ad ad

कारोबार


आयात प्रतिबन्ध : मोबाइलमा अभाव र कालोबजारी, रोजाइका गाडी किन्न नपाइने

आयात प्रतिबन्ध : मोबाइलमा अभाव र कालोबजारी, रोजाइका गाडी किन्न नपाइने

वसन्त अर्याल
साउन २, २०७९ सोमबार ७:५६, काठमाडौँ

सरकारको प्रतिबन्धले गाडी नपाइने र मोबाइलमा कालोबजारी बढ्ने भएको छ। 

वैदेशिक मुद्रा सञ्चितिमा चाप आएको भन्दै प्रतिबन्ध लगाउँदा व्यवसायीसँगै उपभोक्तामा समेत यसको प्रभाव पर्ने भएको हो। 

सरकारले यसअघि २५० सीसीमाथिका मोटरसाइकल र ६०० डलरभन्दा माथिको मोबाइल आयातमा प्रतिबन्ध लगाउँदा थोरै उपभोक्तालाई मात्रै असर गरेको थियो। 

तर अब १५० सीसीमाथिका मोटरसाइकल र ३०० डलरमाथिका स्मार्टफोन आयात रोक्दा धेरै उपभोक्ता प्रभावित हुने देखिएका छन्। 

सरकारले वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार देखिए पनि विलासी वस्तुमाथिको आयात प्रतिबन्ध अब भदौ १४ सम्म लम्बिएको छ।

सरकारले पेट्रोल, डिजेलका कार जिप र १५० सीसीमाथिका मोटरसाइकल आयातमा समेत प्रतिबन्ध लगाएको छ। 

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बजारमा अब गाडी पाइने अवस्था नरहने बताए। उनले चाडपर्वको समयमा उपभोक्ताले नयाँ गाडी पाउन मुश्किल पर्ने बताए। 

अटो व्यवसायीका अनुसार बढी माग हुने मोडलका गाडी पाउन अब गाह्रो हुनेछ। कम चल्ने र स्टकमा रहेका पेट्रोल डिजेलका गाडी पाउनसक्ने व्यवसायीको भनाइ छ। 

नाडा अध्यक्ष थापाले भदौमा गाडी आयात खुले पनि मंसिरअघि नयाँ मोडल आउने अवस्था नहुने बताए। 

‘उत्पादक कम्पनीलाई हामीले अहिले गाडी बनाइराख असार मसान्तपछि एलसी खोलेर ल्याउँछौँ भनेका थियौँ’, थापाले भने, ‘उत्पादक कम्पनीले अब नेपाललाई विश्वास गरेर गाडी बनाइराख्दैनन्। एलसी खोलेपछि मात्रै अर्डरका गाडी बन्छन्।’

उनले भदौ १४ पछि पनि गाडी खुल्ने कुनै ग्यारेन्टी नभएकाले उत्पादक कम्पनीले त्यसै गाडी नबनाउने बताए।

‘उत्पादक कम्पनीले गाडी नबनाउँदाको असर अटो शो, दशैँ, तिहारमा नयाँ गाडी खरिद गर्न ग्राहकले पाउँदैनन्’, उनले भने, ‘सरकारले गाडी आयात खुल्ला गरेको घोषणापछि ३ महिना लाग्छ।’

यामाहाका डिलर तथा नाडा कोषाध्यक्ष मिलनबाबु मल्लले देशको अवस्था हेर्नुपर्ने अवस्था रहे पनि सरकारले ठूलो राजस्व गुमाउँदा आफैँ अप्ठ्यारोमा पर्ने बताए। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका १५० देखि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न पाइने जनाएको छ।

नाडा अटो शो सर्ने सम्भावना
सरकारले नयाँ गाडीको आयात नै प्रतिबन्ध हुने भएपछि भदौ ७ देखि १२ गतेसम्म हुने भनिएको नाडा अटो शो सर्ने देखिएको छ। अटो व्यवसायीले उत्सवको रुपमा लिने नाडा अटो शोमा नयाँ गाडी आउन नसक्ने भएपछि सर्ने सम्भावना देखिएको हो। 

नाडा अध्यक्ष थापाले पनि गाडी आयात लम्बिँदा नाडा अटो शो गर्ने नगर्ने अनिश्चित बनेको बताए।  

‘सरकारले अहिले भदौ १४ गतेसम्म प्रतिबन्ध लगाउने घोषणा गरेको छ। नाडा अटो शो ७ देखि १२ गतेसम्म रहेको छ,’ थापाले भने, ‘नाडा अटो शोका लागि धरौटीमा गाडी ल्याउन सकिन्छ। तर अटो शोमा बुकिङ भएका गाडी डेलिभरी गर्न सकिँदैन।’

उनले अटो शोमा बुकिङ भएका गाडी डेलिभरी दशैँतिहारसम्म गर्न नसकिने हुँदा नाडा अटो शो कहिले गर्ने भन्ने विषयमा व्यवसायीबीच छलफलपछि टुंगो लाग्ने बताए। 

कोषाध्यक्ष मल्लले १५० सीसीसम्मका मोटरसाइकलको आयातले व्यापार शून्य नभए पनि अब नाडा अटो शो अनिश्चित बनेको बताए। 

‘सोमबार अटो आयातकर्तासँग नाडाको छलफल हुन्छ। त्यसपछि नाडा अटो शो कहिले हुने भन्ने विषयमा थाहा हुन्छ’, उनले भने।

मध्यमस्तरका मोबाइल नपाइने, कालोबजारी बढ्ने 
सरकारले ३८ हजारमाथि मूल्यका मोबाइल आयातमा प्रतिबन्ध लगाउँदा  मध्यमस्तरका उपभोक्ता अप्ठ्यारोमा पर्ने भएका छन्। ४० हजारदेखि ६० हजारका मोबाइल खरिद गर्ने उपभोक्ता सरकारको निर्णयले प्रभावित हुने देखिएका छन्। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाखयता ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको प्रतिबन्ध लगाएको थियो। तर भदौ १४ सम्मको लागि ६०० डलरबाट घटाएर ३०० डलरसम्मका मोबाइल प्रतिबन्ध लगाएको छ। 

‘सरकारको निर्णयले हामी ५–६ व्यापारीलाई मात्रै घाटा हुने होइन। अब मध्यमस्तरका उपभोक्तालाई अप्ठ्यारो हुन्छ’, मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘सरकारे एमडीएमएस लागू नगरी कडाइ गर्ने नीति लिएको छ। यसले कालोबजारी बढ्ने हो।’

उनले अहिले ३० प्रतिशतमा झरेको मोबाइलको कालोबजारी ६० प्रतिशत पुग्ने दाबी गरे। 

‘अहिले ४५–५० हजारको फोन विलासिताको होइन आवश्यकता हो’, अग्रवालले भने, ‘अनलाइनबाटै काम गर्नेलाई बढी फिचर्स भएको मोबाइल चाहिन्छ। विलासिता भनेको १ लाखमाथिका मोबाइल हुन्।’

राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका ३०० देखि ६०० डलरसम्म मूल्यका मोबाइल सेटको हकमा अहिलेको व्यवस्था लाग्नेछैन। 

सरकारले यसअघिको निर्णयले नेपालमा एप्पल ब्रान्डमा मुख्य घाटा रहेको थियो भने अब सामसुङ, रेडमी, भिभो, ओप्पो, शाओमीलगायत सबैमा प्रभाव देखिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .