ad ad

कारोबार


एक हप्तामा २६ बैंकमा आयो २६ अर्ब

एक हप्तामा २६ बैंकमा आयो २६ अर्ब

नेपालखबर
असोज ११, २०७९ मंगलबार १४:११, काठमाडौँ

अहिले वाणिज्य बैंकहरु २६ वटा रहेका छन्। यी २६ वटा वाणिज्य बैंकले एक सातामै २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप थपेका हुन्।

नेपाल बैंकर्स संघले जारी गरेको विवरणअनुसार असोज पहिलो साता अर्थात् ७ गतेसम्म २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन थप गरेका हुन्। 

गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा ७ गतेसम्म ४५ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन्।

असोज पहिलो हप्तामा कर्जा प्रवाह भने ४ अर्ब रुपैयाँ थप गरेका संघको तथ्याङ्कले देखाएको छ। सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत कायम छ ।

भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा असोज ७ गते आइपुग्दा ४१ खर्ब ९४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार भने साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो।

२०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो।

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ। २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो।

त्यस्तै साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थाको प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो। साउन मसान्तसम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.०१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.७ प्रतिशतले घटेको छ । 

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः २.१ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ। 

साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.८ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३ प्रतिशतले र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .