कारोबार


भारतको बन्दरगाहमै रोकिए २१ सय ८२ कन्टेनर नेपाली सामान

भारतको बन्दरगाहमै रोकिए २१ सय ८२ कन्टेनर नेपाली सामान

विशाखापट्टनम कन्टेनर टर्मिनल। (इन्डिया शिपिङ न्युज)


दीपक भट्ट
फागुन १०, २०७८ मंगलबार ७:४७, काठमाडौँ

कोरोना संक्रमण सुरु हुनेबित्तिकै अर्थात् २०७६ माघ १४ देखि बन्द भएको चीनतर्फको नाका अहिलेसम्म पनि पूर्ण रुपले सञ्चालनमा आउनसकेको छैन। 

चीनतर्फको नाकामा अवरोधकै बीच पछिल्लो समय भारततर्फ पनि समस्या देखिएको छ। 

भारतबाट नै आयात हुने वस्तुहरुमा कुनै समस्या नरहे पनि भारत हुँदै तेस्रो मुलुकबाट आउने सामानमा अवरोध सिर्जना भएको हो। 

तेस्रो मुलुकबाट आयातित २ हजार १ सय ८२ वटा सामान भरिएका कन्टेनर अहिले भारतीय बन्दरगाहमै रोकिएको छ। 

भारतीय बन्दरगाहमै नेपाली व्यापारीका सामान थुप्रिने क्रम जारी छ। 

भारतमा अड्किएका नेपाली व्यापारीका कन्टेनर, तुरुन्त पठाउन कन्टेनर सञ्चालकलाई भारतीय रेलवे बोर्डले निर्देशन दिएजस्तो गरे पनि सामान नेपालतर्फ आउन सकिरहेको छैन।

भारतीय सरकारी रेल कम्पनी कोंकणले नै सामान उठाउन नमान्दा तेस्रो मुलुकबाट आयात हुने आधाजसो सामान भारतीय बन्दरगाहमा थुप्रिएको व्यापारीहरुले बताएका छन्।  

नेपाल जानुपर्ने ठूलो संख्यामा रहेका कन्टेनर भारतको विजाग र कलकत्तामा रोकिएपछि भारतको रेल मन्त्रालयअन्तर्गतको रेलवे बोर्डले सहजीकरण गर्न कन्टेनर रेल सञ्चालकलाई निर्देशन दिए पनि छुट्नसकेको छैन। 

उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार विशेष गरी अहिले विशाखापट्टनमबाट आउने धेरै सामान रोकिएको छ। 

उनले नेपालखबरसँग भने, ‘रोकिनुको मुख्य कारण भारतीय सरकारी रेल कम्पनी कोंकण रेलवे हो। यसैले नेपाली सामान बोक्दै आएको छ।’

नेपाल सरकार र भारत सरकारबीच भारतीय निजी कम्पनीलाई समेत कार्गो रेल प्रयोग गर्न दिने सहमति भएको थियो।  

सोसँगै निजी कम्पनीहरुले सरकारी कम्पनीभन्दा ३० प्रतिशत हाराहारीको कम दरमा नेपालका सामान बोक्न समेत थालेका थिए। त्यसले नेपाली व्यवसायीहरुलाई राहत भए पनि नेपाल जाने सामान बोक्न भारतीय निजी रेल धेरै उपलब्ध नहुँदा समस्या भयो।

त्यसपछि सस्तो रेटमा भारतीय सरकारी कम्पनीले नै रेल उपलब्ध गराउनुपर्ने बाध्यता आइलाग्यो। तर उनीहरुले सस्तो रेटमा नेपाल सामान ल्याउन आनाकानी गर्न थालेको गुप्ताले बताए। 

सोही कारण भारतमै सामान रोकिन पुगेको उनको भनाइ छ। 

अहिले भारतबाट हप्तामा १२ वटा रेल नेपाल आइपुग्छ। १२ वटा रेल नेपाल आउँदा नेपालले तेस्रो मुलुकबाट आयात गर्ने आधा सामान रोकिन पुगेको गुप्ताले बताए।  

यसले नेपालमा समस्या थपेको छ। उनले भने, ‘आयातमा राहत भए पनि सामान नै नउठ्दा नेपालका उद्योगधन्दाहरु समेत बन्द हुनसक्ने अवस्थामा पुगेका छन्।’

तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर सञ्चालन हुनुपर्ने उद्योगहरुलाई समस्या परेको र तेस्रो मुलुकबाट आयात हुने रेडिमेड सामानहरुको मूल्य समेत बढ्नसक्ने अध्यक्ष गुप्ताको भनाइ छ। 

सहजीकरण गर्न भारतीय रेलवे बोर्डको निर्देशन
यसैबीच, भारतीय रेलवे बोर्डका कार्यकारी निर्देशक दीपक कुमार झाले पत्र नै लेखेर नेपाल जाने कन्टेनरलाई लामो समय नअड्काउन र अड्किने संख्या क्रमशः घटाई यसको रिपोर्ट रेलवे बोर्डमा तुरुन्त पठाउन भनेका छन्। 

बोर्डले फेब्रुअरी १७ मा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका प्रमुख तथा प्रबन्धनिर्देशक, प्रिस्टाइन मेगा लजिस्टिक्स पार्क प्रालिका निर्देशक, इन्टरनेशनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चर प्रालि (आईसीटीआईपीएल)का प्रबन्धनिर्देशकलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएका छन्। 

पत्रमा भनिएको छ, ‘रेलवे मन्त्रालयले (संघीय) वित्त मन्त्रालय, बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेस एन्ड कस्टुम्सबाट नेपाली व्यापारी र नेपाल सरकारले नेपाल जानुपर्ने कन्टेनर विजाग र कलकत्तामै अड्किएको सम्बन्धी पत्र पाइएको छ। वीरगन्ज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिथज (बीआईसीसीआई) ले वीरगन्जस्थित कन्सुलेट जनरल अफ इन्डियालाई गत जनवरी २५ मा विजागमा ४५ दिनदेखि कन्टेनरहरु अड्किएको जानकारी गराएको छ। यसले नेपाली अर्थतन्त्रलाई समेत समस्या भएको उल्लेख छ।’ 

पत्रमा विशाखापट्टनमस्थित भन्सार आयुक्तका अनुसार फेब्रुअरी ४ सम्म प्रिस्टाइन मेगा लजिस्टिक्स पार्क प्रालिले नेपाल लग्नुपर्ने कन्टेनरको संख्या १५ सय ८९ रहेकोमा फेब्रुअरी १५ सम्म यस्तो संख्या १२ सय ५१ रहेको छ। त्यसैगरी कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडले फेब्रुअरी ४ सम्म १९३ वटा कन्टेनर नेपाल लग्नुपर्नेमा फेब्रुअरी १५ सम्म १३० वटा बाँकी देखिएको पत्रमा उल्लेख छ। यसबाहेक आईटीआईपीएलको फेब्रुअरी ४ सम्म ५४७ रहेकामा फेब्रअुरी १५ सम्म ८०१ वटा कन्टेनर नेपाल नपठाएको देखिएको छ। 

पत्रअनुसार फेब्रअुरी ४ सम्म कुल २ हजार ३ सय २९ मध्ये फेब्रुअरी १५ सम्म २ हजार १ सय ८२ कन्टेनर नेपाल पठाउन बाँकी देखिएको छ। यी सबै कन्टेनर नेपाल पठाउने कार्यमा सहजीकरण गरी यसको जानकारी रेलवे बोर्डलाई गराउन बोर्डका कार्यकारी निर्देशक दीपक कुमार झाले कन्टेनर सञ्चालकलाई पत्रमार्फत निर्देशन दिएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .