यक्तिगत खातामा पठाएको अदालतका दर्ता भएको जाहेरीमा उल्लेख छ। दीपक भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिल्सले रकम ट्रान्सफर गरेको अवधिमा उक्त कम्पनीको व्यवसायीक आम्दानी एक करोड रुपैयाँ मात्र रहेको देखिएको छ।
त्यसैगरी, एभरेष्ट बैंक लिमिटेड र कृषि विकास बैंकबाट लिएको चालू पूँजी कर्जाको रकमसमेत दुरुपयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
Shares

प्रतिक्रिया