कारोबार


हेल्थ असिस्टेन्ट संघ नेपालले दियो स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र

हेल्थ असिस्टेन्ट संघ नेपालले दियो स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र

नेपालखबर
असोज ११, २०७९ मंगलबार १६:०, काठमाडौँ

हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो। 

२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाइ छ। लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ। 

मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए। उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए। 

उनले सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षिय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे। 

ज्ञापनपत्र बुझाउँदै उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९/०६/०४ गतेको माननीय मन्त्रीस्तरीय निर्णय अनुसार स्थानीय तहमा रहने आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन मात्र नभई योग्यताकै धज्जी उडाउँदै संवैधानिक निकाय लोकसेवा आयोगको प्रक्रियालाई समेत चुनौती हुनेगरी एकेडेमिक कोर्ष अध्ययन गरी माथिल्लो तहमा लोकसेवा आयोग मार्फत् सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुको मानमर्दन हुने केहि निहित स्वार्थ बोकेका व्यक्तिहरुको खल्तीबाट आएको भन्नेमा कुनै शंका छैन। यसले योग्यता र लोकसेवा प्रक्रियाबाट सेवा प्रवेश गर्ने लगायत उपर अत्याचार हुने हाम्रो ठहर छ र उक्त निर्णयप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले यस विषयमा छलफल गर्ने र त्रुटि भएको ठाउँमा सच्याउने आश्वासन पनि दिए। 

उनले भने, ‘यहाँहरुले भने अनुसारको के रहेछ, हामी गम्भिर ढंगले बसेर छलफल गर्नेछौँ । त्यसलाई केलाउने छौँ । त्रुटि भएको रहेछ भने सच्याइनेछ । बुझाइमा तलमाथि भएको रहेछ भने बुझाबुझ गरौँला । ध्यानाकर्षण गराउनुभयो हामी छलफल गर्छौं ।’

हेल्थ असिस्टेन्ट संघ नेपालले आफूहरुको माग सम्बोधन नभएमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .