कारोबार


जिम्बु थकाली रेष्टुरेन्टको शाखा भारतको हरियाणामा

जिम्बु थकाली रेष्टुरेन्टको शाखा भारतको हरियाणामा

नेपालखबर
साउन १२, २०८३ मंगलबार १९:५८, काठमाडौँ

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ।

कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन हुने भएको हो।

जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तारभन्दा पनि नेपाली खाना, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानको सुरुआतका रूपमा लिएको बताए। उनले भारतीय तथा अन्य मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको संस्कृति, आतिथ्य र हिमाली जीवनशैलीको अनुभव गराउने उद्देश्य रहेको उल्लेख गरे।

कम्पनीका अनुसार नयाँ शाखामा थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी तथा जिम्बु र टिमुरको स्वाद समेटिएका परिकार उपलब्ध हुनेछन्। मौलिक स्वाद कायम राख्न जिम्बु, टिमुरलगायत रैथाने नेपाली मसला नेपालबाटै आपूर्ति गरिनेछ भने अन्य ताजा सामग्री स्थानीय रूपमा व्यवस्थापन गरिनेछ।

अन्तरराष्ट्रिय ग्राहकलाई लक्षित गरी परम्परागत थकाली परिकारसँगै केही नयाँ शैलीका परिकार पनि समावेश गरिएको कम्पनीले जनाएको छ। चटामरी, बारा, विभिन्न प्रकारका मःमः, गुन्द्रुकको झोल, सेकुवा, जुजु धौबाट बनाइने मिठाइ तथा खुवा यमरी पनि मेनुमा रहनेछन्।

रेस्टुरेन्टमा नेपाली शैली झल्कने गरी नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृतिको झल्को दिने सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ। आधुनिक सुविधासँग नेपाली वास्तुकला र आतिथ्यलाई संयोजन गरी ग्राहकलाई नेपालकै अनुभूति गराउने लक्ष्य राखिएको छ।

शाखामा करिब ९० जना ग्राहकले एकैपटक भोजन गर्न सक्ने क्षमता छ। कम्पनीका अनुसार सोही परिसरमा भारतमा पहिले नै सञ्चालनमा रहेको नेपाली कफी ब्रान्ड हिमालयन जाभाको शाखा पनि रहनेछ। 

सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल नेपालमा कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालस्थित चार शाखामार्फत सेवा दिँदै आएको छ। कम्पनीका अनुसार हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ। कम्पनीले नेपाली थकाली खानालाई अन्तर्राष्ट्रिय रेस्टुरेन्ट ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad