कारोबार


तेस्रो त्रैमासिकमा बढ्यो बैंकहरुको खराब कर्जा, कुन बैंकको कति?

तेस्रो त्रैमासिकमा बढ्यो बैंकहरुको खराब कर्जा, कुन बैंकको कति?

प्रतिनिधिमूलक तस्बिर: TOI


दीपक भट्ट
बैशाख ११, २०७९ आइतबार १८:४७, काठमाडौँ

तेस्रो त्रैमासिकमा बैंकहरुको खराब कर्जामा वृद्धि भएको छ। दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा आएर बैंकहरुको खराब कर्जामा वृद्धि भएको हो। 

कोरोना कहर त्यसपछि भएको बन्दाबन्दीको कारणले बैंकहरुको खराब कर्जा बढ्ने आकलन थियो। तर कोरोनाकाल तथा बन्दाबन्दीको लामा समयसम्म बैंक तथा वित्तीय कम्पनीहरुले खराब कर्जालाई नियन्त्रणमा राखेका थिए। तर अहिले आएर बैंक तथा वित्तीय कम्पनीहरुको खराब कर्जामा वृद्धि भएको देखिएको हो।  

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुमध्ये धेरैजसोकोे खराब कर्जा बढेको देखिएको छ। यो वर्ष खराब कर्जा बढे पनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बैंकरहरु बताउँछन्। 

यदि सरकारले यसलाई सहयोगी हुने नीति नलिएको भए यो दर अझै माथि पुग्ने बैंकरहरुको आकलन छ। 

नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायका अनुसार  कोरोना कालमा समेत बैंकहरुको खराब कर्जा आत्तिनुपर्ने कारण नरहनुमा राष्ट्र बैंकको नीति नै प्रमुख हो। 

उनले भने, ‘भाका नाघेकाहरुलाई राष्ट्र बैंकले ६ महिना अवधि थप गरेको छ। त्यसले समेत सपोर्ट गर्यो। त्यस्तै कर्जाको पुनर्तालिकीकरणको अवधि थप गर्दै कारबाही नगर्नेजस्ता निर्णयहरु गर्यो त्यसले गर्दा निष्क्रिय कर्जाहरु नियन्त्रणमा रहेको देखिन्छ।’

तर राष्ट्र बैंकले यस्ता सुविधाहरु प्रदान नगरेको खण्डमा भने निष्क्रिय कर्जाहरु बढ्ने नै स्थिति रहेको उनको तर्क छ। 

उनले भने, ‘कोरोनाले ऋणीहरुलाई प्रभाव पारेको छ। त्यसको असर भित्रभित्रै बैंकहरुमा समेत देखिएको छ। यदि यो सुविधा नभएको भए हाल सार्वजनिक भएको विवरणभन्दा पक्कै पनि केही फरक तथ्याङ्क आउँथ्यो।’

गत दुई वर्षदेखि सरकारले पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा, कर्जाको पुनर्संरचनाको नीति कार्यान्वयनमा राखेको छ। कोरोनापछि त्यसको कार्यविधि नै तयार गरेर नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई सहयोगी हुने नीति ल्याएको हो। 

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ फागुन मसान्तमा १ खर्ब ३४ अर्ब ११ करोड लगानीमा रहेको छ। २०७८ फागुन मसान्तसम्ममा १ लाख ४४ हजार ६२० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १५ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ।

यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार ५६० ऋणीलाई प्रवाह भएको १ खर्ब ३७ अर्ब ७९ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार १९७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १७ करोड कर्जा रहेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८६३ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ। 

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ फागुन मसान्तसम्ममा १ अर्ब १० करोड स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ। 

कुन बैंकको खराब कर्जा बढी?
चालू आर्थिक वर्षको सुरुदेखि नै खराब कर्जा बढी रहेको राष्ट्रिय वणिज्य बैंकको खराब कर्जामा दोस्रो त्रैमासिकमा झनै बढोत्तरी देखिएको छ। 

चालू आर्थिक वर्षको  दोस्रो त्रैमासिकमा ३ दशमलव ०६ प्रतिशत खराब कर्जा रहेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा प्रकाशित वित्तीय विवरणले ३ दशमलव ०७ प्रतिशत पुगेको देखाएको छ। 

त्यस्तै कृषि विकास बैंकको खराब कर्जा पुस मसान्तसम्ममा २ दशमलव ०८ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ दशमलव २३ प्रतिशतले बढेको छ। 

खराब कर्जा बढी रहने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकको पुस मसान्तसम्ममा २ दशमलव ०६ प्रतिशत रहेकोमा अहिले बढेर २ दशमलव २० प्रतिशत पुगेको छ। 

त्यस्तै चालू आर्थिक वर्षमा खराब कर्जा बढ्नेमा नेपाल बैंक पनि देखिएको छ। नेपाल बैंकको पुस मसान्तसम्ममा १ दशमलव ९१ प्रतिशत रहेकोमा अहिले बढेर २ दशमलव ०६ प्रतिशत पुगेको छ। 

त्यस्तै उच्च छवि बनाएको नबिल बैंकको समेत खराब कर्जामा बढोत्तरी भएको छ। पुस मसान्तसम्ममा १ दशमलव ११ प्रतिशत रहेकोमा अहिले १ दशमलव १४ प्रतिशत पुगेको छ। नेपाल बंगलादेश बैंकको अहिले २ दशमलव २० प्रतिशत पुगेको छ। 

खराब कर्जा कम रहने बैंकहरु कुन–कुन हुन्?
एभरेष्ट बैंक ०.२६
सानिमा बैंक ०.३६
नेपाल एसबीआई ०.१४
स्ट्यान्डर्ड चार्टर्ड ०.३६
एनआईसी एसिया ०.५१
मेगा बैंक ०.७२
माछापुच्छ्रे बैंक ०.८७
प्राइम बैंक ०.९४
कुमारी बैंक ०.९६
हिमालयन बैंक ०.९९
सिभिल बैंक ०.९९
लक्ष्मी बैंक १.०८ 
सिद्धार्थ बैंक १.१२
प्रभु बैंक १.२१
सनराइज बैंक १.३७
बैंक आफ काठमाण्डु १.४५
ग्लोबल बैंक १.४५
एनएमबी बैंक १.४६
एनसीसी बैंक १.५१
सेन्चुरी कर्मसियल बैंक १.६० 
सिटिजन्स बैंक १.७२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .