काठमाडौंमा बजारसँगै सार्वजनिक यातायात ८ बजे नै बन्द हुने गरेको छ। कोभिडबाट थलिएको अर्थतन्त्र चलायमान बनाउने समयमा ८ नबज्दै सार्वजनिक यातायात बन्द हुने गरेको हो।
महानगर प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगर प्रमुखमा विजयी भएसँगै एक अन्तर्वार्तामा काठमाडौंमा रात्रिकालीन बस चलाउने आफ्नो योजना बनाएको बताएका थिए।
‘यसअघि पनि राति १० बजेसम्म सार्वजनिक यातायात चलाइयो। तर रातिसम्म कार्यालय खुलेनन्। यात्रु भएनन्’, शाहले भनेका थिए, ‘हामी कार्यालय समयलाई हेरफेर गर्ने सोचमा छौँ। कुनै कार्यालय मध्याह्न १२ देखि साँझ ७, कुनै अपराह्न २ देखि राति ९ बजेसम्म सञ्चालन गर्न सकिन्छ।’
उनले रात्रिकालीन सुरक्षाका लागि पहिलो चरणमा महानगर क्षेत्रमा १० हजार सीसीटीभी क्यामेरा जडान गर्ने घोषणा गरेका थिए।
काठमाडौं महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले पहिला रात्रिकालीन बस सेवा सुचारु गरे पनि कोभिडसहितका कारणले बन्द भएको बताए।
उनले अहिले रात्रिकालीन बस सञ्चालन आवश्यक देखिए पनि योजना अघि नबढेको बताए।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न छलफलका लागि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई भेट्न खोज्दा २ महिनादेखि समय नै नदिएको गुनासो पोखे।
‘राति सबै बस चलाउनुपर्दैन। थोरै बस व्यवसायीले पालैपालो चलाउन सकिन्छ’, उनले भने, ‘त्यसको लागि सम्बन्धित निकायले हामीसँग छलफल गर्नुपर्छ।’
रात्रिकालीन व्यवसाय नचल्दा समस्या
होटल, रेष्टुरेन्ट, मल व्यवसायी राति ८ बजे नै सार्वजनिक यातायात बन्द हुँदा व्यवसाय बन्द गर्नुपरेको गुनासो गर्छन्।
सार्वजनिक यातायात व्यवसायी कार्यालय र बजार सबै बन्द भएसँगै यात्रु नपाउँदा बन्द गर्नुपरेको बताउँछन्। नेपाल प्रहरीले ९ बजेपछि सबै बन्द गराउँदै हिँड्छ।
रेष्टुरेन्ट एन्ड बारका अध्यक्ष अरनिको राजभण्डारीले सार्वजनिक यातायात ढिलासम्म चले व्यवसाय सहज रुपमा चल्न सक्ने बताउँछन्।
उनले प्रहरी प्रशासनले शान्ति सुरक्षामा ध्यान दिने र सार्वजनिक यातायात ढिलासम्म चले अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताए।
काठमाडौंको चक्रपथमा राति साढे ९ बजेसम्म बस चले पनि भित्री सडकमा ८ बजेपछि गाडी पाउन मुस्किल छ।
केही वर्षअघि साझा यातायातसँगै निजी यातायात व्यवसायीले पनि रात्रिकालीन बस सञ्चालन गरेका थिए। तर टिक्न सकेनन्। उनीहरुको गुनासो छ बजार छिट्टै बन्द हुँदा यात्रु पाउन मुस्किल छ।
काठमाडौं महानगरले रात्रिकालीन बस चलाउनेबारे राजपत्रमै सूचना प्रकाशित समेत गरेको थियो। जसमा जाडोको समयमा राति ९ बजेसम्म र गर्मीको समयमा राति १० बजेसम्म चलाउने उल्लेख थियो।
साझाले राति ११ बजेसम्म बस चलाउँदा यात्रु नपाइएको भन्दै आफ्नो सेवा बन्द गरेको छ। यसमा निजी क्षेत्रलाई अनुदान समेत दिएको थियो। महानगरले दिएको अनुदान हिनामिना भएको भन्दै प्रश्न उठ्यो र रात्रिकालीन व्यवसाय पनि बन्द भयो।
त्यस्तै साझा यातायातले २०७४ मा सेमी लो–फ्लोरका बस सञ्चालनमा ल्याउँदा हरेक दिन राति ११ बजेसम्म चलाउने बताएको थियो।
साझाले काठमाडौं महानगरपालिकासँगको साझेदारीमा २०७६ असारदेखि रात्रिकालीन बस सञ्चालनमा ल्याएको थियो।
साझाका बस न्युरोड गेटबाट बानेश्वर, एयरपोर्ट, चाबहिल हुँदै नयाँ बसपार्कसम्म र न्युरोड गेटबाट रत्नपार्क, त्रिपुरेश्वर हुँदै कालीमाटीसम्म सञ्चालनमा आएका थिए।
- ठमेलको रात्रि जीवन (तस्बिरहरु)
- काठमाडौंको रात्रिकालीन व्यवसायमा प्रहरीको नियन्त्रण, व्यवसायी भन्छन्– साँझमा सुत्न पर्यटक आउँदैनन्
- रात्रिकालीन व्यवसाय बन्द गराएको प्रहरीले होइन, निर्णय भए २४ घण्टै सुरक्षा दिन्छौं : प्रहरी प्रवक्ता राई
‘वातावरण भए चलाउन सक्छौँ’
साझा यातायातका व्यवस्थापन प्रमुख महेन्द्रराज पाण्डेले साझाले ५–६ महिना चलाए पनि यात्रु नपाउँदा बन्द भएको बताए।
‘हामी आफ्नै खर्चमा रात्रिकालीन बस सेवा सुचारु गरेका थियौँ। उनले छिट्टै बजार बन्द हुँदा यात्रु पाइएन’, पाण्डेले भने, ‘रात्रिकालीन बस सञ्चालनका लागि व्यवसाय रातिसम्म चल्नुपर्छ। खाली बस कुदाएर त खर्च कसरी धान्ने?’
उनले काठमाडौं महानगरले निजी क्षेत्रका व्यवसायीहरुलाई अनुदान दिएर बस सेवा सञ्चालन गरे पनि टिक्न नसकेको बताए।
‘हामी आफ्नै खर्चमा बस चलाएका थियौँ’, पाण्डेले भने, ‘५–६ महिनापछि यात्रु पनि पाएनौँ। कोभिड पनि आयो बन्द भयो।’
कोभिड महामारीपछि काठमाडौं पुरानै रुपमा चहलपहल सुरु भइसकेको छ। तर राति ८ बजेपछि सार्वजनिक यातायात पाउन मुस्किल छ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव नेपालले सरकारले वातावरण बनाए अहिलेकै अवस्थामा राति साढे १० बजेसम्म सेवा दिन सकिने बताउँछन्।
उनले पहिला काठमाडौं महानगरले रात्रिकालीन बस सेवाको लागि भन्दै बजेट छुट्याए पनि पारदर्शिता नहुँदा सेवा चल्न नसकेको बताए।
‘व्यवसायीहरु राति सेवा दिन तयार छन्’, महासचिव नेपालले भने, ‘९ बजेपछि केही प्रतिशत भाडा बढाउँदा सेवाग्राही र व्यवसायीलाई अप्ठ्यारो नपर्ने गरी चलाउन सक्छौँ।’
उनले राति गाउँ–गाउँसम्म बस सञ्चालन हुन नसके पनि मुख्य सडकमा सार्वजनिक यातायात चलाउन सकिने बताए। त्यसको लागि यातायात व्यवस्था विभाग र काठमाडौं महानगरले वातावरण बनाउनुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया