ad ad

कारोबार


टाटा नेपालको नम्बर १ ब्रान्ड बन्नु गर्वको कुरा हो : इन्टरनेशनल बिजनेस हेड मायांक बाल्दी (अन्तर्वार्ता)

‘नेपालमा गाडी आपूर्ति सहज बनाउन र नयाँ उत्पादन ल्याउन टाटा मोटर्स प्रतिबद्ध छ’
टाटा नेपालको नम्बर १ ब्रान्ड बन्नु गर्वको कुरा हो : इन्टरनेशनल बिजनेस हेड मायांक बाल्दी (अन्तर्वार्ता)

टाटा मोटर्स प्यासेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायांक बाल्दी। तस्बिर : सरोज बैजु


वसन्त अर्याल
असोज ७, २०७९ शुक्रबार २१:६, काठमाडौँ

मायांक बाल्दी टाटा मोटर्स प्यासेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड (अन्तर्राष्ट्रिय व्यवसाय हेर्ने प्रमुख) हुन्। भृकुटीमण्डपमा चलिरहेको नाडा ईभी एक्स्पो २०२२ मा सहभागी हुन उनी दिल्लीबाट काठमाडौं आएका छन्।

बिहीबार सुरु भएको एक्स्पोमा उनले टाटाको नेक्सन ईभी प्राइम सार्वजनिक गरे। शुक्रबार टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले स्थापना गरेको ईभी लर्निङ सेन्टर उद्घाटन गरे। मायांक बाल्दीसँग टाटा मोटर्सको नेपालमा व्यावसायिक अनुभव, विद्युतीय सवारी माग र आपूर्ति, विद्युतीय साधनको पूर्वाधार र आगामी योजना को विषयमा नेपालखबरले काठमाडौंमा गरेको कुराकानी :

नेपालमा टाटाको व्यावसायिक अनुभव कस्तो छ ? 
टाटा मोटर्स नेपालको नम्बर १ ब्रान्ड बनेको छ जुन हाम्रो लागि गर्वको कुरा हो। लामो समयदेखि नेपाली बजारमा टाटा मोटर्सका सवारीसाधन उपलब्ध छन्। नेपालमा हाम्रा साधनको बिक्री पनि बढ्दो छ। नेपालका सडकमा टाटाका गाडी नै धेरै देखिन्छ।

टाटा मोटर्सलाई नेपालमा नम्बर १ बनाउन प्यासेन्जर भेहिकलसँगै ईभी भेहिकलले ठूलो सहयोग गरिरहेको छ। नेक्सन ईभी सार्वजनिक भएपछि नेपाली बजार विद्युतीय गाडीतर्फ अघि बढेको पाएका छौँ। नेपाल सरकारले पनि विद्युतीय गाडीलाई प्रोत्साहन गरेको छ। डिजेल पेट्रोलसँगै विद्युतीय गाडीलाई प्राथमिकता दिएका छौँ। टाटासँग नेपाली ग्राहक पूर्ण सन्तुष्ट रहेको पाएका छौँ।

नेपालमा सबैभन्दा बढी टाटाकै कमर्सियल गाडी बिक्री हुन्छन्। प्यासेन्जर भेहिकलको व्यापारमा तपाईंहरु सन्तुष्ट हुनुहुन्छ?
प्यासेन्जर भेहिकलको व्यापारमा हामी सन्तुष्ट छौँ। टाटाले उपलब्ध गराएको रेञ्जअनुसार गाडी खरिद र बुकिङ हरेक वर्ष बढिरहेको छ। टाटाको बजार हिस्सा निकै राम्रो छ। टाटाका सबै सेगमेन्टका प्रोडक्ट नेपाली बजारमा उपलब्ध छन्। पछिल्लो समय नेपाल सरकारले डिजेल पेट्रोलका गाडी आयात रोकेसँगै हामीलाई अस्थायी दबाब छ। किनभने ग्राहकले डिजेल र पेट्रोल इन्जिनका गाडी खरिद गर्न चासो दिइरहेका छन्। तर गाडी नेपाल पठाउन सकिरहेका छैनौँ।

कमर्सियल र प्यासेन्जरको सफलतापछि १ वर्षअघि ईभी नेपालमा प्रवेश गरेको थियो। टाटा ईभीमा पनि सफल भएको हो?
विद्युतीय गाडीमा हामीले सोचेभन्दा धेरै सफलता नेपाली बजारबाट हासिल गरेका छौँ। नेपाल भित्रिएकै समयदेखि नेक्सन ईभीले नेपाली उपभोक्ताको विद्युतीय गाडीप्रतिको सोचाइमा परिवर्तन ल्याएको छ। नेपाली ग्राहक प्रविधिप्रति बढी नै सचेत छन्। टाटा मोटर्सले आफू पुगेको बजारमा पूर्वाधारमा समेत ध्यान दिएको छ। 

जस्तो कि विद्युतीय गाडीको कुरा गरौँ– यसको चार्जिङ स्टेसन, सर्भिस सेन्टरसँगै यससम्बन्धी ‘ओरिएन्टेसन’ समेत गरिरहेका छौँ। नेक्सन ईभीको माग नेपाली बजारमा हरेक महिना बढ्दो छ। अहिलेकै अवस्थामा नेक्सन ईभीको लागि १ हजार बुकिङ भएको अवस्था छ। १ हजार गाडी बिक्री भइसकेका छन्। यो सुरुवाती अवस्था मात्रै हो। हामी विद्युतीय गाडीमा नम्बर १, नम्बर २ हुने रेसमा छैनौँ। ग्राहकको चाहनाअनुसार अघि बढिरहेका छौँ।

नाडा ईभी एक्स्पोमा ग्राहकसँग पनि अन्तर्क्रिया गर्नुभयो,  नेक्सन र टिगोर ईभी गाडीमा नेपालीको कस्तो प्रतिक्रिया पाउनुभयो?
नाडा ईभी एक्स्पोमा टाटाका ग्राहकसँग अन्तर्क्रिया गर्ने मौका पाएँ। नेक्सन ईभी नेपाल भित्र्याएकोमा उपभोक्ता एकदमै खुसी पाएँ। टाटाका विद्युतीय गाडीप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ। बुकिङ गरेका गाडी छिटो पाए हुन्थ्यो भन्ने प्रतिक्रिया आएका छन्। हाम्रो आपूर्तिमा केही समस्या थियो। अब हामी नयाँ योजनाका साथ अघि बढेका छौँ। अब ग्राहक जहिले आउँछ डेलिभरी गर्न सक्ने गरी तयारी गरिरहेका छौँ। गाडीको पर्फमेन्स र अनुभवमा पहिलोपटक गाडी चढ्नेदेखि ४–५ वटा गाडी चढिसकेका ग्राहक समेत रहेछन्। निकै सकारात्मक पाएँ। 

नेपालमा विद्युतीय गाडीमा टाटा ब्रान्डको उच्च माग छ तर कम्पनीले मागअनुसार गाडी पठाउन किन नसकेको हो? 
हो, नेपालमा विद्युतीय गाडीको माग एकदमै उच्च छ। हरेक महिना मागको ग्राफ बढ्दो छ। भारतमा पनि त्यहीअनुसार टाटा नेक्सनको ‘डिमान्ड’ बढी छ। यसले पछिल्लो ६ महिना हामीलाई एकदमै अप्ठ्यारो भएको थियो। टाटा मोटर्सको लागि नेपाल मुख्य बजार हो। हामी सकेसम्म छिटै नेपालमा गाडी सप्लाई गर्न खोजिरहेका छौँ। अहिले अलि बढी संख्यामा गाडी पठाउन थालेका छौँ। सप्लाईको समस्या समाधान गरी बुकिङ गरेको छोटो समयमै गाडी उपलब्ध गराउने प्रयासमै छौँ। 

नेपाल सरकारले १०० किलोवाटभन्दा माथिका गाडीमा अन्तःशुल्क र भन्सार बढाएको छ। यसले तपाईंहरुलाई कस्तो प्रभाव पार्ला?
हामीले मध्यकालीन र दीर्घकालीन योजना बनाई काम गरिरहेका छौँ। नेपालमा कस्ता ग्राहक छन्, कुन सेगमेन्ट उपयुक्त हुन्छ, त्यसबारे विश्लेषण गरेका छौँ। अहिले नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीलाई सरकारको कर नीतिले असर गरेको छैन। सरकारले केही सेगमेन्टमा कडाइ गर्न सक्छ। त्यसको लागि हामी तयारी अवस्थामा छौँ। सरकारले नीति परिवर्तन गर्नुको कारण पनि छ। हामी त्यहीअनुसार नेपालमा कुन सेगमेन्ट उपयुक्त हुन्छ सम्भाव्यताको आधारमा त्यही प्रोडक्ट ल्याउँछौँ।  

भारतमा टाटाले ईभी नेक्सनको अपग्रेडेड भर्सन नेक्सन म्याक्स सार्वजनिक गरिसकेको छ। उक्त गाडी तत्काल नेपाल आउँछ?
नेक्सन म्याक्स नेपाल भित्र्याउन यसअघि नै तयारी थालेका छौँ। नेपाली उपभोक्ताले कस्तो गाडी खोजिरहेका छन् टाटा जानकार छ। नेपाली औसतमा दैनिक ५० किलोमिटर कुद्ने गरेका छन्। बढीमा १०० किलोमिटर कुद्छन्। नेपाली ग्राहक म्याक्स गाडीको पर्खाइमा पनि छन्। म्याक्स नेपाल भित्र्याउन हामी सही समयको पर्खाइमा छौँ। छोटो समयमै हामी यसको जानकारी गराउँछौँ। 

विद्युतीय सवारीसँगै पूर्वाधार पनि आवश्यक हुन्छ। नेपालमा विद्युतीय सवारीसाधनको लागि आवश्यक पूर्वाधारमा टाटाले कसरी सहयोग गरिरहेको छ?
अघिल्लो जुलाईमा नेक्सन ईभी सार्वजनिक गर्नुअघि नै नेपालमा हामीले चार्जिङ पूर्वाधार बनाइसकेका थियौँ। पूर्वाधार तयार भएपछि मात्रै विद्युतीय गाडी ल्याएका हौँ। चार्जिङ पूर्वाधार विद्युतीय सवारीसाधनको लागि बच्चाजस्तै हो। त्यसैले गाडी भित्र्याउनुअघि नै पूर्वाधार बनाएका थियौँ। फास्ट डीसी चार्जर नेटवर्क, एसी चार्जर नेटवर्कसँगै सर्भिस सेन्टर समेत स्थापना भएका छन्। १९ वटा फास्ट चार्जिङ स्टेसन छन् भने १०० बढी एसी चार्जर उपलब्ध छन्। टाटाका सबै सर्भिस सेन्टरलाई विद्युतीय सवारीका समस्या समाधान गर्नसक्ने क्षमतायुक्त बनाएका छौँ। हामीले नयाँ प्रोडक्ट पनि नेपालमा छिटै सार्वजनिक गर्दै छौँ। त्यसको पूर्वाधारको तयारी गरिसकेका छौँ। विद्युतीय पूर्वाधारको लागि कहाँ कस्तो आवश्यक छ त्यसैअनुसार काम गरिरहेका छौँ। चार्जिङ स्टेसन र सर्भिस सेन्टरलाई ग्राहकको आवश्यकताअनुसार थप गर्दै जाने योजनामा छौँ।  

शुक्रबार तपाईंले काठमाडौंमा ईभी ट्रेनिङ सेन्टरको उद्घाटन गर्नुभएको छ। यसबाट कसलाई के सहयोग हुन्छ?
विद्युतीय सवारी नयाँ प्रविधि हो। विद्युतीय गाडीमा चासो हुने जोसुकैले पनि ईभी ट्रेनिङ सेन्टरबाट सहयोग लिन सक्छ। यो सेन्टर विद्युतीय साधनको लर्निङ ग्राउन्ड अथवा स्कुलको रुपमा हुन्छ। ग्राहकले ईभी लर्निङ सेन्टरबाट ‘ओरिएन्टेसन’ कक्षा समेत लिन सक्छन्। विद्युतीय सवारीको इको सिस्टममा जोडिएका सबैलाई यो उपयोगी हुन्छ। हाम्रा सर्भिस सेन्टर कर्मचारीलाई मात्र होइन सबैको साझा लर्निङ सेन्टर हो।

अन्त्यमा, नेपालमा टाटाका भावी योजना के छन्?
टाटाको लागि नेपाल रणनीतिक बजार हो। हरेक ३ देखि ६ महिनामा नयाँ प्रोडक्ट उपलब्ध गराइरहेको पनि छ। सरकारले डिजेल र पेट्रोलका गाडीमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीमा बढी ध्यान दिइरहेका छौँ। म सबै ग्राहकलाई आएर एक पटक टाटाको गाडी चढेर अनुभव लिन आग्रह गर्छु। एकपटक टेष्ट ड्राइभ गर्दा कुनै पनि ग्राहक दुःखित हुनुपर्दैन।

अरु कुनै ब्रान्डले नदिने अनुभव टाटाको गाडी चढ्दा हुन्छ। टाटाको विद्युतीय गाडी १ हजार बिक्री र १ हजार बुकिङ भइसकेका छन्। नेपालमा टाटाका विद्युतीय गाडीले २२ लाख किलोमिटर गुडिसकेका छन्। यी प्रमाणबाटै टाटाका विद्युतीय गाडी राम्रा छन् भन्ने देखिन्छ। सप्लाई सहज बनाउने र नयाँ प्रोडक्ट ल्याउन हामी प्रतिबद्ध छौँ। 

भिडिओ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .